Saturday, July 4, 2015

बुढेसकालमा शौचालय पस्दा.....!!

कुमार लुइँटेल
मोतीपुर (मोरङ): गोगरीदेवी भगत ६० वर्ष पुगेपछि पहिलोपटक शौचालय पसिन्। यसअघि कहिल्यै शौचालयमा दिसापिसाब नगरेकी उनलाई पहिलोपटक प्यानमा टुक्रुक्क बस्दा निक्कै असजिलो भयो। 
 उनले अनुभव सुनाइन्, ‘ढोका लगाएर दिसा बस्ने बानी नै थिएन। बाहिरफेर काम टरेकै थियो। चर्पीभित्र बस्दा पहिलो दिन त दिसा नै आएन। दगुरेर बाहिर निस्किएँ। सास रोकिएझैं भयो।'
गाउँका अन्यझैं उनी पनि खेतबारीका कान्ला, खोलाकिनार, बाँसझ्याङ र पटुवाबारीमा दिसापिसाब गर्थिन्। 'एक वर्ष भयो घरमा शौचालय बनाएको, अब त बाहिरफेर बस्न लाज लाग्न थाल्यो', उनले भनिन्, ‘जीवनभरि बाहिरै दिसापिसाब गरेको बानी सुधार गर्न सुरुमा निकै कठिन भयो।' 
 बुढेसकालमा बाहिर जानुपर्ने बाध्यता घरमै चर्पी बनेपछि टरेको छ भने साबुनपानीले हात धुने तरिका पनि सिकेकी छन्।
मोतीपुर ४ सिंघिया अडवढाकी फूलनदेवी धामी ५८ वर्षकी भइन्। घरमा शौचालय बने पनि उनलाई पस्न मन लागेन।

Friday, July 3, 2015

३ हजार किमी हिँडेरै विराटनगर

विराटनगर: शरीर ख्याउटो भएको छ। लामो यात्राका कारण तौल घटेर शरीरको आयतन पनि खुम्चिएको छ। तर उनी थकित मुद्रामा भएझैं लाग्दैनन्। हरदम साधु, साध्वी र अनुयायीबाट घेरिइरहने जैन धर्मगुरु आचार्य महा श्रमणको अनुहारको कान्तिमा कुनै फरकपन छैन।
सात महिना लामो पैदल यात्रापछि पनि हँसिला र उज्याला देखिन्छन् उनी। जैन आचार्यहरू गाडी चढ्दैनन्। यात्रामा निस्कँदा पैदलै हिँड्छन्। 
स्थायी रूपमा साथै पैदल यात्रा गर्ने एक सयजति साधु तथा साध्वीहरूसँगै सात महिनाको पैदल यात्रा गरेर महा श्रमण पूर्वी नेपाल आइपुगेका हुन्। उनको गन्तव्य हो विराटनगर। बुधबार सुनसरीको दुहबी आइपुगेका उनी विराटनगरमा चार महिनासम्म चल्ने चतुर्मासमा सहभागी हुनेछन। साउन पहिलो साताबाट यो उत्सव सुरु हुँदैछ। त्यहाँ दैनिक प्रवचन, ध्यान र धर्मसंस्कारका विविध कार्यक्रम सञ्चालन हुनेछन्। करिब तीन हजार किलोमिटर पैदल यात्रा गरेर आएका महा श्रमणले सात महिनाअघि भारतको राजधानी नयाँदिल्लीस्थित छतेरपुरको तेरापन्थी जैनहरूको केन्द्रीय भवनमा नेपाली पत्रकारसँग भनेका थिए, ‘यो यात्रा सद्भावना, नैतिकता र नशामुक्तिका लागि हो।'
भारतबाहिर पहिलोपटक आयोजना हुने अन्तर्राष्ट्रिय चतुर्मासमा चार लाख जैन धर्मावलम्बी विराटनगर आउने आयोजकले जनाएका छन्। यो अवधिभर गुरु प्रवचन सुन्नुका साथै अनुयायीहरू उपवासमा बस्ने गर्छन्। नयाँदिल्लीबाट सुरु भएको यो यात्रा नेपाल, भुटान, पश्चिमबंगाल, आसाम हुँदै भारतका विभिन्न १२ राज्यसम्म चल्नेछ।

Wednesday, July 1, 2015

मेसिनले जोत्यो खेत, मेसिनले नै रोप्यो धान

कुमार लुइँटेल
विराटनगर :  गोरुले जोतेर खेत जोत्ने र मानिसले खेत रोप्ने भन्दा पनि झापा, मोरङ र सुनसरीमा मेसिनले जोत्ने र मेसिनबाटै धान रोपाई गर्न थालिएको  छ । कृषिमा आधुनिकीकरण अभियान चलाउने क्रमसँगै असार पन्ध्र र धान दिवसलाई सन्दर्भ पारेर मेसिनले रोपाई थालिएको हो ।
सुनसरीको तनमुना, भलुवा र झुम्का, मोरङको विराटनगर तथा झापाको महारानीझोडामा मेसिनबाट धान रोपिएको हो । आधुनिक र कृषि यान्त्रीकरण अभियान अन्तर्गत विभिन्न कृषि सहकारी संस्थाको पहलमा सामूहिक खेतीको अवधारणाअनुसार मेसिनले धान रोप्न सुरु गरिएको हो । कतिपय किसानले व्यक्तिगत रुपमा पनि मेसिनले धान रोप्न थालेका छन् । धेरै किसानले मेसिन प्रयोग गरेर धान रोप्ने खेत जोतेर तयार गरेका छन् ।