कुमार लुइँटेल
विराटनगर : चार पदमा शिक्षकका १७ वटा पेसागत संघसंगठनले भाग मागेपछि मोरङमा जिल्ला शिक्षा समिति नै गठन हुनसकेको छैन। पेसागत संगठनहरूबाट को प्रतिनिधि हुने भन्नेमा अन्योल भएकाले पनि समिति गठन हुन विलम्ब भइरहेको छ।
समिति गठन गर्न जिल्ला शिक्षा कार्यालय मोरङले असार महिनायता मात्रै आठवटा बैठक गरिसकेको छ। तर समितिमा रहने शिक्षकतर्फका चारजना सदस्यमा सबै संगठनले भाग मागेको जिल्ला शिक्षा अधिकारी राजकुमार थापाले बताए। उनले भने, 'असारमा म आएदेखि आठवटा बैठक गरिसकें तर सबैले पद मागेपछि समिति गठन नै भएको छैन।'
कार्यालयले मंसिर महिनायता समिति गठन गर्न प्रयास गरिरहेको छ। समितिका एकजना सदस्य नेपाल शिक्षक युनियनका अध्यक्ष पितकुमार श्रेष्ठले उमेर हदबन्दीका कारण अवकाश पाएका छन्। मोरङमा युनियन अधिवेशनसमेत भएको छैन। त्यो संगठनबाट नयाँ नेतृत्व चयन नहुँदा शिक्षा समितिमा जाने सदस्यबारे अन्योल छ। दुई महिलासहित बाँकी चारवटा पदमा शिक्षकका संघसंगठनले आआफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।


