Friday, December 12, 2008

द्धन्द पीडितको चित्कार : छोरा पर्ढाई देउ

झापा दमक ५ दुम्सेका गजेन्द्र राईलाई २०६२ साल अलच्छिना सावित भयो । चैत ३१ गते घरमा आगो लाग्यो । जायजेथा डढेर खरानी भयो । भएका सामान केही झिक्न पाएनन् । आङका लुगा मात्र बाँकी थियो । काखको छोरो च्यापेर घर डढेर बाँकी रहेको खरानी हेर्नु सिवाय उनीसँग अर्को विकल्प थिएन् ।
गजेन्द्रले घर डढेको पिर भुल्न पाएकै थिएनन् । चार दिन पछि माओवादी र सुरक्षाकर्मीको क्रस फायरमा परि श्रीमती रेनुका घाईते भईन् । अपरान्ह स्थानिय पीपीरे चौकमा दुई पक्षबीच गोली हानाहान भएको थियो । त्यो घटनामा रेनुकाको दायाँ कोखामा लागेको गोली बाँयाबाट निस्कियो । घाइते उनी १४ महिना ओछ्यान परिन् । शरीरको तल्लो भाग चल्न छाडेपछि त्यत्तिका महिना थलिएर उनको मृत्यु भयो । क्रसफायरमा एक जना सुरक्षाकर्मीको घटना भएकै ठाउँमा ज्यान गएको थियो । माओवादीले शसस्त्र प्रहरी बल पाथिभरा गणबाट खटिएको प्रहरीको टोलीलाई गोली हाने दोहोरो झडप भएको थियो ।
गोली लागेकी आफ्नी श्रीमतीको उपचारमा सबै सम्पत्ती गुमाएका गजेन्द्र अहिले घरको न घाटको भएका छन् । श्रीमतीको उपचारमा माओवादी र राज्यपक्ष कसैले उतिबेला त चासो दिएनन् नै तर अहिले पनि कसैले सान्त्वना सम्म नदिएको उनको गुनासो छ । गजेन्द्र भन्छन-द्धन्दको समयमा मैले सबै चिज गुमाए तर मलाई राज्य र माओवादी कुनै पक्षले सहयोग गरेनन् । श्रीमतीको उपचार गर्न भएको घडेरी बिक्री गरे । अहिले भएको एउटा छोरो लाई पढाउन र भरणपोषण गर्न पनि समस्या छ ।
उपचार गर्न लागे मध्ये एक लाख पचास हजार ऋण अहिले पनि तिर्न नसकेको उनले बताए ।उनी भन्छन्- माओवादी नै अहिले सरकारमा भएको अवस्थामा मेरो छोरासम्मलाई पढाईदिने व्यवस्था गरिदिए हुने थियो । माओवादीका नेताले भेट्न आएर आश्वासन दिएपनि थप केही नगरेको उनले गुनासो गरेका छन् । केही दिन पहिले पनि झापा ७ का माओवादी सभासदले भेटेर आर्थिक सहयोग गर्ने आश्वासन दिएको उनले बताएका छन् ।
राई आफूँ समस्यामा परेकोले छोराको पढाई खर्च र ऋण तिर्ने रकम राज्यबाट पाउने आशामा रहेको बताउँछन् ।

Sunday, December 7, 2008

खाँटी भुटानीपनि अमेरिका तिर

भीम भण्डारी दुई, तीन वा चार नम्वरका नभई खाँटी भुटानी हुन् । उनी र उनको परिवारलाई नेपाल र भुटानले यस्तो दर्जामा राखेको हो । एक नम्वरमा परेकाहरु भुटानले घर फर्काउन सहमति जनाएका शरणार्थीहरु हुन् । तर दिन वित्यो, हप्ता वित्यो, महिना वित्यो, अनि वर्ष पनि । उनलाई न नेपालले अब घर फर्क भन्यो नत भुटानले नै बोलायो । अन्तत आजित भएका भण्डारीले परिवारै लिएर अमेरिका पो जानुपर्यो ।
नेपाल र भुटानका अधिकारीहरु सम्मिलित संयुक्त टोलीको प्रमाणीकरणमा भण्डारीको परिवार एक नम्वर अर्थात खाँटी भुटानीको सूचिमा परेको हो । तर स्वदेश फर्कने संभावना शुन्यप्राय देखेपछि खुदुनावारी शिविरका उनी ७ जनाको परिवार लिएर अमेरिकाको भर्जिनियामा बसाँइ सरेका छन् । उनका माइला भाइ भक्ती ४ जना परिवार सदस्य सहित उनीसँगै छन् । दुई दाजुभाइ र परिवार एक महिना अघि मात्र अमेरिका गएका हुन् ।
साईला भाई मोहन भण्डारी पनि छोरा छोरी सहित अमेरिका उड्न अन्तिम प्रकृयामा छन् । उनले पुनर्वासको लागि गर्नुपर्ने सबै काम पूरा गरिसकेको बताए । खुदुनावारी वर्गीकरणका खाँटी भुटानीहरु वर्षौं बित्दा पनि स्वदेश फर्कने संभावना नै नदेखेपछि अमेरिका जान शुरु गरेका छन् । भण्डारीहरुको दुई परिवार नै शिविरबाट तेस्रो मुलुक जाने पहिलो परिवार हो । एक नम्वर सोही शिविरका भक्तराज गुरुङका छोराहरुले पनि अमेरिका जान आइओएम समक्ष निवेदन दिइसकेका छन् ।
झापा र मोरङका सातवटा शिविर मध्ये खुदुनावारीमा २६ मार्च २००१ मा प्रमाणीकरण थालिएको थियो । त्यो प्रमाणीकरण १४ डिसेम्वरमा सकिएको थियो । प्रमाणीकरणको नतिजा अनुसार भुटानी शरणार्थीलाई चार वर्गमा विभाजन गरिएको छ । जसमध्ये २ सय ९३ जना खाँटी भुटानी, ८ हजार ५ सय ९५ जना बसाँइ सरी गएका, २ हजार ९ सय ४८ जना गैर भुटानी र ३ सय ४७ जना आर्तककारी गतिविधिमा संलग्नको सूचिमा परेका थिए ।
भ्ाण्डारी परिवारमात्रै नभएर सन् २००१ मा नेपाल र भुटानका अधिकारीहरुको संयुक्त टोलीले प्रमाणीकरण गरेका खाँटी भुटानीहरु पनि नैराश्यताका कारण अमेरिका पुर्नवासमा जान शुरु गरेका छन् । खुदुनावारी शिविर सचिव प्रवीणा गुरुङले छोरा छोरीको भविष्य प्रति चिन्तित बावुआमाले पुनर्वासमा जान रुचाएको बताईन् । उनले भनिन-खाँटी भनेर शिविरमा कोचिएर बसी के गर्ने देश फर्कने कहिले हो कहिले टुंगो छैन् । उनका अनुसार त्यो शिविरबाट २ सय ३३ जना शरणार्थी तेस्रो मुलुक गई सकेका छन् ।
भक्तराज गुरुङले घर फर्कने सूचिमा परेकोले फर्कन पाइएला भनेर धेरै समयसम्म मौन बसेको बताए । सात वर्ष कुरे तर त्यो दिन आएन्-उनको दुखेसो छ । अमेरिका पुग्नले जीवन राम्रै गरि चलिरहेको भन्ने खवर गरेपछि छोराहरुलाई जान इजाजत दिएको बताउने उनले चार मध्ये माइलो र साइलो छोरालाई पुनर्वासमा जान निवेदन गर्न इजाजत दिएको बताए ।
पुनर्वासमा कार्यरत आप्रवास सम्बन्धि अन्तराष्ट्रिय संगठन (आइओएम) ले गत वर्ष मार्च महिनाबाट पुनर्वास शुरु गरेको हो । हालसम्म ७ हजार २ सय ९७ जना भुटानी शरणार्थी अमेरिका सहित सात मुलुकमा पुनर्स्थापित भईसकेका छन् ।

Friday, December 5, 2008

गाउँ नै साकाहारी, कोहि पनि मद्यपान ध्रुमपान गर्दैनन्

कुमार लुइँटेल
इन्दीरा आउजुङ साकाहारी हुन् । माछामासु मात्र होइन उनी पंक्षीको फुल समेत खान्नन् । अन्यत्र बस्ने उनको समूदायमा माछामासु नखाने धेरै कम भेटिन्छन् । रक्सी त हरेक विधि र कर्ममा अनिवार्य नै मानिन्छ ।
जयकुमार नेम्वाङले मासु छाडेको दश वर्ष पुग्न लाग्यो । पहिले पहिले मासुको स्वाद लिदैं जाँडरक्सी खाइ मात्तिएर हिंड्ने उनी अहिले साकाहारी छन् । त्यस्को स्वाद नै विर्सिसके । तलतल पनि लाग्दैन् -उनले भने ।
इन्दीरा र जयकुमार प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु बस्ने दक्षिणी इलामको बाँझो गाविसमा दुई हजार एक सय परिवारका दश हजार बासिन्दा साकाहारी छन् । नयाँ जन्मेका पुस्तालाई त मासुको स्वाद कस्तो हुन्छ कल्पनासम्म छैन् । सिंगो गाउँ नै साकाहारी बनेपछि अहिले बाँझो गाविस पूर्वमै उदाहारण बनेको छ । गाविसमा माछामासु मात्र नभएर खैनी, चुरोट,जाँडरक्सी, पानमसला र गुट्का खानेहरु पनि भेटिन्नन् ।
बाँझो ९ का हरिकुमार आम्बुहाङले पहिले पहिले हुक्काको सर्को तानेको सम्झदैं भने-उतिवेला मज्जाले हुक्का तानिन्थ्यो तर समाजले नै धुम्रपान गर्नु राम्रो होइन सबैले छाड्न पर्छ भनेपछि छाडिदिंएँ । सुरु सुरुमा त समस्या भयो तर अहिले छैन् । माछामासु पनि खान्न । गाउँका बासिन्दा साकाहारी बनेको र धुम्रपान मद्यपान गर्न छाडेकोमा सन्तुष्टी जनाउँदै उनले भने-हामी लिम्बुलाई मात्तिएर हिंड्ने मतवाली भन्थे हाम्रो अभियान बारे बुझ्न मानिसहरु आउन थालेका छन् । गाउँमा माछामासु , धुम्रपान र मद्यपान गर्ने एक्लो बृहस्पति जस्तो बन्ने उनले सुनाए ।
बाँझो गाविसको रतुवा खोला पूर्व, मावा खोला पश्चिम, वालिङ भन्ज्याङ उत्तर र मझुवा दोभान दक्षिणको टोलका बासिन्दा साकाहारी बनेको किराँत धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डेकेन्द्रसिंह थेगिमले बताए । उनका अनुसार लारुम्वा क्षेत्र किराँत धर्मालम्बीको पवित्र तिर्थ स्थल र गुरु आत्मनन्द लिङ्देनको कर्मथलोपनि भएकोले त्यहाँ सामाजले सहमतीमा बाहिरबाट जाने आगन्तुकलाईपनि नियम बनाइएको छ । उनले भने-हामीले ढिलो अभियान चलाएपनि हाम्रा छोराछोरीलाई भने नयाँ संस्कार दिन पाएकोमा खुसी लागेको छ ।
लारुम्वा क्षेत्रमा बाहिरबाट जानेले पनि माछामासु खान पाउँदेनन् । बेचविखन त पूर्ण प्रतिबन्धित छ । जाँडरक्सीको उत्पादन र बिक्री गर्नु बर्जित कार्य हो । चुरोट खैनी, हुक्का पनि प्रयोगपनि गर्न हुन्न् ।
किराँत चोलुङ आङसी माङ्गेना सेवा समितीका अध्यक्ष केहेरसिंह योङयाले सबैको सहमतीमा गाउँ साकाहारी र मद्यपान, धुम्रपान निशेधित क्षेत्र बनेको बताए । उनले भने-परिर्वतन आफैंबाट गरे जे पनि संभव रहेछ ।



Tuesday, November 18, 2008

दुःख न सुखमा शिकागोका भुटानी शरणार्थीहरु

हामी कारीब ३५ घर भुटानी शरणार्थीहरु यहाँ शिकागोमा छौं । प्राय सबै क्याम्पबाट नै छौं ।अहिले पनि धमाधम मान्छेहरु आउने क्रम जारी छ । यहाँ सबै कुराको सुबिधाहरु छन, सबैलाई रमाइलो छ भन्छन । मलाई पनि रमाइलो लगेको छ भन्छु किनकि जे नहुनु पर्थ्यो त्यो भयो अब न रमाइलो भन्दा अमेरिका नआउनेहरुलाई रमाइलो लाग्छ होला । यो एउटा ठुलो सिटी भएर होला धेरै मान्छे हरु छन् अनि ११० तला सम्म भएको भवनहरु पनि देख्न पाइयो । भुटानीहरुलाई अहिले रेसिडेन्सियल एरियामा राखेको छ जस्मा घरभाडा $ ४०० देखि $८०० सम्म छ यो एरिया मिचीगन पोखरीको नजिक छ । प्रायः सबैले काम समातिसकेका छन् अनि सबैसँग भेट पनि हुँदैन । म त धेरै दुःखी छु मेरो दशै तिहार कहिले आयो अनि गयो मलाई थाहा छैन अब सधैं यस्तो होला ।साथी भाइसँग भेट गरि रमाइलो गर्ने दिन गयो होला । हामीले जतिसुकै पढे पनि सर्टिफिकेटको कुनै मान्यता छैन मान्यता पौन अमेरिकामा पढ्नु पर्छ । काम कस्तो छ हामीलाई त हवाइजहाज सफा गर्ने होटेलमा रुम सफा गर्ने अनि हामी अलि ढिला मान्छे, मेशिनसँग काम गर्नु पर्ने, अलि ढिलो भयो भने भोलि काम हुँदैन अर्को काम खोज्नु पर्छ मैले अहिलेसम्म ३ ठाउँमा जागिर खाइसकें । दिगो होला जस्तो छैन ।
अमेरिका आउन चाहनेहरुका लागि मेरो सल्लाह यस्तो छ तपाईं के काम गर्न सक्नु हुन्छ ? भौतिक काम गर्नुपर्छ टेबल चेअरमा बसेर कलम चलाउने होईन । के तपाईं तोकेको समयमा काम सक्नु हुन्छ ? हुन्छ भने अनि पढ्न चाहनु हुन्छ भने तपाईंले कम्ती मा १५ घण्टा काम गर्नु पर्छ अनि काम मात्र गर्ने हो भने ८ घण्टा गरे पुग्छ यहाँ समयको मत्लब हुन्छ । अनि दुःख गर्न सक्दिन जस्तो लाग्छ भने गाह्रो हुन्छ ।
अमेरिका आएका धेरैसँग फोनमा कुरा गरें तर कसैले सन्तुष्ट छु भन्दैनन् । अमेरिकामा धेरै दुख गर्‍यो भने पछी सुख भने हुन्छ ।
दिना
शिकागो

Saturday, November 15, 2008

सतासीधामका पण्डितहरु दुइ वर्षदेखि भोकै

पण्डित रेवत गिरी रहरले नभएर बाध्यताले एक छाक मात्र भोजन गर्छन । कहिले त त्यही एक छाक भोजन समेत मिल्दैन् । पानीको भरमा दिन र रात विताउनु पर्छ । एक महिना अघि एकगेडो अन्न नहुदाँ उनले चार दिनसम्म भोकै बस्न परेको थियो ।
उनी जस्तै बिष्णु मातालाई पनि भोकै रात बिताउने बानी परेको छ । खानका लागि अन्न, फलफूल केही नभएपछि भोकै नबसी धरै छैन-उनले भनिन् हामीले धेरै बिहान र रात पानीको भरमा बिताएका छौं ।
गिरी झापा सतासीधाम स्थित धार्मिक क्षेत्रका पुजारी हुन् । उनी त्यहाँको मन्दिरमा मुख्य पुजारीको पदमा आसिन छन् । बिष्णु माता पनि सतासीधाम मै बस्छिन् । यो धाम हिन्दुहरुको प्रमुख तिर्थ स्थल मध्येको एक हो । तर त्यहाँ बस्ने ११ जना साधु, साधुनी र सन्तहरु भोकमरीको शिकार भएका छन् । विगत पच्चीस महिना यता उनीहरुले पेटभरसम्म खान पाएका छैनन् । पर्याप्त र पोषिलो भोजनको अभावमा उनीहरुको स्वास्थ्य दिनप्रतिदिन विँग्रदो छ ।
सतासीधाम क्षेत्रमा उनीहरुको मात्र नभएर त्यहाँका गाईहरुको समेत बिजोग छ । दिनभर जंगलमा चरेर आउने सत्तरी वटा गाईलाई रात परेपछि ओत लाग्ने सम्म ठाउँ छैन् । पुजारी गिरीले भने-दिउँसो समस्या नभएपनि गौशालाको अभावमा गाईले खुला आकासमुनि रात काट्छन् । अहिलेका पाँचवटा दुहुना र तीनका बाच्छा बाच्छी चिसोका कारण बिरामी परेको उनले बताए ।
सतासीधाम क्षेत्रलाई सरकारले धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न एमालेको नौ महिने शासन कालमै काम थालेको थियो । तर त्यो सरकार ढलेपछि काम अघि नबढ्दा त्यहाँको व्यवस्थापन लाथालिङ्ग बनेको हो । उतिबेला गठन भएको सतासीधाम मन्दिर विकास समितिका अध्यक्ष तथा पूर्व सांसद तारा समयङ्या बजेटको अभावमा काम गर्न नसकिएको बताउँछन् । उनले भने- म सांसद हुदाँ सरकार समक्ष गुरु योजना प्रस्तुत गरेको थिए । तर पछि काम गर्न सकिएन् ।
अहिले मन्दिर संचालनका लागि समितिले मासिक आठ सय रुपैयाँ दिने गरेपनि पण्डितहरुको खानपानका लागि सहयोग गर्न नसकेको अध्यक्ष योङ्याले बताए । पण्डित गिरीले त्यहाँ बालाचर्तुदशी र माघे संक्रान्तिमा मात्र भक्तजनको घुँइचो हुने तर अन्य समयमा नगण्य हुने भएकोले दुइ छाक खाने अन्न र भेटी समेत जुट्न गाह्रो हुने गरेको बताए ।
अध्यक्ष योङ्याका अनुसार सधासीधामलाई हिन्दु, किराँत र बुद्ध धर्मालम्बीको संयक्त धामको रुपमा विकास गर्ने लक्ष्य छ । त्यो स्थान महेन्द्र राजमार्गको झिलझिले खण्डबाट तीन किलोमिटर उत्तर चुरे श्रृंखलाको फेदीमा अवस्थित छ । त्यो स्थान भगवान विष्णुलाई शेषनागले शैयाँ दिएको स्थानको रुपमा समेत प्रचलित छ ।

Friday, November 7, 2008

मन्दीरमा सतार पण्डित....बाहुनहरुले पनि सम्मान गर्छन...

कुमार लुइँटेल
झापाको तोपगाछी ८ समयगढ स्थित देवी मन्दीरमा ब्राम्हण जातिका पण्डीत मधुसुधन घिमिरेले संस्कृत भाषामा मन्त्रोचारण गरि भगवति देवीलाई रिझाउँन् पर्छ । उनले देवी भागवतको पाठ गरिरहँदा मन्दीरमा पूजा गर्न आउने भक्तालुलाई संस्कृतमै मन्त्र पढेर टिका र प्रसाद दिने गरेका छन् । करिव ६ घण्टासम्मको पूजापछि घिमिरे पण्डीत मध्यान्न १२ बजे बाहिरीने तयारी गरिरहँदा अर्का पण्डीत मन्दीर छिर्ने तयारीमा हुन्छन् ।
हेर्दा पण्डीतहरु चिल्लो, गोरो र हष्टुष्ट देखिने भएपनी त्यसको विपरित मध्यान्नपछि समयगढको मन्दीरमा देवी पूजा गर्न छिर्ने दोस्रा पण्डीतलाई न संस्कृत आउँछ नत राम्रोसँग नेपाली बोल्न नै । कालो वर्णका उनी घिमिरे पण्डितले नित्य पूजाआजा सकाएपछि धोती, लवेदा र नेपाली टोपीमा ठाँटीएर मन्दीर प्रवेश गर्छन् । र आफ्नै भाषामा मन्त्रोचारण गरि देवीको पूजा पाठमा लाग्छन् । उनी ब्राम्हण र पहाडिया समूदायका नभएर लोपोन्मुख सन्थाल समूदायका पण्डीत हुन् ।
कथित उपल्लो जातिले पानी नचल्ने सन्थालका जातिका ढिना हास्दालाई मन्दीरको पण्डीत बनाए भनेर गाउँमा खासखुस मात्र होइन तनाव नै हुने अवस्था सृजना गरेका थिए । तर बुढापाकाहरुले नै स्थितीलाई समान्य बनाएपछि हास्दालाई सबै समूदायका मानिसले पण्डीतको रुपमा अहिले स्वीकार गरेका छन् ।
ढिना भन्छन्- मलाई देबी मन्दीरको पण्डीतको रुपमा स्वीकार गरेर हाम्रो समूदायको आत्मसम्मानको रक्षा गरिएको छ । ब्राम्हण पण्डीतकै हैसियत पाउँदा सम्मानित महशुस भएको छ । उनका अनुसार सन्थालहरुको विशेष पर्व बाहेक अन्य अवस्थामा पनि उनले मन्दीरमा पूजा गर्ने गरेका छन् । त्यस बापत मन्दीर व्यवस्थापन समितीले थोरबहुत भेटी पनि दिने गरेको छ ।
तोपगाछीमा ऐतिहसिक पृष्ठभूमि भएका सन्थालहरुको कला र संस्कृति नै लोप हुन लागेपछि त्यहाँका पहाडे समूदायको पहलमा मन्दीरका पूजारीका रुपमा स्थानिय ढिना हास्दालाई नियुक्त गरिएको मन्दीर व्यवस्थापन समितीका अध्यक्ष टिका अधिकारीले बताए । वि.स. १९७२ सालसम्म त्यहाँको देवी थानमा सन्थालका महाराजी नाम गरेका पण्डीतले पूजा गर्ने गरेका थिए । तर पछि चलन हराएर उनीहरुको संस्कृति नै लोप हुन लागेपछि हामीले मन्दीर स्थापना गरि दुबै समूदायका पण्डीतले पूजा गर्ने व्यवस्था गरेका हौ-उनले भने । त्यहाँ दशैंको कोजाग्रत पूर्णर्ीमाको दिन सन्थालको संस्कृतिक नृत्य समेत प्रदर्शन गरिने गरेको छ । यस वर्षझापा र मोरङका आठ वटा समूहले नृत्य प्रस्तुत गरेका थिए ।
दलित र आदिवासीलाई मन्दीर प्रवेश मात्र होइन छेउछाउ आउन पनि प्रतिबन्ध गर्ने चलन अहिलेपनि रहेको अवस्थामा त्यही समूदायबाट ब्राम्हण पण्डीतसँगै बसेर मन्दीरमा पूजा गर्ने व्यवस्था गर्नु संस्कृतिक परिर्वतन भएको स्थानिय केदार घिमिरेले बताए । उनी भन्छन्- नेपालका कतिपय भागमा अहिले पनि छुवाछु प्रथा कायमै छ । तर तोपगाछीमा भएको यो काम उदाहरणीय हो ।
ढिनालाई मन्दीरको पण्डीत बनाएपछि झापाका अधिकांश गाविसबाट त्यो समूदायका मानिसहरु पूजा गर्न आउने गरेका छन् । झापामा करिव २६ हजार सन्थालहरुको बसोवास रहेको छ ।



Tuesday, October 21, 2008

परदेश गएर हामीलाई नर्विसनु है

अमरसिंह मगरले सँगैका आफ्ना छिमेकी रुद्र ढकाल अमेरिका बसाँइ जाँदा हँसिलो मुहारमा अंगालो मारेर विदा गरे । त्यस दिन नजिकका अन्य छिमेकी पनि शुभकामना दिन उनको छाप्रोमा भेला भएका थिए । परिवार सदस्य सहित अमेरिका जान लागेको हेर्न र विदा गर्न आउनेको संख्या पनि बाक्लै थियो । अलि मलिन स्वरमा मगरले भने-परदेश गएर हामीलाई नर्विसनु है पत्र चाहिं लेख्दै गर्नु ।
केहि दिन अघि मात्र झापाको दमक स्थित बेलडाँगी २ भुटानी शरणार्थी शिविरबाट रुद्र ढकाल परिवार लिएर अमेरिका उडेका हुन् । त्यही शिविरका एमबी राईलाई विदा गर्न र शुभकामना दिन खडानन्द तिम्सीनाका परिवार नै फूलको गुच्छा लिएर छिमेकीको छाप्रासम्म पुगे । तिम्सीनाले भने-त्यहाँ पुगेर तिम्रो परिवारले यहाँको जस्तो दुःख झेल्न नपरोस । मगरको जवाफ थियो-अब दुखका दिन आउँदैनन् होला भन्ने आशा छ ।केही समय अघिसम्म यी दुवै परिवारबीच बोलचाल मात्र बन्द थिएन् पानी बारावारको अवस्था थियो । भुटान फर्कन चाहने र तेस्रो मुलुक पुनर्वासमा जाने उनीहरुले एक अर्कालाई देखि सहँदैन थिए । कयौ महिनासम्म बन्द भएको बोलचाल आखिर छाप्रो रित्याएर छिमेकी हिड्न लागेपछि त खोल्नै पर्यो नी, मनमा तुष राखेर कस्लाई पो के फाईदा - तिम्सीनाले भने ।दमकको बेलडाँगीमा मात्र नभएर झापा र मोरङका सातै शिविरमा स्वदेश फर्कन चाहने र तेस्रो मुलुक पुनर्वासमा जाने शरणर्थी परिवारबीच चिसिएको सम्बन्ध अहिले आएर सुध्रिएको छ । बेलडाँगी २ का शिविर सचिव गणपती अधिकारी भन्छन्- भुटान वा अमेरिका जाने जो कोहीको विषयमा कसैले केही पनि टिका टिप्पणी गर्न छाडेपछि शिविरका दुई पक्षीय शरणार्थी परिवारबीच चिसिएको सम्बन्धमा सुधार आएको हो । जानेलाई बाटो छ बस्नेलाई माटो छ भन्ने बुझेरै आपसी बैमनस्यतामा कमी आएको हो भन्ने हाम्रो बुझाई छ-उनले भने । तेस्रो मुलुक जाने शरणार्थीलाई धम्की आउने क्रम पनि रोकिएपछि सम्बन्धमा सुधार भएको उनको दाबी छ । यस अघि विभिन्न भूमिगत दलको नाममा तेस्रो मुलुक नजान दबाव दिदैं शरणार्थीलाई धम्की आउने गरेको थियो ।प्रारम्भीक दिनहरुमा पर्ुनवासमा जान इच्छुकहरु अल्पमतमा भएको फाईदा उठाउँदै स्वदेश फिर्ती पक्षधरले हेयको दृष्टिले हेर्ने र तेस्रो मुलुक पुनर्वास पक्षरले पनि स्वदेश फिर्ती पक्षधरसँग सम्बन्ध सुधार नगरेको कारण विवाद भएको अधिकारीले बताए । तर अहिले दुबै पक्षको संख्या बरावर भएकोले कसैबीच विवाद छैन् ।शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोगको पछिल्लो तथ्याँक अनुसार तेस्रो मुलुक पुरनर्वासमा जान ५६ हजार शरणार्थीले आवेदन दिएका छन् । ती मध्ये ५ हजार तेस्रो मुलुक गईसकेका छन् । झापा र मोरङका सातवटै शिविरमा एक लाख ७ हजार भुटानी शरणार्थी बस्दै आएका छन् ।