Monday, March 31, 2014

कर्सर उद्योग अटेरी, सरकारी नियमको धज्जी उडाउँदै उद्योगी

विराटनगर : मोरङमा सञ्चालित क्रसर उद्योगले स्काभेटर प्रयोग गरी खोलाबाट ढुंगाबालुवा उत्खनन गर्ने क्रम बढेको छ। मेसिन प्रयोग गरी ढुंगाबालुवा उत्खनन गर्न पाइँदैन। तर, सरकारी नियमको धज्जी उडाउँदै क्रसर उद्योगीले स्काभेटर चलाउँदै आएका छन्। नियमअनुसार जनश्रम प्रयोग गरेर मात्र ढुंगाबालुवा निकाल्नु पर्छ।

जिल्ला विकास समिति मोरङका स्थानीय विकास अधिकारी शिवराम पोखरेलले ढुंगाबालुवा उत्खनन गर्न मेसिन प्रयोग गर्नु गैर कानुनी कार्य भएको बताए। क्रसर उद्योग बस्ती, खोला र जंगलभन्दा एक किलोमिटर टाढा रहनुपर्ने नियम छ। तर, मोरङका अधिकांश क्रसर उद्योग बस्ती, खोला र जंगलनजिकै सञ्चालित छन्। तिनले वातावरण विनाशमात्र होइन, ध्वनि र वायु प्रदूषण पनि गरिरहेका छन्। लेटाङका यामकुमार कार्कीले भने, 'उद्योगबाट निस्कने धुलो र आवाजले बस्तीमा बस्नै कठिनाइ भएको छ।'
लेटाङको चिसाङ खोलामा सञ्चालित क्रसर उद्योगले निर्बाध रूपमा स्काभेटर प्रयोग गरी डुंगा र बालुवा निकाल्दै आएको छ। खोलाबाट सोझै ट्रकमा लोड गरेर त्यसलाई प्रशोधन स्थलसम्म लगिन्छ। क्रसर उद्योगले बदमासी गरेको जानकारी भएपनि कारबाही गर्न कठिनाइ भएको स्थानीय विकास अधिकारी पोखरेलले बताए।

Sunday, March 30, 2014

प्रहरीमा ‘पुलिस अफ द मन्थ’ को उपाधि



उपाधि पाएपछि पूर्वक्षेत्रीय प्रहरी कार्यालयपरिसरमा रहेको आवरण स्तम्भमा आफ्नै फोटोसहितको फ्लेक्सअगाडि उभिएका प्रनानि उत्तम कार्की।  (तस्बीर: अन्नपूर्ण)



विराटनगर : प्रहरी प्रोत्साहनका लागि ‘पुलिस अफ दि मन्थ’ को उपाधि दिन सुरु गरिएको छ।
पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले सुरु गरेको यो अभियानबाट फागुन महिनाका लागि दंगा नियन्त्रण गण दुहबी सुनसरीमा कार्यरत प्रहरी नायब निरीक्षक उत्तम कार्की ‘पुलिस अफ दि मन्थ’ घोषित भएका छन्।
कार्की पूर्वमा कार्यरत १२ हजार एक सय ४० जना प्रहरीमध्येबाट उत्कृष्ट छनोट भएका हुन्।
प्रहरीले महिनाभरि गर्ने कार्यसम्पादनको मूल्यांकन गर्दै उनीहरूलाई पूर्वक्षेत्रका प्रहरी जवानदेखि अधिकृतमध्येबाट एकजनालाई यही महिनाबाट उपाधि दिन सुरु गरेको हो।
समूह बनाएर व्यावसायिक रूपमा अपराधमा संलग्न मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरका राम राईलाई प्रनानि कार्कीले गोली प्रहार गरी घाइते बनाएर झापा दमकबाट पक्राउ गर्न साहसिक भूमिका निर्वाह गरेकोले उत्कृष्ट प्रहरीको उपाधि दिइएको हो।

Monday, March 24, 2014

प्रदूषण धेरै, वास्ता कम


विराटनगर : मोरङ बाँसबारीको हुलास वायर कम्पनीबाट निस्कने कर्कस आवाजले दिनरात ध्वनि प्रदूषण बढाएको र सुत्नबस्नै कठिन भएको भन्दै स्थानीयवासीले उद्योगको विरोधमा आन्दोलन गरे। उद्योगबाट पुगेको असर न्यूनीकरणमा ध्यान नदिए उद्योग सञ्चालन गर्न नदिने अडान उनीहरूले कसे।
जिल्ला विकास समिति मोरङको वातावरण उपसमितिमा उजुरी परेपछि सरकारी कार्यालयको मध्यस्थतामा धेरैपटक छलफल भए। उद्योगले आवाज निकाल्ने उपकरण आवाजरहित बनाएको दाबी ग:यो। जिविसलाई लिखित स्पष्टीकरण पनि दियो। तैपनि स्थानीयवासीहरू अझै सन्तुष्ट बन्न सकेका छैनन्। उद्योग र स्थानीयबीचको मनमुटाउ कायमै छ।
विराटनगर ११ को मधुवन टोलका बासिन्दाले स्थानीय दुर्गाभवानी जैविक मल उद्योगबाट निस्किएको गन्धबाट दैनिक जीवनयापनमा असर परेको भन्दै जिल्ला प्रशान कार्यालय मोरङमा उजुरी दर्ता गराए।
प्रशासनले उक्त घटना मिलाउन आग्रह गर्दै विराटनगर उपमहानगरपालिकाको वातावरण महाशाखालाई पत्र पठायो। विवाद मिलाउन महाशाखाले दुवै पक्षसँग पटकपटक छलफल गरायो। उद्योगसँग स्पष्टीकरण लिनेदेखि वातावरणमा पारेको असरबारे अध्ययन गरियो। उद्योगलाई वातावरणमा असर नपर्ने गरी उत्पादन गर्न सचेत गराइयो।
मोरङ टंकीसिनवारी गाविसस्थित हिमगिरी सोप एन्ड केमिकल्सबाट निस्किएको फोहोर पानीले असर गरेको भन्दै त्यहाँका बासिन्दाले विरोध जनाए।
उद्योगबाट निस्कने फोहोर पानी सोझै नालाबाट खेतबारीसम्म पुगेको, दुर्गन्ध फैलिएको र पानीको स्रोतलाई समेत प्रदूषित बनाएको भन्दै स्थानीयले जिविस मोरङको वातावरण उपशाखालाई गुहारे। उजुरीपछि स्थलगत अध्ययन भयो। विवाद न्यूनीकरण गर्न जिविसले पहल लियो। अहिले पनि उद्योगबाट निस्कने फोहोर पानीले असर पु:याइरहेको स्थानीयवासी गुनासो गर्न छाडेका छैनन्।
एक वर्षयता उद्योगबाट ध्वनि, वायु र जल प्रदूषण भएको र यसबाट स्थानीयमा परेको असरका यी प्रतिनिधि घटनामात्रै हुन्। सुनसरी मोरङ औद्योगिक करिडोर र विराटनगर उपमहानगर क्षेत्रभित्रका उद्योगबाट निस्कने औद्योगिक फोहोरले वातावरणमा ठूलै असर परिरहेको छ।

Sunday, March 16, 2014

तिघ्रामा सुई घोच्छन् लागूऔषध प्रयोगकर्ता


कुमार लुइँटेल  
विराटनगर : हातको सट्टा तिघ्राको कापको नसाबाट लागूऔषध लिने क्रम दुर्व्यसनीमा बढेको छ। पछिल्लो अध्ययनबाट सुईको माध्यमबाट नशा लिनेमा यस्तो प्रवृत्ति अधिक बढेको पाइएको सरोकारवालाले बताएका छन्।
खाएर प्रयोग गरिने भन्दा नशामा सुईले घोचेर लिनेमध्ये ९० प्रतिशतभन्दा बढी लागूऔषधका प्रयोगकर्ताले तिघ्रा घोच्ने गरेको पाइएको छ।
पूर्वाञ्चलका सरोकारवालाहरूका अनुसार यहाँ युवाहरूमा कुलत बढेको छ, समयक्रमसँगै लागूऔषध प्रयोग गर्ने विधिमा र लतमा समेत अनौठोपन आएको सरोकारवाला बताउँछन्।
किरात याक्थुङ चुम्लुङद्वारा सञ्चालित पुनर्जीवन केन्द्रका कार्यक्रम अधिकृत विजय लिम्बू भन्छन्, ‘पाखुराको नसामा सुई घोपेर नशा लिनेहरू अहिले तिघ्राको कापमा सुई घोपेर नशा लिन थालेका छन्।
कतिपयले नसा सुक्न थालेपछि लिंग र अण्डकोषका नसामा समेत सुई रोप्ने गरेको उनले जानकारी दिए।

Monday, March 10, 2014

विराट गोल्डकपमा भ्रष्टाचार

विराटनगर : २०६९ सालमा सम्पन्न विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले भ्रष्टाचार गरेको प्रारम्भिक तथ्य सार्वजनिक भएको छ।
समितिका पदाधिकारीलाई भ्रष्टाचारको आरोप लागेपछि उनीहरूले सामूहिक राजीनामा दिएका छन्। विराट गोल्डकप फुटबल ट्रस्ट तथा गोल्डकप आयोजक समितिका अध्यक्ष भीम कुँवर, उपाध्याक्ष सन्तोष बानियाँ, सचिव श्याम पौडेल र कोषाध्यक्ष वसन्त अर्यालसहितका पदाधिकारीले सामूहिक राजीनामा दिएका हुन्।
उनीहरूको राजीनामापछि सोमबार हुने विशेष साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै छ। नयाँ समितिले भ्रष्टाचारको विषयमा थप छानबिन गर्ने बताइएको छ।
विराट गोल्डकप फुटबल ट्रस्टका अनुसार प्रतियोगिताको खर्च बिलमा अध्यक्ष कुवँर तथा कोषाध्यक्ष अर्यालले हस्ताक्षर गरेका छन्। ती बिल सादा कागजको बनाएर हस्ताक्षर गरिएको छ।
प्रतियोगितामा ३१ लाख ४६ हजार १ सय ७० रुपैयाँ आम्दानी भएको र ३७ लाख २७ हजार ८ सय ७० रुपैयाँ खर्च गरेको देखाइएको अनुसन्धानबाट खुलेको छ। यसैगरी अन्य पदाधिकारीले पनि लाखौं रकम खर्चको बिल फस्र्योट गरेका छैनन्। टिकट बिक्री गरेको अर्धकट्टी समेत पेस गरिएको छैन।

Saturday, March 8, 2014

कमिलाले तान्यो पर्यटक


बेलबारीस्थित बेतौना सिमसारमा कमिलोको तस्विर खिच्दै गरेका आन्तरिक पर्यटक।


कुमार लुइँटेल
बेलबारी(मोरङ) : कमिलोलाई वुद्धि, श्रम र सामाजिक एकताको प्रतिक मानिन्छ। बलका दृष्टिले यसलाई कमजोर मानिन्छ। तर, यो प्राणी मिलेर बस्ने र मेहेनती भएकै कारण प्रशंसाको पात्र बन्ने गर्छ। ठाउँ नै पिच्छे फरक फरक प्रजातिका कमिला पाइन्छन्। तिनै मध्ये अति नै आक्रामक मानिने ब्यागें कमिलो मोरङमा भने पर्यटक तान्ने माध्यम बनेको छ। सिमसारमा सुनकछुवा, ढकनी कछुवा, मयुरपंखी कछुवा र अरु जीवको पनि आश्रय छ।

मोरङको पर्यटकीय क्षेत्र बेतौना सिमसार यतिबेला कमिलोका कारण चर्चामा छ। चरा हेर्ने जानेको लागि पनि यो ठाउँ आकर्षक गन्तव्य हो। अहिले भने कमिलोका कारण यो ठाउँमा पर्यटकको चहल पहल बढेको सिमसार संरक्षण समितिले जनाएको छ।
कमिलाको विषयमा जानकारी दिन व्यागें कमिलोको प्रतिमूर्ति राखेपछि हिजोआज सिमसार घुम्न जाने पर्यटकहरूबढेको समितिका अध्यक्ष इरान राईले बताए। 'बेतौना चरा र प्रकृतिक मनरोम दृश्यका लागि चर्चित छ,' राईले भने, 'अहिले भने कमिलो हेर्न आउने पर्यटक बढेका छन्।'
बेतौनमा १२ लम्बाई र ७ फिट अग्लो ब्यांगे कमिलोको प्रतिमूर्ति स्थापित गरिएको छ। यो मूर्ति सुनसरी इटहरीका कलाकार बिक्रम श्रीले निर्माण गरेका हुन्। फाइबर जेल र आइरन रडले निर्माण गरिएको कमिलो सिमसारको मध्य भागमा राखिएको छ।
सिमसारमा भेटिएकी मोरङ हरैंचाका दिनेश चौधरीले भने,'कमिलोको बारेमा सुनेकोले छोराछोरीलाई पनि देखाउन ल्याएँ।' खासगरी अहिले सिमसार क्षेत्रमा विद्यार्थीहरूघुम्न जाने क्रम बढेपछि कमिलोको बारेमा जानकारी दिने बोर्ड समेत राखिएको समितिले जनाएको छ।

वीरेन्द्र सभागृहको बिजोग



वीरेन्द्र सभागृहभित्र भाँचिएका कुर्सी। (तस्बीर: कुमार लुइँटेल)
वीरेन्द्र सभागृहभित्र भाँचिएका कुर्सी


                                  

 कुमार लुइँटेल |
विराटनगर : छानोमा स्थापित सरस्वतीको मूर्ति खुइलिएको छ। त्यसनजिकैको फलामे डन्डामा राष्ट्रिय झन्डा नफहराएको धेरै भइसक्यो। गेटको फलाममा खिया लागेको छ। सिँढी धुलाम्मे छ। झ्यालका सिसा फुटेका छन्। पल्ला च्यातिएको छ। बगैंचाका धेरै गमला ढलेका छन्। फूल ओइलाएका छन्। धेरै बोट त मरिसकेका छन्। ठूला रूखका सुकेका हाँगा लत्रिए पनि काँटछाँट गरिएको छैन।
भित्र छिर्नासाथ हलबाट दुर्गन्ध आउँछ। पर्दा च्यातिएका छन्। कुर्सी भाँचिएका छन्। जताततै माकुराको जालो झुन्डिएको छ। फर्निचरका रङ उडेर फुंग देखिन्छन्। मञ्चभरि कागज र प्लास्टिकका टुक्रा छरपस्ट छन्। खिया लागेका पुराना पंखा घुम्दैनन्। रंगीबिरंगी बत्ती देखिन्छन् तर बल्दैनन्। माथिल्लो तलामा दर्शक बस्ने ठाउँको अवस्था पनि उस्तै छ।
विराटनगरको मुटुमा अवस्थित सहिद रंगशालानजिकैको वीरेन्द्र सभागृहको बाहिरी र भित्री दृश्य यस्तै देखिन्छ। हिजोआज त्यहाँ पुग्नेलाई 'सिटीहल' होइन, कुनै भूतबंगलामा छिरेझैं अनुभव हुन्छ। ३७ वर्षअघि २०३३ साल फागुन ६ गते तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेको उनकै नाममा निर्मित सभागृह अहिले 'भगवान् भरोसा' मा सञ्चालन भइरहेको छ।

Sunday, March 2, 2014

चपमा हाल्न अफिम खेती

कुमार लुइँटेल
महादेवा (मोरङ) : अफिम खेतीलाई कानुनले वर्जित गरेको छ। तर, मोरङका ग्रामीण भेगमा स्थानीयले आफ्नो बारी र खेतमा व्यावसायिक रूपमै अफिम खेती गरिरहेका छन्। अफिमको बोट र काँचो दानाबाट निस्कने चोप नसालु पदार्थका रूपमा प्रयोग हुन्छ।
जिल्लाको दक्षिणपूर्वी गाविस महादेवाका बासिन्दाले आफूले प्रयोग गर्न र बिक्रीका लागि अफिम खेती लगाएका छन्। अहिले फूल लागेको अफिम फागुन अन्तिम र चैत महिनाभरिमा पाक्छ। किसानका बारीमा अहिले अफिमका सेता फूल लहलह झुलेका छन्। दाना पाक्न ठिक्क परेको छ।
महादेवा ७ मिर्चियाडँगीकी लागोदेवी सिंहले आफ्नो टोलका अधिकांश किसानले खेतबारीमा अफि म खेती गरेको बताउँदै भनिन्, 'तरकारी खेती गर्ने सबै किसानले बारीका कान्लामा अफिम लगाएका छन्।' गनगाईंहरूको बाहुल्य रहेको यो टोलमा ९० परिवार बसोवास गर्छन्।
नसालु अफिमको प्रयोग स्थानीयले भने आलुचप र प्याजी चपमा प्रयोग गर्दै आएका छन्। स्थानीय कुथनाप्रसाद सिंह भन्छन्, 'गाउँभरिका मासिनले आआफ्ना बारीमा रोपेका छन्। हामी आलुबाट तेलमा फुराएर बनाइने विशेष प्रकारको चपमा अफिमका दाना पिसेर हाल्छौं। यसले स्वाद बढाउँछ।' स्थानीयले अफिम पाकेपछि त्यसबाट निस्कने दाना 'पोस्ता' लाई चप बनाउँदा बेसनसँगै मिलाउने चलन रहेको बताए।