Wednesday, July 1, 2015

मेसिनले जोत्यो खेत, मेसिनले नै रोप्यो धान

कुमार लुइँटेल
विराटनगर :  गोरुले जोतेर खेत जोत्ने र मानिसले खेत रोप्ने भन्दा पनि झापा, मोरङ र सुनसरीमा मेसिनले जोत्ने र मेसिनबाटै धान रोपाई गर्न थालिएको  छ । कृषिमा आधुनिकीकरण अभियान चलाउने क्रमसँगै असार पन्ध्र र धान दिवसलाई सन्दर्भ पारेर मेसिनले रोपाई थालिएको हो ।
सुनसरीको तनमुना, भलुवा र झुम्का, मोरङको विराटनगर तथा झापाको महारानीझोडामा मेसिनबाट धान रोपिएको हो । आधुनिक र कृषि यान्त्रीकरण अभियान अन्तर्गत विभिन्न कृषि सहकारी संस्थाको पहलमा सामूहिक खेतीको अवधारणाअनुसार मेसिनले धान रोप्न सुरु गरिएको हो । कतिपय किसानले व्यक्तिगत रुपमा पनि मेसिनले धान रोप्न थालेका छन् । धेरै किसानले मेसिन प्रयोग गरेर धान रोप्ने खेत जोतेर तयार गरेका छन् ।

Saturday, June 13, 2015

सर्वसाधारणलाई सास्ती, सरकारीलाई मस्ती


कुमार लुइँटेल

विराटनगर ः महाभूकम्पपछि सरकारले असार मशान्तसम्म घर तथा भवन निर्माणको काम रोक्न निर्देशन दिदैं अवज्ञा गरे कडा कार्वाही हुने चेतावनी दिएको छ ।

यस्तो निर्देशनपछि घर बनाउँदै गरेका कतिपय सर्वसाधारणले काम नै रोकेका छन् । घर बनाउने योजना बुन्दै गरेकाहरु पनि असार मसान्त सकिने अवधि कुरेर बसेका छन् । तर, सरकारको यो नियम सर्वसाधारण र निजी क्षेत्रलाई मात्र लागू भएको छ । उ मातहतकै निकायले भने निर्देशनको अवज्ञा गरिरहेका छन् । विराटनगरमा सरकारी भवन निर्माणको काम रोकिएको छैन् बरु धमाधम भवनहरु ढलाई भइरहेका छन् । सर्वसाधारण र नगरबासीको निर्माण रोक्न उपमहानगरपालिकाले अनुगमनलाई तिव्रता दिएको छ । तर, सरकारी कार्यालयका भवनहरुको काममा निर्देशन पालना भएको छैन् । 

भूकम्पपछि भवन निर्माण रोक्ने सरकारी निर्देशन

विराटनगरमा  निर्माणाधीन घरेल तथा साना उद्योग कार्यालको भवन
उपमहानगरका इन्जिनियर भरत न्यौपानेले भने,‘असार मसान्तसम्म एकतलेभन्दा ठूला घर बनाउन नदिने सरकारी निर्देशन नै छ । हामीलाई ठूला घर बन्दैछन् भन्ने जानकारी आएपछि अनुगमन गरी निर्माणमा रोक लगाइदिएका हों ।’ महाभूकम्पपछि अनुमति नलिई बनाउँदै गरेका र अनुमतिभन्दा बढी निर्माण हुँदै गरेका भवनको अनुगमन वडा सचिवस्तरबाट पनि भइरहेको छ । असारसम्म सम्पूर्ण निर्माण कार्य रोक्ने सरकारी निर्देशनअनुसार नै काम हुने इन्जिनियर न्यौपाने बताउँछन् । तर, सरकारी भवनको काम भने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको जिम्मा भएको उनले बताए ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले विराटनगरमा घरेलु तथा साना उद्योग कार्यालय, निर्वाचन कार्यालय, नापी कार्यालय र बाल सुधार गृहका दुई तल्लेभन्दा अग्ला घर धमाधम निर्माण गरिरहेको छ । सुनसरीको धरानमा पुर्नस्थापना केन्द्र, जिल्ला प्रशासन कार्यालय, सहकारी डिभिजन कार्यालय र दुईवटा हेल्थपोष्टका भवन डिभिजन कार्यालयबाटै निर्माण भइरहेको छ । ती सबै भवन अर्ढा तला र सोभन्दा अग्ला हुन् । भवनको लागत १ करोडदेखि ५ करोड रुपैयाँसम्म छ ।

सरकारी भवन निर्माणमा सरकारी निर्देशनको किन पालना भएन ? भन्ने जिज्ञासामा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका सूचना अधिकृत पूर्णराज कार्की भन्छन्,‘सरकारी भवनहरु सबै मापदण्ड पूरा गरेर बनिरहेका छन् । इन्जिनियरले पूर्णत अनुगमन गर्दै बनाउँदै गरेकाले काम नरोकिएको हो ।’ निजी घर तथा भवनहरु इन्जिनियरको अनुगमनबिना बन्ने गरेकोले पनि सरकारले रोक लगाएको उनले तर्क गरे । सरकारी भवन निर्माणका कुनै कमजोरी नरहेकोले निर्देशनअनुसार गर्नुपर्ने भन्ने नरहेको कार्की तर्क गर्छन् । तर, विराटनगर उपमहानगरपालिकाका इन्जिनियर भरत न्यौपाने भने सरकारी निर्देशन सर्वसाधारण र निजी क्षेत्रको लागि मात्रै नभएर सरकारी निकायलाई पनि भएको बताउँदै भने,‘निर्देशन सर्वसाधारणलाई लाग्ने सरकारी निकायलाई नलाग्ने भन्ने हुन्न । सरकारी भवनको काम गर्ने निकाय डिभिजन कार्यालय नै हो । उ नै जिम्मेवार हुनुपर्छ ।’

Friday, June 12, 2015

गरिबलाई सुई छैन अस्पतालमा सड्दै...!!

कुमार लुइँटेल
विराटनगर ः कोशी अञ्चल अस्पतालको ओपीडी शाखामा ठूलाठूला कार्टुन भण्डारण गरेर थन्काइए झैं देखिन्छन् । अस्पतालको दोस्रो तल्लामा पुग्ने जोकोहीको ध्यान एकपटक ती कार्टुनले खिच्छन् । धेरैलाई जिज्ञासा पनि हुन्छ आखिर ती कार्टुनभित्र के रहेछन् भन्ने । परबाट हेर्दा हार मिलाएर राखे झैं देखिएपनि कार्टुनका मुख खुलेका छन् । अव्यवस्थित छन् । भित्रका सामान छरपस्ट हुन थालेका छन् । तर, यसको संरक्षण र प्रयोगमा अस्पतालले चासो दिएको पाइँदैन् ।

विराटनगर उपमहानगरपालिकाको स्वामित्वमा रहेको वीरेन्द्र सभागृहमा पनि लगभग यस्तै दृश्य देखिन्छ । सभागृहको भुइँतल्लामा असरल्ल कार्टुन छरिएका छन् । काटुर्नका मुख खूल्न थालेका छन् । त्यसभित्रका वस्तु बाहिर छरिएको देखिन्छ । दैनिकजसो कार्यक्रम हुने यो सभागृहमा पुग्ने धेरैले ती कार्टुनबारे जिज्ञासा राख्ने गरेका छन् । तर, यसको संरक्षणमा उपमहानगर र सभागृहका कर्मचारीले ध्यान दिएका छैनन् । ती कार्टुनभित्रका वस्तु प्रयोग हुने नहुनेबारे अन्योल छ ।

Sunday, June 7, 2015

गर्मीले झन् सकस

विराटनगर ः एक्कासि बढेको गर्मीले विराटनगरको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि उखुम गर्मी हुन सुरु भएपछि बजारमा समेत चहल पहल पातलिएको  छ । मानिसहरु शितल खोज्न छहारीको भर पर्न थालेका छन् । विद्यालय तथा कलेजमा दिउँसोको सट्टा बिहानी शत्रका कक्षा सञ्चालन गरिएको छ ।
कतिपय पसलहरु साँझमा मात्र सञ्चालनमा आउन थालेका छन् । गर्मीले बजारमा किनमेल गर्न आउने मानिसहरुको संख्या पनि घटेको छ

हावापानी कार्यालय विराटनगरका अनुसार बुधबार विराटनगरको तापक्रम मध्यान्न न्यूनतम २७ दशमलब ४ र अधिकतम ३४ दशमलब ४ पुगेको थियो । कार्यालयकी कर्मचारी पुनम दाहालले भनिन्,‘केही दिनयता तुलनात्मक रुपमा तापक्रम बढ्दै गएको छ ।’ तापक्रम भदौसम्म बढ्दै जाने उनले बताइन् ।

Thursday, June 4, 2015

रमपमलाई तीन, क्वालिटीलाई चार मुद्दा.....!!

कुमार लुइँटेल

विराटनगर ः न्यून गुणस्तरको खाद्यान्न उत्पादन गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने पूर्वका विभिन्न उद्योगविरुद्ध छत्तिसवटा मुद्दा चलाइएको छ । रमपम चाउचाउलाई तीन र क्वालिटी विस्कुटलाई एक वर्षमा चारवटा मुद्दा चलाइएको छ । 
बजारमा नाम चलेका ब्रान्डका खाद्यान्न उत्पादन गर्ने ठूला उद्योगका उत्पादनसमेत गुणस्तरहीन भएको पत्ता लागेपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कार्वाहीका लागि कानुनी प्रक्रिया अघि बढाएको हो ।
कार्यालयका प्रमुख प्रमोद कोइरालाले भने,‘नाम चलेकै उद्योगका उत्पादन न्यून गुणस्तरको पाइएपछि कार्वाहीका लागि मुद्दा चलाइएको हो ।’ ती उद्योगले उत्पादित वस्तुको गुणस्तर कायम गर्न नसकेको र उपभोक्ताको स्वास्थ्यमाथि नै खेलबाड गरेको पाइएपछि पूर्वका सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको कोइरालाले जानकारी दिएका छन् ।
कार्यालयले विभिन्न समयमा खाद्यान्न वस्तुको नमूना संकलन गरेर क्षेत्रीय प्रयोगशालामा गुणस्तर परीक्षण गरेको थियो । चालू आर्थिक वर्षमा ती उद्योगलाई मुद्दा चलाइएको हो ।
See the table
 एक वर्षको अवधिमा चाउचाउ उत्पादक एशियन थाई फुड्सलाई तीन र क्वालिटी विस्कुटलाई चारवटा मुद्दा दायर गरिएको  छ । केएल दुगड समूहको तेल उद्योगलाई पनि मुद्दा चलाइएको  छ ।

परीक्षणबाट पत्ता लागेपछि मुद्दा चलाइएको हो ।’ कार्यालयले विराटनगरसहित सुनसरी–मोरङ आद्योगिक करिडोरका उद्योगले उत्पादन गर्ने खाद्यवस्तु तथा तेलको गुणस्तरबारे अनुगमन र प्रयोगशाला परीक्षणमा कडाई गरेको छ । चालू आर्थिक वर्षमा कार्यालयले खाद्यवस्तुको गुणस्तर परीक्षणमा विशेष ध्यान दिएको कोइरालाले बताएका छन् ।

Thursday, May 28, 2015

श्रीमानको औंला किन काटियो भन्दा श्रीमतीको पनि जागिर चट् ....!!

कुमार लुइँटेल
विराटनगर : विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार गराउँदा एकजना बिरामीले जानकारीबिनै आफ्नो खुट्टाको दुई वटा औंला गुमाउनु परेको आरोप लगाएका छन्।
विराटनगर¬– ८ का विरेन्द्र झाले चिकित्सकको लापरवाहीका कारण आफूले खुट्टाका दुई वटा औंला गुमाउनु परेको बताएका छन् । उनले भने,‘दुर्घटनामा परेपछि उपचारका लागि अस्पताल गएको थिए । मलाई जानकारी नै नदिई चिकित्सकले औंला काटिएदिए ।
अस्पतालले आफ्नो औंला काटिदिएको विषयमा पत्रकार सम्मेलन गरी जानकारी गराउँदै विराटनगरका विरेन्द्र झा । - See more at: http://annapurnapost.com/News.aspx/story/12378#sthash.rO05AMYJ.dpuf
विराटनगरमा बुधबार झाका परिवारले सामाजिक संघसंस्थाको पहलमा गरेको पत्रकार सम्मेलनमा उनले भने,‘तीन पटक अप्रेसन गरे पछि बुझ्दा स्पाइनलका डाक्टरले मेरो अप्रेसन गरेछन् । दुई वटा औंला नै काटेर फ्याँकिदिए ।’ उपचारमा संलग्न चिकित्सकले डा. सरोज कर्णले आफूलाई जानकारी नै नदिई देब्रे खुटटको दुई वटा औंला काटिदिएको झाको आरोप छ ।

Wednesday, May 27, 2015

कालोबाजारी आरोपित व्यापारी रातारात रिहा

कुमार लुइँटेल
विराटनगर : भूकम्प पीडितको नाममा त्रिपालमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका विराटनगरका दुई व्यापारी रातारात छुटेका छन् । सोमबार अबेरसम्म जिल्ला प्रशासन कार्यालय मोरङमा भएको इजलासबाट उनीहरु धरौटीमा छुटेका हुन् ।
भन्सार छुटको त्रिपाल आयात गरी अत्याधिक मुनाफा खाई कालोबजारी गरेको आरोपमा गत बिहीबार अम्बिका बस्त्रालयका प्रदीप अग्रवाल र परनामी इन्टरप्राइजेजका जितेन्द्र सेठिया पक्राउ परेका थिए । अग्रवाल १५ लाख र सेठिया ११ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । प्रहरीले कालो बजारी तथा सामाजिक अपराध ऐन २०६३ बमोजिम उनीहरुलाई मुद्दा चलाएको थियो । दुबैले बैंक ग्यारेन्टीको कागजात पेश गरेर राति छुटेका हुन् । उनीहरुलाई बयान गराउन प्रहरीले साढे ४ बजे जिल्ला प्रशासन कार्यालय लगेको थियो । मोरङ प्रहरीका डिएसपी प्रभुप्रसाद ढकालले भने,‘उताबाट ल्याउनु भन्ने खबर आएपछि हामीले साढे ४ बजे दुबै व्यापारीलाई प्रशासनको इजलासतर्फ लगेका हौं ।’
कानुन व्यवसायीले यो मुद्दामा ५ घन्टा बहस गरेका थिए । तर, मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भने दुबै व्यापारीलाई प्रहरीले अबेर गरी हाजिर गराएकोले बहस अबेरसम्म चलेको बताए । उनले भने,‘बिगोअनुसार हामीले अत्याधिक धरौटी माग गरेका छौं । ‘रुल अफ ल’लाई हेर्ने हो भने धरौटीको यो रकम बढी नै हो ।’ प्रजिअ कार्कीका अनुसार यो मुद्दामा बिगोअनुसार जरिवाना, पाँच वर्ष कैद वा दुबै सजाय हुने प्रावधान छ ।