Monday, June 23, 2014

श्रमिक चोक, जहाँ काम र दामको मात्र कुरा हुन्छ







कुमार  लुइँटेल  

विराटनगर : विराटनगरका विनोद राय बिहान ६ बजे उठ्छन्, चियाखाजा खान्छन् अनि लाग्छन् श्रमिक चोकतर्फ। काम पाइए दिउँसोको छुट्टीमा खाना खान घर आइपुग्छन्, काम नपाइए घर फर्कन्छन्। साथीभाइसँग चेसलुँडो खेल्छन्। विराटनगर सिमानामा पर्ने बुधनगर गाविसका रूपेशकुमार साहको दिनचर्या पनि रायकै जस्तो छ। बिहान उठ्यो। खाजा खायो। साइकल टिप्यो अनि लाग्यो श्रमिक चोकतर्फ। साह भन्छन्, 'न्याय नपाए गोर्खा जानु काम नपाए श्रमिक चोक। यस्तै छ यहाँको चलन' साहसँगै उनको गाउँका दर्जनौ युवा ताँत लागेर साइकल गुडाउँदै हरेक बिहान ७ बजेभित्र विराटनगरस्थित श्रमिक चोकमा भेला भइसकेका हुन्छन्।
यो चोकलाई केही अघिसम्म भूमिप्रशासन चोक भनिन्थ्यो। तर, विराटनगर र छिमेकी गाउँका श्रमिकसमेत भेला हुन थालेपछि नाउँ फेरिएर श्रमिक चोक भयो। यहाँ पहिलोपटक पुग्नेहरूलाई जुलुस नै निकाल्ने तयारी गरिएको हो अथवा केही घटना भएको भन्ने भान हुन्छ। तर, यहाँ निकै सौहार्द्रपूर्ण रूपमा भलाकुसारी भइरहेको हुन्छ। श्रमिक आआफ्नै तालमा कुराकानी र छलफल गरिरहेका हुन्छन्।
काम खोज्ने मात्र हैन लगाउनेहरू पनि हरेक बिहान श्रमिक चोकमा आउँछन। घर निर्माणमा खटिने मजदुर, मिस्त्री, राजमिस्त्री, रङरोगन गर्ने पेन्टर, खेत जोत्ने हली, आली बाँध्ने कामदार, गिटी बालुवा बोक्ने सहयोगी सबै बिहान ९ बजेसम्म यही चोकमा भेटिन्छन्।

Thursday, June 19, 2014

ब्लफ कलको पछि लाग्दा कोठीमा बेचिनुपर्‍यो

कुमार लुइँटेल
विराटनगर : अहिलेको हाइटेक दुँनियामा युवापुस्ता जतिबेला पनि मोबाइलमा झुम्छिन्। मोबाइलले सम्बन्ध र नाता जोडिदिने र टुटाइदिने मात्र होइन, कहिलेकाँही यही मोबाइलले कल्पनै नगरेको जोखिममा जीवनलाई धकेलिदिन्छ।
विराटनगरकी एक युवतीको जीवनमा मोबाइल अभिशाप सावित भएको छ। मोबाइलबाटै संवाद र सम्बन्ध बढाउँदा उनी भारतको वेश्यालयमा बेचिन् पुगिन्। मोबाइलमा आएको ब्लफ कल उठाउँदा उनले सोच्दै नसोचेको दुर्घटनामा जीवनमा बेहोर्नुपरेको छ। भारत नयाँ दिल्लीको चाँदनी चौकस्थित वेश्यालयमा बेचिएकी उनी दिल्लीमै काम गर्ने एकजना नेपाली युवकले उद्धार गरिदिएपछि विक्षिप्त अवस्थामा असार १ गते घर फिरेकी छिन्।
मोबाइलमा आएको 'ब्लफ कल' रिसिभ गरेर सम्बन्ध बढाउँदा ती युवती वेश्यालयमा बेचिन पुगिन्। संखुवासभा स्थायी घरभई विराटनगर १६ बस्ने २१ वर्षीया सविना भण्डारी (नाम परिवर्तित) वेश्यालयमा बेचिएपछि पाँच महिनासम्म 'यौनकर्मी' बन्नु पर्यो। नेपाल प्रहरीले सीमासम्म पुगेर ती युवतीलाई उद्धार गरी विराटनगर ल्याएको हो।

असारे जोताइमा महिलामात्र




बेलबारी (मोरङ) : बिहानै उठ्यो। काँधमा हलोजुवा भि:यो, लाग्यो खेततिर। पहिलो प्रहर खेत जोत्यो। मध्याह्न १ बजे घर फि:यो। ३ नबज्दै फेरि लाग्यो आली लगाउन। साँझ ५ बजे घर आयो। खाना बनायो। छोरी र सासूलाई खानपिन गरायो। पल्टियो ओछ्यानमा।

असार लागेसँगै मोरङ बेलबारी ३ खोरियाबस्तीकी टंकमाया मगरको दिनचर्या यस्तै छ। गाउँभरिको खेत जोताइको चटारो छ उनलाई। धान रोप्ने खेत हिल्याउन किसान तँछाडमँछाड गरिरहेका छन्। टंकमायाले भनिन्, 'अन्यत्र पुरुष खटिए पनि यहाँ भने महिलाले जोत्छन्। गाउँमा हलो जोत्ने पुरुष नै छैनन्।'

पुरुष रोजगारीका लागि विदेश गएपछि खोरियाबस्तीमा हलो जोत्ने काम महिलाले गरेका हुन्। टंकमायाका पति पनि विदेशमै छन्। 'एक दिन जोतेको ६ सय रुपैयाँ लिन्छु', टंकमायाले भनिन्, 'मलाई पतिले नै हलो जोत्न सिकाउनुभएको हो। जोतेर आएको आम्दानीबाट तीन छोरीको पढाइ र घरखर्च जुटेको छ।'

महिलाले हलो जोत्दा अनिकाल र अनिष्ट हुन्छ भन्नेहरू अचेल टंकमायालाई नै बोलाउँछन्। गाउँमा आपत् नै परेकाले जोत्न थालेको बताउँदै उनले भनिन्, 'अरू दुई महिलालाई पनि जोत्न सिकाइदिएकी छु। उनीहरू प्नि असारमा खटिएका छन्।' टंकमायाको समेत गरेर खोरियाबस्तीमा जम्मा तीन हल गोरु मात्र छन्। ती सबै महिलाले जोत्छन्।