Monday, June 23, 2014

श्रमिक चोक, जहाँ काम र दामको मात्र कुरा हुन्छ







कुमार  लुइँटेल  

विराटनगर : विराटनगरका विनोद राय बिहान ६ बजे उठ्छन्, चियाखाजा खान्छन् अनि लाग्छन् श्रमिक चोकतर्फ। काम पाइए दिउँसोको छुट्टीमा खाना खान घर आइपुग्छन्, काम नपाइए घर फर्कन्छन्। साथीभाइसँग चेसलुँडो खेल्छन्। विराटनगर सिमानामा पर्ने बुधनगर गाविसका रूपेशकुमार साहको दिनचर्या पनि रायकै जस्तो छ। बिहान उठ्यो। खाजा खायो। साइकल टिप्यो अनि लाग्यो श्रमिक चोकतर्फ। साह भन्छन्, 'न्याय नपाए गोर्खा जानु काम नपाए श्रमिक चोक। यस्तै छ यहाँको चलन' साहसँगै उनको गाउँका दर्जनौ युवा ताँत लागेर साइकल गुडाउँदै हरेक बिहान ७ बजेभित्र विराटनगरस्थित श्रमिक चोकमा भेला भइसकेका हुन्छन्।
यो चोकलाई केही अघिसम्म भूमिप्रशासन चोक भनिन्थ्यो। तर, विराटनगर र छिमेकी गाउँका श्रमिकसमेत भेला हुन थालेपछि नाउँ फेरिएर श्रमिक चोक भयो। यहाँ पहिलोपटक पुग्नेहरूलाई जुलुस नै निकाल्ने तयारी गरिएको हो अथवा केही घटना भएको भन्ने भान हुन्छ। तर, यहाँ निकै सौहार्द्रपूर्ण रूपमा भलाकुसारी भइरहेको हुन्छ। श्रमिक आआफ्नै तालमा कुराकानी र छलफल गरिरहेका हुन्छन्।
काम खोज्ने मात्र हैन लगाउनेहरू पनि हरेक बिहान श्रमिक चोकमा आउँछन। घर निर्माणमा खटिने मजदुर, मिस्त्री, राजमिस्त्री, रङरोगन गर्ने पेन्टर, खेत जोत्ने हली, आली बाँध्ने कामदार, गिटी बालुवा बोक्ने सहयोगी सबै बिहान ९ बजेसम्म यही चोकमा भेटिन्छन्।

Thursday, June 19, 2014

ब्लफ कलको पछि लाग्दा कोठीमा बेचिनुपर्‍यो

कुमार लुइँटेल
विराटनगर : अहिलेको हाइटेक दुँनियामा युवापुस्ता जतिबेला पनि मोबाइलमा झुम्छिन्। मोबाइलले सम्बन्ध र नाता जोडिदिने र टुटाइदिने मात्र होइन, कहिलेकाँही यही मोबाइलले कल्पनै नगरेको जोखिममा जीवनलाई धकेलिदिन्छ।
विराटनगरकी एक युवतीको जीवनमा मोबाइल अभिशाप सावित भएको छ। मोबाइलबाटै संवाद र सम्बन्ध बढाउँदा उनी भारतको वेश्यालयमा बेचिन् पुगिन्। मोबाइलमा आएको ब्लफ कल उठाउँदा उनले सोच्दै नसोचेको दुर्घटनामा जीवनमा बेहोर्नुपरेको छ। भारत नयाँ दिल्लीको चाँदनी चौकस्थित वेश्यालयमा बेचिएकी उनी दिल्लीमै काम गर्ने एकजना नेपाली युवकले उद्धार गरिदिएपछि विक्षिप्त अवस्थामा असार १ गते घर फिरेकी छिन्।
मोबाइलमा आएको 'ब्लफ कल' रिसिभ गरेर सम्बन्ध बढाउँदा ती युवती वेश्यालयमा बेचिन पुगिन्। संखुवासभा स्थायी घरभई विराटनगर १६ बस्ने २१ वर्षीया सविना भण्डारी (नाम परिवर्तित) वेश्यालयमा बेचिएपछि पाँच महिनासम्म 'यौनकर्मी' बन्नु पर्यो। नेपाल प्रहरीले सीमासम्म पुगेर ती युवतीलाई उद्धार गरी विराटनगर ल्याएको हो।

असारे जोताइमा महिलामात्र




बेलबारी (मोरङ) : बिहानै उठ्यो। काँधमा हलोजुवा भि:यो, लाग्यो खेततिर। पहिलो प्रहर खेत जोत्यो। मध्याह्न १ बजे घर फि:यो। ३ नबज्दै फेरि लाग्यो आली लगाउन। साँझ ५ बजे घर आयो। खाना बनायो। छोरी र सासूलाई खानपिन गरायो। पल्टियो ओछ्यानमा।

असार लागेसँगै मोरङ बेलबारी ३ खोरियाबस्तीकी टंकमाया मगरको दिनचर्या यस्तै छ। गाउँभरिको खेत जोताइको चटारो छ उनलाई। धान रोप्ने खेत हिल्याउन किसान तँछाडमँछाड गरिरहेका छन्। टंकमायाले भनिन्, 'अन्यत्र पुरुष खटिए पनि यहाँ भने महिलाले जोत्छन्। गाउँमा हलो जोत्ने पुरुष नै छैनन्।'

पुरुष रोजगारीका लागि विदेश गएपछि खोरियाबस्तीमा हलो जोत्ने काम महिलाले गरेका हुन्। टंकमायाका पति पनि विदेशमै छन्। 'एक दिन जोतेको ६ सय रुपैयाँ लिन्छु', टंकमायाले भनिन्, 'मलाई पतिले नै हलो जोत्न सिकाउनुभएको हो। जोतेर आएको आम्दानीबाट तीन छोरीको पढाइ र घरखर्च जुटेको छ।'

महिलाले हलो जोत्दा अनिकाल र अनिष्ट हुन्छ भन्नेहरू अचेल टंकमायालाई नै बोलाउँछन्। गाउँमा आपत् नै परेकाले जोत्न थालेको बताउँदै उनले भनिन्, 'अरू दुई महिलालाई पनि जोत्न सिकाइदिएकी छु। उनीहरू प्नि असारमा खटिएका छन्।' टंकमायाको समेत गरेर खोरियाबस्तीमा जम्मा तीन हल गोरु मात्र छन्। ती सबै महिलाले जोत्छन्।

Thursday, May 8, 2014

हाडनाता करणी मुद्दामा २४ दिनमै फैसला




जबरजस्ती करणीका मुद्दाहरू नियमित प्रक्रियामा सुनुवाइ गर्दा अन्तिम फैसला हुन कम्तीमा एक वर्ष लाग्छ। तर, मोरङ लेटाङका ३१ वर्षीय लिम्बु थरका पुरुषले ११ वर्षीया चार महिनाकी आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको मुद्दाको फैसला निरन्तर बहस चलाएर छोटो समयमा गरिएको जिल्ला न्यायाधीश ऋषिराम निरौलाले जानकारी दिएका छन्। 'गम्भीर प्रकृतिका यस्ता मुद्दामा निरन्तर बहस गरी सकेसम्म चाँडै न्याय दिइन्छ,'निरौलाले भने,'मोरङमा पहिलो पटक निरन्तर बहस प्रक्रियाबाट छोटो समयमा फैसला भएको यो नै पहिलो मुद्दा हो।'
अदालतले मुद्दाको फैसला ढिलो गर्छ भन्ने सेवाग्राहीमा रहेको बुझाई र हतोत्साहलाई कम गर्न यो फैसला उदाहरण भएको न्यायाधिश निरौलाले बताए। निरौलाले भने,' तर, निरन्तर बहस गरेर यसरी मुद्दाको फैसला गर्न अदालतको मौजुदा जनशक्ति थोरै भएको छ।'

Monday, April 14, 2014

अस्ट्रेलियाको पीआर त्यागेर कृषितिर



कुमार लुइँटेल
मोरङ : ठूलो संख्यामा युवा रोजगारीका लागि विदेश पलायन भइरहेका बेला विराटनगरका एक युवा भने अस्ट्रेलियाको स्थायी बसाइ अनुमति (पीआर) त्यागेर कृषि फार्म सञ्चालनमा रमाएका छन्। ६ वर्षसम्म अस्ट्रेलिया बसेका विराटनगर १५ निवासी सृजन प्याकुरेलले मोरङको टंकीसिनवारीमा कृषि फार्म सञ्चालन गरिरहेका छन्। सोह्र बिघा जग्गा भाडामा लिएर सुरु गरेको फार्ममा माछापोखरी, हाँस, कुखुरा, बाख्रा र गाई पालिएका छन्।
आफूले सञ्चालन गरेको कृषि फार्ममा रहेको माछापोखरी देखाउँदै सृजन प्याकुरेल
उनले यो कार्य गत साउनमा सुरु गरेका हुन्। उनको पोखरीबाट उत्पादन भएका माछाको बिक्रीसमेत सुरु भइसकेको छ। प्याकुरेलले भने, 'आफ्नै देशमा केही गरौं भनेर फर्किएको हुँ। फेरि कृषि क्षेत्र भन्नासाथ नपढेकाहरूले मात्र गर्ने भन्ने मानसिकता भएकोले पनि त्यसलाई चुनौती दिन कृषि रोजेको हुँ।'
प्याकुरेल सन् २००६ मा स्टुडेन्ट भिसामा अस्ट्रेलिया गएका थिए। उनले सन् २००८ मा त्यहाँको युनिभर्सिटी अफ साउथर्न क्विन्सल्यान्ड सिड्नी सेन्टरबाट प्रोफेसनल एकाउन्टिङमा स्नातकोत्तर पूरा गरे। विवाह पनि उतै गरे।

Thursday, April 10, 2014

बहुदल र विराटनगर

कुमार लुइँटेल

बहुदलसँग विराटनगरको आफ्नै साइनो छ। २००७ सालको क्रान्तिदेखि २०४६ को आन्दोलनमा पनि विराटनगरको आफ्नै भूमिका छ। प्रजातान्त्रिक आन्दोलनको इतिहास हेर्ने हो भने विराटनगर सधैं निरंकुशताविरुद्धको एउटा बलका रूपमा जागिरहेको पाइन्छ। राणाशासन फ्याँक्नेदेखि, पञ्चायत ढाल्ने र गणतन्त्रको शंखघोष गर्ने सहर विराटनगर नै हो।
यहाँको आन्दोलनले सधैं नै केन्द्रीय प्रभाव पारेको छ। यस्तै पेरिफेरीमा विराटनगरले २०४६ सालको आन्दोलनको पनि अगुवाइ गरेको थियो। त्यो आन्दोलनले पञ्चायत ढाल्न र बहुदलीय प्रजातन्त्र स्थापना गर्ने नेतृत्वदायी भूमिका खेलेको थियो।
२०४६ सालमा बहुदल प्राप्त गर्ने आन्दोलनको अग्रपंक्तिमा रहेका दलसम्बद्ध विद्यार्थीको संघर्षको अगुवाइ विराटनगरबाटै भएको थियो। विराटनगरमा बहुदल पक्षधर विद्यार्थी संगठनको केन्द्रीय संयुक्त भेलाले जनआन्दोलन थालनी गर्ने उद्घोष गर्‍यो। यो उद्घोषसँगै २०४६ को आन्दोलनले विराटगरमा गति लिन पुग्यो। यद्यपि, तत्कालीन पञ्चायती शासनव्यवस्था बहिष्कार गर्ने दर्बिलो तयारी राजनीतिक दलहरूले पनि गरेका थिए।

Sunday, April 6, 2014

सय वर्षको सहर

कुमार लुइँटेल 

शताब्दी सहर विराटनगर विकास र सम्भावनाको उत्तरआधुनिक पथमा लम्कने तर्खर गर्दै छ। 'समृद्ध, समुन्नत र व्यावसायिक सहर, सुसंस्कृत बालमैत्री हाम्रो नयाँ विराटनगर' नयाँ विराटनगरको पछिल्लो नारा हो यो।
महाभारतकालीन विराट राजाको कर्मभूमि, मुलुक हाँक्ने दिग्गज राजनीतिज्ञ जन्मेको ठाउँ, राणा बहिष्कार आन्दोलनको सुरुवात, पहिलो उद्योग स्थापना र औद्योगिक क्रान्तिको थालनी आदि यस्ता धेरै विषयमा विराटनगरको अगुवाइ रह्यो। २००३ सालको मजदुर आन्दोलन विराटनगरबाटै उठ्यो।
ऊ बेलाको त्यो आन्दोलनको अगुवाइ गर्ने बीपी, तारिणी, गिरिजाप्रसाद कोइराला थिए। पिताजी कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई 'फाटेको घेरो नभएको टोपी' पठाएर गरेको सांकेतिक विरोध देखेका कोइरालाहरू तिनै पिताजीले दिएको सुसंस्कारमा हुर्किएका थिए। पछि पिताजीका तीनभाइ छोरा मुलुकको प्रधानमन्त्री बने। संगतका मनमोहन अधिकारी पनि नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बने।
'हिङ नभए नि हिङ बाँधेको टालो' भने झैं अंशबन्डा हुँदा 'एेतिहासिक कोइराला निवास' अहिले शेखर कोइरालाको भागमा परेको छ।
गिरिजाप्रसाद कोइरालाका समकालीन तोरेन्द्रमानसिंह प्रधान विराटनगरको राजनीतिक वैभव अहिले पनि कम नभएको बताउँछन्। 'खासगरी कोइराला परिवारको योगदानले अहिले पनि विराटनगर पुलकित छ', उनले भने।
मनमोहन अधिकारीका उत्तराधिकारीका रूपमा एमालेका मोरङे नेताहरूले पनि मन्त्री पद पाएकै छन्। 'राजनीतिको यो निरन्तरता र नयाँ पुस्ताको पार्टीभित्र र सत्तामा भएको पकडलाई राजनीतिको पुस्ता हस्तान्तरण मान्न सकिन्छ', प्रधान भन्छन्, 'कोइराला परिवारबाट सुरु भएको विराटनगरको नयाँ राजनीतिमा नयाँ विरासत बन्दै छ।'