Thursday, January 1, 2009

मौरीले ल्यायो पैसैपैसा

झापा सतासीधामकी धनमाया थापा अन्य गृहिणी जस्तै बाल वच्चालाई खाना बनाउने, खुवाउने र विद्यालय पठाउने काम गर्छिन् । वस्तु भाउको ख्याल गर्नु र घर गृहस्थी चलाउनु पनि दैनिकी भित्रै पर्छ । गाउँको बसाइँ छ मेलापात पनि नगरी धरै छैन् । बचेको समय छरछिमेक र आफन्तलाई पनि दिनै पर्यो ।
यी र यस्तै घरका खुद्रे काममा दिन बिताउने उनी आयआर्जनको काममा नलाग्दा समय बर्वाद भएर बित्दै थियो । काम गरेपनि त्यो कामको दाम भने मिल्दैन थियो । लर्याङ लुरुङ गर्यो दिन काट्यो यस्तै थियो दिनचर्या । तर यस्तो अवस्था धेरै समय रहेन । हिजो आजको उनको व्यस्तता बुझ्ने जो कोही इर्ष्याले जिव्रो टोक्छन् । उनले भनिन-चुलोको मात्र काम गर्नु पर्ने, निस्सासिए जस्तै भएको थियो । तर अहिले सबै काम गर्न भ्याइ नभ्याई हुन्छ ।
घरधन्दामा मात्रै सिमित उनी आफैं आय आर्जन गरि धेरथोर कमाउन सक्ने भएकी छन् । भन्नेले उनलाई राम्रो मात्र भन्न थालेका छन् । धनमया भन्छिन्- मेरो अहिलेको दैनिकी फेरिएको छ । चुल्हो चौकोसँगै पैसा कमाई हुने काम पनि गर्न सक्ने भएँ ।
सतासीधाम ७ दुधे की देवी दहाल पनि हिजो आज सरसापटमा भर पर्दिनन् । जे चाहिए पनि आफ्नै कमाईबाट पुगेकै छ । उनले भनिन-समूह मिलेर ५८ घर परिवारका महिलाले मौरी पालन व्यवसाय थालेका थियौं । राम्रै पो हुदैं छ ।
उनको समूहले पालेको २२ घार मौरीले यस वर्ष १ हजार ८ सय ५० केजी मह उत्पादन गरेको छ । जसमध्ये प्रति केजी ४ सयका दरले १ हजार ३ सय ५० केजी बिक्री भइसकेको छ । उत्पादन भएको महको परिमाण लागत र मेहनतका आधारमा नाफा बाँडफाँड गर्न पनि पुगेको उनीहरु बताउँछन् ।
गाउँका दश वटा समूहले १ सय २० घार मौरी पालेका र आफ्नो खर्च कटाएर मासिक १० हजार सम्म कमाई हुने गरेको देवी बताउँछिन् ।
स्थानिय सतासी महिला कृषि सहकारी संस्थाले व्यवसाय संचालनका लागि सहयोग गरेपछि नै महिलाले यस्तो उपलब्धि पाएका हुन् । संस्थाको पहलमा उनीहरुले मौरी पालनलाई व्यवस्थित र व्यवसायिक बनाउन सतासी मौरी पालन महिला समुह गठन गरेको संस्थाले जनाएको छ ।
एक्लैले भन्दा समूहले व्यवसाय गर्दा सफलता मिल्ने गरेको ती महिलाको अनुभव छ । सतासीधाममा मौरी पालन र मैनबती उत्पादनमा महिला सकृयता बढाउन नेपाल ग्रामीण पूनर्निर्माण संस्था (आरआरएन) ले पटक पटक गरी ३ लाख २० हजार आर्थिक सहयोग सहयोग गरेको संस्थाका झापा संयोजक बसन्तलक्ष्मी उदास बताउछिन् । उनले भनिन- महिलाहरु आत्मनिर्भर बनाउन सक्षम भएका छौं ।