Tuesday, October 21, 2008

परदेश गएर हामीलाई नर्विसनु है

अमरसिंह मगरले सँगैका आफ्ना छिमेकी रुद्र ढकाल अमेरिका बसाँइ जाँदा हँसिलो मुहारमा अंगालो मारेर विदा गरे । त्यस दिन नजिकका अन्य छिमेकी पनि शुभकामना दिन उनको छाप्रोमा भेला भएका थिए । परिवार सदस्य सहित अमेरिका जान लागेको हेर्न र विदा गर्न आउनेको संख्या पनि बाक्लै थियो । अलि मलिन स्वरमा मगरले भने-परदेश गएर हामीलाई नर्विसनु है पत्र चाहिं लेख्दै गर्नु ।
केहि दिन अघि मात्र झापाको दमक स्थित बेलडाँगी २ भुटानी शरणार्थी शिविरबाट रुद्र ढकाल परिवार लिएर अमेरिका उडेका हुन् । त्यही शिविरका एमबी राईलाई विदा गर्न र शुभकामना दिन खडानन्द तिम्सीनाका परिवार नै फूलको गुच्छा लिएर छिमेकीको छाप्रासम्म पुगे । तिम्सीनाले भने-त्यहाँ पुगेर तिम्रो परिवारले यहाँको जस्तो दुःख झेल्न नपरोस । मगरको जवाफ थियो-अब दुखका दिन आउँदैनन् होला भन्ने आशा छ ।केही समय अघिसम्म यी दुवै परिवारबीच बोलचाल मात्र बन्द थिएन् पानी बारावारको अवस्था थियो । भुटान फर्कन चाहने र तेस्रो मुलुक पुनर्वासमा जाने उनीहरुले एक अर्कालाई देखि सहँदैन थिए । कयौ महिनासम्म बन्द भएको बोलचाल आखिर छाप्रो रित्याएर छिमेकी हिड्न लागेपछि त खोल्नै पर्यो नी, मनमा तुष राखेर कस्लाई पो के फाईदा - तिम्सीनाले भने ।दमकको बेलडाँगीमा मात्र नभएर झापा र मोरङका सातै शिविरमा स्वदेश फर्कन चाहने र तेस्रो मुलुक पुनर्वासमा जाने शरणर्थी परिवारबीच चिसिएको सम्बन्ध अहिले आएर सुध्रिएको छ । बेलडाँगी २ का शिविर सचिव गणपती अधिकारी भन्छन्- भुटान वा अमेरिका जाने जो कोहीको विषयमा कसैले केही पनि टिका टिप्पणी गर्न छाडेपछि शिविरका दुई पक्षीय शरणार्थी परिवारबीच चिसिएको सम्बन्धमा सुधार आएको हो । जानेलाई बाटो छ बस्नेलाई माटो छ भन्ने बुझेरै आपसी बैमनस्यतामा कमी आएको हो भन्ने हाम्रो बुझाई छ-उनले भने । तेस्रो मुलुक जाने शरणार्थीलाई धम्की आउने क्रम पनि रोकिएपछि सम्बन्धमा सुधार भएको उनको दाबी छ । यस अघि विभिन्न भूमिगत दलको नाममा तेस्रो मुलुक नजान दबाव दिदैं शरणार्थीलाई धम्की आउने गरेको थियो ।प्रारम्भीक दिनहरुमा पर्ुनवासमा जान इच्छुकहरु अल्पमतमा भएको फाईदा उठाउँदै स्वदेश फिर्ती पक्षधरले हेयको दृष्टिले हेर्ने र तेस्रो मुलुक पुनर्वास पक्षरले पनि स्वदेश फिर्ती पक्षधरसँग सम्बन्ध सुधार नगरेको कारण विवाद भएको अधिकारीले बताए । तर अहिले दुबै पक्षको संख्या बरावर भएकोले कसैबीच विवाद छैन् ।शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोगको पछिल्लो तथ्याँक अनुसार तेस्रो मुलुक पुरनर्वासमा जान ५६ हजार शरणार्थीले आवेदन दिएका छन् । ती मध्ये ५ हजार तेस्रो मुलुक गईसकेका छन् । झापा र मोरङका सातवटै शिविरमा एक लाख ७ हजार भुटानी शरणार्थी बस्दै आएका छन् ।