Saturday, July 4, 2015

बुढेसकालमा शौचालय पस्दा.....!!

कुमार लुइँटेल
मोतीपुर (मोरङ): गोगरीदेवी भगत ६० वर्ष पुगेपछि पहिलोपटक शौचालय पसिन्। यसअघि कहिल्यै शौचालयमा दिसापिसाब नगरेकी उनलाई पहिलोपटक प्यानमा टुक्रुक्क बस्दा निक्कै असजिलो भयो। 
 उनले अनुभव सुनाइन्, ‘ढोका लगाएर दिसा बस्ने बानी नै थिएन। बाहिरफेर काम टरेकै थियो। चर्पीभित्र बस्दा पहिलो दिन त दिसा नै आएन। दगुरेर बाहिर निस्किएँ। सास रोकिएझैं भयो।'
गाउँका अन्यझैं उनी पनि खेतबारीका कान्ला, खोलाकिनार, बाँसझ्याङ र पटुवाबारीमा दिसापिसाब गर्थिन्। 'एक वर्ष भयो घरमा शौचालय बनाएको, अब त बाहिरफेर बस्न लाज लाग्न थाल्यो', उनले भनिन्, ‘जीवनभरि बाहिरै दिसापिसाब गरेको बानी सुधार गर्न सुरुमा निकै कठिन भयो।' 
 बुढेसकालमा बाहिर जानुपर्ने बाध्यता घरमै चर्पी बनेपछि टरेको छ भने साबुनपानीले हात धुने तरिका पनि सिकेकी छन्।
मोतीपुर ४ सिंघिया अडवढाकी फूलनदेवी धामी ५८ वर्षकी भइन्। घरमा शौचालय बने पनि उनलाई पस्न मन लागेन।

Friday, July 3, 2015

३ हजार किमी हिँडेरै विराटनगर

विराटनगर: शरीर ख्याउटो भएको छ। लामो यात्राका कारण तौल घटेर शरीरको आयतन पनि खुम्चिएको छ। तर उनी थकित मुद्रामा भएझैं लाग्दैनन्। हरदम साधु, साध्वी र अनुयायीबाट घेरिइरहने जैन धर्मगुरु आचार्य महा श्रमणको अनुहारको कान्तिमा कुनै फरकपन छैन।
सात महिना लामो पैदल यात्रापछि पनि हँसिला र उज्याला देखिन्छन् उनी। जैन आचार्यहरू गाडी चढ्दैनन्। यात्रामा निस्कँदा पैदलै हिँड्छन्। 
स्थायी रूपमा साथै पैदल यात्रा गर्ने एक सयजति साधु तथा साध्वीहरूसँगै सात महिनाको पैदल यात्रा गरेर महा श्रमण पूर्वी नेपाल आइपुगेका हुन्। उनको गन्तव्य हो विराटनगर। बुधबार सुनसरीको दुहबी आइपुगेका उनी विराटनगरमा चार महिनासम्म चल्ने चतुर्मासमा सहभागी हुनेछन। साउन पहिलो साताबाट यो उत्सव सुरु हुँदैछ। त्यहाँ दैनिक प्रवचन, ध्यान र धर्मसंस्कारका विविध कार्यक्रम सञ्चालन हुनेछन्। करिब तीन हजार किलोमिटर पैदल यात्रा गरेर आएका महा श्रमणले सात महिनाअघि भारतको राजधानी नयाँदिल्लीस्थित छतेरपुरको तेरापन्थी जैनहरूको केन्द्रीय भवनमा नेपाली पत्रकारसँग भनेका थिए, ‘यो यात्रा सद्भावना, नैतिकता र नशामुक्तिका लागि हो।'
भारतबाहिर पहिलोपटक आयोजना हुने अन्तर्राष्ट्रिय चतुर्मासमा चार लाख जैन धर्मावलम्बी विराटनगर आउने आयोजकले जनाएका छन्। यो अवधिभर गुरु प्रवचन सुन्नुका साथै अनुयायीहरू उपवासमा बस्ने गर्छन्। नयाँदिल्लीबाट सुरु भएको यो यात्रा नेपाल, भुटान, पश्चिमबंगाल, आसाम हुँदै भारतका विभिन्न १२ राज्यसम्म चल्नेछ।

Wednesday, July 1, 2015

मेसिनले जोत्यो खेत, मेसिनले नै रोप्यो धान

कुमार लुइँटेल
विराटनगर :  गोरुले जोतेर खेत जोत्ने र मानिसले खेत रोप्ने भन्दा पनि झापा, मोरङ र सुनसरीमा मेसिनले जोत्ने र मेसिनबाटै धान रोपाई गर्न थालिएको  छ । कृषिमा आधुनिकीकरण अभियान चलाउने क्रमसँगै असार पन्ध्र र धान दिवसलाई सन्दर्भ पारेर मेसिनले रोपाई थालिएको हो ।
सुनसरीको तनमुना, भलुवा र झुम्का, मोरङको विराटनगर तथा झापाको महारानीझोडामा मेसिनबाट धान रोपिएको हो । आधुनिक र कृषि यान्त्रीकरण अभियान अन्तर्गत विभिन्न कृषि सहकारी संस्थाको पहलमा सामूहिक खेतीको अवधारणाअनुसार मेसिनले धान रोप्न सुरु गरिएको हो । कतिपय किसानले व्यक्तिगत रुपमा पनि मेसिनले धान रोप्न थालेका छन् । धेरै किसानले मेसिन प्रयोग गरेर धान रोप्ने खेत जोतेर तयार गरेका छन् ।

Saturday, June 13, 2015

सर्वसाधारणलाई सास्ती, सरकारीलाई मस्ती


कुमार लुइँटेल

विराटनगर ः महाभूकम्पपछि सरकारले असार मशान्तसम्म घर तथा भवन निर्माणको काम रोक्न निर्देशन दिदैं अवज्ञा गरे कडा कार्वाही हुने चेतावनी दिएको छ ।

यस्तो निर्देशनपछि घर बनाउँदै गरेका कतिपय सर्वसाधारणले काम नै रोकेका छन् । घर बनाउने योजना बुन्दै गरेकाहरु पनि असार मसान्त सकिने अवधि कुरेर बसेका छन् । तर, सरकारको यो नियम सर्वसाधारण र निजी क्षेत्रलाई मात्र लागू भएको छ । उ मातहतकै निकायले भने निर्देशनको अवज्ञा गरिरहेका छन् । विराटनगरमा सरकारी भवन निर्माणको काम रोकिएको छैन् बरु धमाधम भवनहरु ढलाई भइरहेका छन् । सर्वसाधारण र नगरबासीको निर्माण रोक्न उपमहानगरपालिकाले अनुगमनलाई तिव्रता दिएको छ । तर, सरकारी कार्यालयका भवनहरुको काममा निर्देशन पालना भएको छैन् । 

भूकम्पपछि भवन निर्माण रोक्ने सरकारी निर्देशन

विराटनगरमा  निर्माणाधीन घरेल तथा साना उद्योग कार्यालको भवन
उपमहानगरका इन्जिनियर भरत न्यौपानेले भने,‘असार मसान्तसम्म एकतलेभन्दा ठूला घर बनाउन नदिने सरकारी निर्देशन नै छ । हामीलाई ठूला घर बन्दैछन् भन्ने जानकारी आएपछि अनुगमन गरी निर्माणमा रोक लगाइदिएका हों ।’ महाभूकम्पपछि अनुमति नलिई बनाउँदै गरेका र अनुमतिभन्दा बढी निर्माण हुँदै गरेका भवनको अनुगमन वडा सचिवस्तरबाट पनि भइरहेको छ । असारसम्म सम्पूर्ण निर्माण कार्य रोक्ने सरकारी निर्देशनअनुसार नै काम हुने इन्जिनियर न्यौपाने बताउँछन् । तर, सरकारी भवनको काम भने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको जिम्मा भएको उनले बताए ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले विराटनगरमा घरेलु तथा साना उद्योग कार्यालय, निर्वाचन कार्यालय, नापी कार्यालय र बाल सुधार गृहका दुई तल्लेभन्दा अग्ला घर धमाधम निर्माण गरिरहेको छ । सुनसरीको धरानमा पुर्नस्थापना केन्द्र, जिल्ला प्रशासन कार्यालय, सहकारी डिभिजन कार्यालय र दुईवटा हेल्थपोष्टका भवन डिभिजन कार्यालयबाटै निर्माण भइरहेको छ । ती सबै भवन अर्ढा तला र सोभन्दा अग्ला हुन् । भवनको लागत १ करोडदेखि ५ करोड रुपैयाँसम्म छ ।

सरकारी भवन निर्माणमा सरकारी निर्देशनको किन पालना भएन ? भन्ने जिज्ञासामा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका सूचना अधिकृत पूर्णराज कार्की भन्छन्,‘सरकारी भवनहरु सबै मापदण्ड पूरा गरेर बनिरहेका छन् । इन्जिनियरले पूर्णत अनुगमन गर्दै बनाउँदै गरेकाले काम नरोकिएको हो ।’ निजी घर तथा भवनहरु इन्जिनियरको अनुगमनबिना बन्ने गरेकोले पनि सरकारले रोक लगाएको उनले तर्क गरे । सरकारी भवन निर्माणका कुनै कमजोरी नरहेकोले निर्देशनअनुसार गर्नुपर्ने भन्ने नरहेको कार्की तर्क गर्छन् । तर, विराटनगर उपमहानगरपालिकाका इन्जिनियर भरत न्यौपाने भने सरकारी निर्देशन सर्वसाधारण र निजी क्षेत्रको लागि मात्रै नभएर सरकारी निकायलाई पनि भएको बताउँदै भने,‘निर्देशन सर्वसाधारणलाई लाग्ने सरकारी निकायलाई नलाग्ने भन्ने हुन्न । सरकारी भवनको काम गर्ने निकाय डिभिजन कार्यालय नै हो । उ नै जिम्मेवार हुनुपर्छ ।’

Friday, June 12, 2015

गरिबलाई सुई छैन अस्पतालमा सड्दै...!!

कुमार लुइँटेल
विराटनगर ः कोशी अञ्चल अस्पतालको ओपीडी शाखामा ठूलाठूला कार्टुन भण्डारण गरेर थन्काइए झैं देखिन्छन् । अस्पतालको दोस्रो तल्लामा पुग्ने जोकोहीको ध्यान एकपटक ती कार्टुनले खिच्छन् । धेरैलाई जिज्ञासा पनि हुन्छ आखिर ती कार्टुनभित्र के रहेछन् भन्ने । परबाट हेर्दा हार मिलाएर राखे झैं देखिएपनि कार्टुनका मुख खुलेका छन् । अव्यवस्थित छन् । भित्रका सामान छरपस्ट हुन थालेका छन् । तर, यसको संरक्षण र प्रयोगमा अस्पतालले चासो दिएको पाइँदैन् ।

विराटनगर उपमहानगरपालिकाको स्वामित्वमा रहेको वीरेन्द्र सभागृहमा पनि लगभग यस्तै दृश्य देखिन्छ । सभागृहको भुइँतल्लामा असरल्ल कार्टुन छरिएका छन् । काटुर्नका मुख खूल्न थालेका छन् । त्यसभित्रका वस्तु बाहिर छरिएको देखिन्छ । दैनिकजसो कार्यक्रम हुने यो सभागृहमा पुग्ने धेरैले ती कार्टुनबारे जिज्ञासा राख्ने गरेका छन् । तर, यसको संरक्षणमा उपमहानगर र सभागृहका कर्मचारीले ध्यान दिएका छैनन् । ती कार्टुनभित्रका वस्तु प्रयोग हुने नहुनेबारे अन्योल छ ।

Sunday, June 7, 2015

गर्मीले झन् सकस

विराटनगर ः एक्कासि बढेको गर्मीले विराटनगरको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि उखुम गर्मी हुन सुरु भएपछि बजारमा समेत चहल पहल पातलिएको  छ । मानिसहरु शितल खोज्न छहारीको भर पर्न थालेका छन् । विद्यालय तथा कलेजमा दिउँसोको सट्टा बिहानी शत्रका कक्षा सञ्चालन गरिएको छ ।
कतिपय पसलहरु साँझमा मात्र सञ्चालनमा आउन थालेका छन् । गर्मीले बजारमा किनमेल गर्न आउने मानिसहरुको संख्या पनि घटेको छ

हावापानी कार्यालय विराटनगरका अनुसार बुधबार विराटनगरको तापक्रम मध्यान्न न्यूनतम २७ दशमलब ४ र अधिकतम ३४ दशमलब ४ पुगेको थियो । कार्यालयकी कर्मचारी पुनम दाहालले भनिन्,‘केही दिनयता तुलनात्मक रुपमा तापक्रम बढ्दै गएको छ ।’ तापक्रम भदौसम्म बढ्दै जाने उनले बताइन् ।

Thursday, June 4, 2015

रमपमलाई तीन, क्वालिटीलाई चार मुद्दा.....!!

कुमार लुइँटेल

विराटनगर ः न्यून गुणस्तरको खाद्यान्न उत्पादन गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने पूर्वका विभिन्न उद्योगविरुद्ध छत्तिसवटा मुद्दा चलाइएको छ । रमपम चाउचाउलाई तीन र क्वालिटी विस्कुटलाई एक वर्षमा चारवटा मुद्दा चलाइएको छ । 
बजारमा नाम चलेका ब्रान्डका खाद्यान्न उत्पादन गर्ने ठूला उद्योगका उत्पादनसमेत गुणस्तरहीन भएको पत्ता लागेपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कार्वाहीका लागि कानुनी प्रक्रिया अघि बढाएको हो ।
कार्यालयका प्रमुख प्रमोद कोइरालाले भने,‘नाम चलेकै उद्योगका उत्पादन न्यून गुणस्तरको पाइएपछि कार्वाहीका लागि मुद्दा चलाइएको हो ।’ ती उद्योगले उत्पादित वस्तुको गुणस्तर कायम गर्न नसकेको र उपभोक्ताको स्वास्थ्यमाथि नै खेलबाड गरेको पाइएपछि पूर्वका सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको कोइरालाले जानकारी दिएका छन् ।
कार्यालयले विभिन्न समयमा खाद्यान्न वस्तुको नमूना संकलन गरेर क्षेत्रीय प्रयोगशालामा गुणस्तर परीक्षण गरेको थियो । चालू आर्थिक वर्षमा ती उद्योगलाई मुद्दा चलाइएको हो ।
See the table
 एक वर्षको अवधिमा चाउचाउ उत्पादक एशियन थाई फुड्सलाई तीन र क्वालिटी विस्कुटलाई चारवटा मुद्दा दायर गरिएको  छ । केएल दुगड समूहको तेल उद्योगलाई पनि मुद्दा चलाइएको  छ ।

परीक्षणबाट पत्ता लागेपछि मुद्दा चलाइएको हो ।’ कार्यालयले विराटनगरसहित सुनसरी–मोरङ आद्योगिक करिडोरका उद्योगले उत्पादन गर्ने खाद्यवस्तु तथा तेलको गुणस्तरबारे अनुगमन र प्रयोगशाला परीक्षणमा कडाई गरेको छ । चालू आर्थिक वर्षमा कार्यालयले खाद्यवस्तुको गुणस्तर परीक्षणमा विशेष ध्यान दिएको कोइरालाले बताएका छन् ।

Thursday, May 28, 2015

श्रीमानको औंला किन काटियो भन्दा श्रीमतीको पनि जागिर चट् ....!!

कुमार लुइँटेल
विराटनगर : विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार गराउँदा एकजना बिरामीले जानकारीबिनै आफ्नो खुट्टाको दुई वटा औंला गुमाउनु परेको आरोप लगाएका छन्।
विराटनगर¬– ८ का विरेन्द्र झाले चिकित्सकको लापरवाहीका कारण आफूले खुट्टाका दुई वटा औंला गुमाउनु परेको बताएका छन् । उनले भने,‘दुर्घटनामा परेपछि उपचारका लागि अस्पताल गएको थिए । मलाई जानकारी नै नदिई चिकित्सकले औंला काटिएदिए ।
अस्पतालले आफ्नो औंला काटिदिएको विषयमा पत्रकार सम्मेलन गरी जानकारी गराउँदै विराटनगरका विरेन्द्र झा । - See more at: http://annapurnapost.com/News.aspx/story/12378#sthash.rO05AMYJ.dpuf
विराटनगरमा बुधबार झाका परिवारले सामाजिक संघसंस्थाको पहलमा गरेको पत्रकार सम्मेलनमा उनले भने,‘तीन पटक अप्रेसन गरे पछि बुझ्दा स्पाइनलका डाक्टरले मेरो अप्रेसन गरेछन् । दुई वटा औंला नै काटेर फ्याँकिदिए ।’ उपचारमा संलग्न चिकित्सकले डा. सरोज कर्णले आफूलाई जानकारी नै नदिई देब्रे खुटटको दुई वटा औंला काटिदिएको झाको आरोप छ ।

Wednesday, May 27, 2015

कालोबाजारी आरोपित व्यापारी रातारात रिहा

कुमार लुइँटेल
विराटनगर : भूकम्प पीडितको नाममा त्रिपालमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका विराटनगरका दुई व्यापारी रातारात छुटेका छन् । सोमबार अबेरसम्म जिल्ला प्रशासन कार्यालय मोरङमा भएको इजलासबाट उनीहरु धरौटीमा छुटेका हुन् ।
भन्सार छुटको त्रिपाल आयात गरी अत्याधिक मुनाफा खाई कालोबजारी गरेको आरोपमा गत बिहीबार अम्बिका बस्त्रालयका प्रदीप अग्रवाल र परनामी इन्टरप्राइजेजका जितेन्द्र सेठिया पक्राउ परेका थिए । अग्रवाल १५ लाख र सेठिया ११ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । प्रहरीले कालो बजारी तथा सामाजिक अपराध ऐन २०६३ बमोजिम उनीहरुलाई मुद्दा चलाएको थियो । दुबैले बैंक ग्यारेन्टीको कागजात पेश गरेर राति छुटेका हुन् । उनीहरुलाई बयान गराउन प्रहरीले साढे ४ बजे जिल्ला प्रशासन कार्यालय लगेको थियो । मोरङ प्रहरीका डिएसपी प्रभुप्रसाद ढकालले भने,‘उताबाट ल्याउनु भन्ने खबर आएपछि हामीले साढे ४ बजे दुबै व्यापारीलाई प्रशासनको इजलासतर्फ लगेका हौं ।’
कानुन व्यवसायीले यो मुद्दामा ५ घन्टा बहस गरेका थिए । तर, मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भने दुबै व्यापारीलाई प्रहरीले अबेर गरी हाजिर गराएकोले बहस अबेरसम्म चलेको बताए । उनले भने,‘बिगोअनुसार हामीले अत्याधिक धरौटी माग गरेका छौं । ‘रुल अफ ल’लाई हेर्ने हो भने धरौटीको यो रकम बढी नै हो ।’ प्रजिअ कार्कीका अनुसार यो मुद्दामा बिगोअनुसार जरिवाना, पाँच वर्ष कैद वा दुबै सजाय हुने प्रावधान छ ।

Saturday, May 23, 2015

भूकम्प पीडितका नाममा कमाउ धन्दा



कुमार लुइँटेल
विराटनगर :  भूकम्पपीडितका लागि भन्सार छुटमा ल्याइएको त्रिपालमा विराटनगरका व्यापारीले कालकोबजारी गरेका छन् ।
पीडितसम्म सस्तो र सरल मूल्यमा त्रिपाल पुर्‍याउन व्यापारीले आयात गर्दा सरकारले भन्सार छुट दिएको थियो । तर, विराटनगरका व्यापारीले नाफा कमाउने दाउमा बद्मासी गरेका छन् ।
व्यापारीले भन्सार छुटमा ल्याएको त्रिपाल ७८ प्रतिशतसम्म नाफा खाएर बेचेका छन् । २० प्रतिशतभन्दा धेरै मुनाफा राखी बिक्रीवितरण भए कालोबजारी हुन्छ ।
कालोबजारी गर्नेलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने कानुनी प्रावधान छ । सरकारलाई कर नतिरी ल्याइएको त्रिपालमा कालोबजारी भएपछि विराटनगरमा खैलाबैला भएको छ ।

भूकम्पपीडितको त्रिपालमा कालोबजारी

राहतस्वरुप पीडितसम्म पुग्नुपर्ने त्रिपालमा न्यून नाफा राखी बिक्री गर्न सरकारले सुझाएको थियो । तर, केही व्यापारीले उपभोक्तासँग १३ प्रतिशत भ्याट जोडेर बिक्री गरेका छन् । विराटनगरको अम्बिका बस्त्रालयले भन्सार छुटमा ल्याएको त्रिपाल ७८ प्रतिशतसम्म मुनाफा खाएर बिक्री गरेको छ । उसले सरकारी सुविधामा ८ हजार ४ सय ४ थान त्रिपाल ल्याएको थियो ।

तर, बिक्री भने प्रतिगोटा एक हजार १ सय ४१ रुपैयाँमा गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत रोहिणी आचार्यले भने, ‘न्यूनतम ७ सय ६७ रुपैयाँ गर्नुपर्नेमा अत्याधिक मुनाफा खाएको भेटियो ।’ प्रशासनले विराटनगरमा अनुगमन सुरु गरेसँगै कालोबाजरी भएको तथ्य बाहिर आएको हो ।

जिल्ला बजार अनुगमन समितिका संयोजक तथा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले विपद्का बेला बद्मासी गर्ने कसैलाई नछाडिने बताए । ‘संकटका बेला सरकारी सुविधा लिएर ल्याइने सामानमा कालोबजारी गर्नेलाई कडा कारबाही हुन्छ’, उनले भने ।

अम्बिकाले ५३ लाख ६ हजार २ सय ५६ रुपैयाँ बराबरको त्रिपाल आयात गरेको थियो । औसत बिक्री ६३ लाख ६९ हजार १ सय ६८ हुनुपर्दथ्यो ।             (हेर्नुस भिडियाे)



बस्त्रालयका सञ्चालक प्रदीप अग्रवाललाई पक्राउ गरी शुक्रबार म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभूप्रसाद ढकालले जानकारी दिए । ढकालले भने, ‘कालो बजारी ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरेका छौं ।’

यसैगरी प्रणाम इन्टरप्राइजेजका जीतेन्द्र सेठ्ठी पनि कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई पनि म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । प्रणामले ४५ हजार ६ सय १२ केजी त्रिपाल प्रतिकेजी २ सय ७२ रुपैयाँमा आयात गरी ३ सय ४२ प्रतिकेजीमा बिक्री गरेको पाइएको छ ।




Tuesday, May 19, 2015

छाक कटाएर शरणार्थीले गरे भूकम्प पीडितलाई सहयोग


कुमार लुइँटेल

हुनेले समेत सहयोग गर्न हिच्कीचाएको र मुठ्ठी कसेको बेला ‘केही नभएका र अर्काको देशमा शरण लिएर बसेका’ भनिने भुटानी शरणार्थीले छाक कटाएरै उदार मनले नेपालका भूकम्प पीडितलाई सहयोग गरेका छन् ।

छाप्रोको बास छ । आफै दाताले दिने खाद्यान्नको भरमा छन् । जीवन गरिबी र अभाव बितिरहेको छ । उनीहरुको निरासाको फेहरिस्त निकै लामो छ । तर, तमाम समस्यालाई चिर्दै शरणार्थीले छाक कटाएरै भएपनि भूकम्प पीडितको लागि सहयोग जुटाएका छन् । यो काममा शरणार्थीका अगुवा र युवाले सक्रियता देखाएका हुन् । झापा र मोरङका शिविरहरुबाट उठाइएको खाद्यान्न सिन्धुलीका भूकम्प पीडितसम्म पु¥याइएको छ । ‘आफूलाई आश्रय दिने देशमा परेको विपद्लाई आफ्नै सम्झदै सहयोग गरेका हौं’,झापा दमकस्थित बेलडाँगी शिविरका सचिव सञ्चहाङ सुब्बाले भने,‘हरेक छाप्राबाट एक छाकको चामल, तेल, नुुन, बेसार,
हरियो सब्जी आदि खाद्यान्न संकलन ग¥यौं । सक्नेले नगद पनि सहयोग गर्नुभयो ।’


शरणार्थीहरु २५ वर्षदेखि नेपालमा शरणागत छन् । नब्बे हजार जति तेस्रो देशमा पुर्नवासका लागि गइसकेका छन् । तर, यहाँ हुनेले अभावबीच सहयोग गरिरहेको शरणार्थी अगुवा टिकाराम रसाइलीले बताए । उनले भने,‘विदेशमा भएकाले पनि सहयोग गरिरहनु भएको छ ।’ 

झापाको दमकस्थित बेलडाँगी र मोरङको शनिश्चरे शिविरका शरणार्थीले एकछाक खाना बराबरको सहयोग गरेका हुन् । उनीहरुलाई विश्व खाद्य कार्यक्रमले दुई साताका लागि प्रतिव्यक्ति ५ केजी ६ सय ग्राम चामल दिन्छ । अन्य खाद्यान्न पनि उपलब्ध हुन्छ । रसाइली भन्छन्,‘सहयोग दिन कसैले सानो मन गर्नुभएन बरु हामीले सोचेभन्दा धेरै जुट्यो ।’ 

शिविरहरुमा पाँच दिन लगाएर संकलन गरेको खाद्यान्न एउटा बस र ट्रकमा लिएर शरणार्थीको २२ सदस्यीय टोली सिन्धुली पुगेको छ । जिल्ला प्रशासन कार्यालय झापाको स्वीकृति र सल्लाहबमोजिम यो टोली सिन्धुली पुगेको हो । शनिश्चरे शिविर सचिव चम्पासिंह राईले भने,‘हामी अभावै अभावमा छौं तर राष्ट्रिय विपद्को यो समयमा हामीले पनि केही गर्नुपर्छ भन्ने लागेर नै सहयोग गर्न तम्सिएका हौं ।’

Monday, May 18, 2015

भूकम्पको शोकमा नेताको शान, बालिकाको सहयोगी मन


आफ्नो गुन्यूचोलीको भोज रोकेर भूकम्प पीडितलाई एक लाख दिने ९ वर्षीया यशस्वी पोखरेल र उनकाे परिवार। - See more at: http://annapurnapost.com/News.aspx/story/11882#sthash.pi2MvYcb.dpuf

आफ्नो गुन्यूचोलीको भोज रोकेर भूकम्प पीडितलाई एक लाख दिने ९ वर्षीया यशस्वी पोखरेल र उनकाे परिवार। - See more at: http://annapurnapost.com/News.aspx/story/11882#sthash.pi2MvYcb.dpuf
कुमार लुँइटेल
कुमार लुँइटेल
विराटनगर : विनाशकारी भूकम्पले सिंगै मुलुक नै शोकमा डुबेका बेला राष्ट्रिय स्तरका एकजना नेताले गरेको भव्य बिहे भोज एकजनाले सर्वसाधरण बालिकाले गुन्यूचोली लागि छुट्टाएको एक लाख भूकम्पपीडितलाई दिएको दुई फरक प्रसंग अहिले विराटनगरमा निकै चर्चामा छन्। 
 मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भूकम्पको शोकका बेला आयोजना गरेको छोराको बिहे भोजको आलोचना भइरहँदा विराटनगरकी वर्षीया यशस्वी पोखरेलले आफ्नो गुन्यूचोली पार्टी रोकेर एक लाख रकम भूकम्प पीडितलाई दिएकी छिन्। भूकम्पको शोकमा नेताको देखाएको शान बालिकाको सहयोगी मन यहाँका टोलटोल घरघरमा अहिले चर्चा भइरहेको छ। यशस्वीले सबैबाट स्याबासी पाएकी छन्। 

गुन्यूचोली कर्मपछि भोजका लागि छुट्टाइएको एक लाख बालिकाले आइतबार जिल्ला प्रशासन कार्यलय मोरङमार्फत भूकम्पपीडितलाई दिएकी हुन् आइतबार गुन्यूचोलीको भोज गर्ने कार्यक्रम थियो तर बालिकाकै इच्छामा भोज स्थगित गरेर भूकम्पपीडितलाई दिइएको हो  
 गुन्यूचोलीको भोज रोकेर बालिकाले दिइन् भूकम्पपीडितलाई एक लाख
यादवले वैशाख २९ गते आफ्ना छोराको विवाह धुमधामसँग गरे। विराटनगरमा विवाह भोज पनि उस्तै तामझामसाथ भयो गाडी आगन्तुकको लावालस्कर नै लागेको थियो मुलुक महाविपद्मा परेको बेला भएको विवाह भोजको निकै टिकाटिप्पणी पनि भयो।
यादवले महाभूकम्पको विपद्मा परेका पीडितलाई छोराको नाममा एकसुका पनि दिएनन् तर विराटनगर की वर्षीया यशस्वी पोखरेलले भने उदाहरण प्रस्तुत गर्दै आफ्नो गुन्यूचोली कर्मपछि आयोजना हुने भोजमा खर्च गर्न ठिक्क पारेको सबै रकम भूकम्प पीडितलाई सहयोग गरेकी छिन् यादवले महाविपद्को बेला तामझामका साथ छोराको विवाह भोज गरेको विषयमा विराटनगरको सामाजिक वृतमा आलोचना भइरहँदा यशस्वीले भने स्याबासी पाइरहेकी छिन्।