Thursday, January 1, 2009

मौरीले ल्यायो पैसैपैसा

झापा सतासीधामकी धनमाया थापा अन्य गृहिणी जस्तै बाल वच्चालाई खाना बनाउने, खुवाउने र विद्यालय पठाउने काम गर्छिन् । वस्तु भाउको ख्याल गर्नु र घर गृहस्थी चलाउनु पनि दैनिकी भित्रै पर्छ । गाउँको बसाइँ छ मेलापात पनि नगरी धरै छैन् । बचेको समय छरछिमेक र आफन्तलाई पनि दिनै पर्यो ।
यी र यस्तै घरका खुद्रे काममा दिन बिताउने उनी आयआर्जनको काममा नलाग्दा समय बर्वाद भएर बित्दै थियो । काम गरेपनि त्यो कामको दाम भने मिल्दैन थियो । लर्याङ लुरुङ गर्यो दिन काट्यो यस्तै थियो दिनचर्या । तर यस्तो अवस्था धेरै समय रहेन । हिजो आजको उनको व्यस्तता बुझ्ने जो कोही इर्ष्याले जिव्रो टोक्छन् । उनले भनिन-चुलोको मात्र काम गर्नु पर्ने, निस्सासिए जस्तै भएको थियो । तर अहिले सबै काम गर्न भ्याइ नभ्याई हुन्छ ।
घरधन्दामा मात्रै सिमित उनी आफैं आय आर्जन गरि धेरथोर कमाउन सक्ने भएकी छन् । भन्नेले उनलाई राम्रो मात्र भन्न थालेका छन् । धनमया भन्छिन्- मेरो अहिलेको दैनिकी फेरिएको छ । चुल्हो चौकोसँगै पैसा कमाई हुने काम पनि गर्न सक्ने भएँ ।
सतासीधाम ७ दुधे की देवी दहाल पनि हिजो आज सरसापटमा भर पर्दिनन् । जे चाहिए पनि आफ्नै कमाईबाट पुगेकै छ । उनले भनिन-समूह मिलेर ५८ घर परिवारका महिलाले मौरी पालन व्यवसाय थालेका थियौं । राम्रै पो हुदैं छ ।
उनको समूहले पालेको २२ घार मौरीले यस वर्ष १ हजार ८ सय ५० केजी मह उत्पादन गरेको छ । जसमध्ये प्रति केजी ४ सयका दरले १ हजार ३ सय ५० केजी बिक्री भइसकेको छ । उत्पादन भएको महको परिमाण लागत र मेहनतका आधारमा नाफा बाँडफाँड गर्न पनि पुगेको उनीहरु बताउँछन् ।
गाउँका दश वटा समूहले १ सय २० घार मौरी पालेका र आफ्नो खर्च कटाएर मासिक १० हजार सम्म कमाई हुने गरेको देवी बताउँछिन् ।
स्थानिय सतासी महिला कृषि सहकारी संस्थाले व्यवसाय संचालनका लागि सहयोग गरेपछि नै महिलाले यस्तो उपलब्धि पाएका हुन् । संस्थाको पहलमा उनीहरुले मौरी पालनलाई व्यवस्थित र व्यवसायिक बनाउन सतासी मौरी पालन महिला समुह गठन गरेको संस्थाले जनाएको छ ।
एक्लैले भन्दा समूहले व्यवसाय गर्दा सफलता मिल्ने गरेको ती महिलाको अनुभव छ । सतासीधाममा मौरी पालन र मैनबती उत्पादनमा महिला सकृयता बढाउन नेपाल ग्रामीण पूनर्निर्माण संस्था (आरआरएन) ले पटक पटक गरी ३ लाख २० हजार आर्थिक सहयोग सहयोग गरेको संस्थाका झापा संयोजक बसन्तलक्ष्मी उदास बताउछिन् । उनले भनिन- महिलाहरु आत्मनिर्भर बनाउन सक्षम भएका छौं ।

Tuesday, December 30, 2008

आसको बास

आईते टुडुको गत वर्ष चैतभरि घरमा गासबास थिएन । झापा गौरीगन्ज ४ भवानीपुरका साथीसंगी बटुल्यो, ढोल बोक्यो हिड्यो सन्थाल नाच देखाउन । खानपान हुने गाउँ पनि घुमिने । यस्तै दिनचर्या थियो उनी र उनका छर छिमेकको पनि । त्यतिका समय नाच नाच्दा उनीहरुले बदलामा न पारिश्रमिक लिए नत ज्याला नै ।
एक टुक्रो जग्गा पाउने आशमा राजनीतिक दलका चुनावी कार्यक्रममा हिंडेका उनी र उनी जस्तै सीमान्तकृत सन्थालहरु आफ्नै जग्गामा बस्न पाइनेमा ढुक्क थिए । तर उनीहरुले जग्गा त पाएनन् नै दिलाई दिन्छु भन्ने नेताको पनि चालचुल हरायो । नेतै हराएपछि उनीहरुले जग्गा पाउने असामा बसेका उनीहरुलाई हिस्स बुढी हरिया दाँत झै भएको छ । यहि कारण सीमान्कृत यी सन्थालले नराम्रोसँग चित्त पनि दुखाएका छन् ।

संविधान सभाको निर्वाचनमा काँग्रेस, माओवादी र एमाले सबैका कार्यक्रममा उनीहरुले नाच देखाएका थिए । झापा क्षेत्र नं ६ र ७ का सबै चुनावी कार्यक्रममा हिंडेका उनीहरुलाई सबैले जोतभोग गरेकै ऐलानी जग्गा नामसारी गरिदिने आश्वासन दिएका थिए ।
नेताले जग्गा दिने भनेकोले नै हामी ठाउँ ठाउँमा नाच देखाउन गएका थियौं ,तर खै हाम्रो पिर कसैले बुझिदिएन् - टुडुले भने उतिवेला दैनिक घरमा आएर नाच्न हिंड भन्नेहरु पनि गाउ“मा देखिएका छैनन् ।
पश्चिम दक्षिण झापाको क्षेत्र नं ६ र ७ मा त्यसवेला दलहरुले चुनावी प्रचारका लागि विभिन्न सभाहरु गरेका थिए । ती सभामा टुडुको नेतृत्वमा सन्थालहरुको एउटा समूह परम्परागत सन्थाल नाच नाच्दै हिडेंको थियो । हुन त टुडु आफ्नो टोलको मन्जीहडाम (मुखिया) भएकोले पनि सबैलाई जग्गा दिलाई दिन आफ्नै नेतृत्वमा टोली लिएर हिड्न परेका बताउ“छन् । अहिले मलाई गाउँलेले सोध्ने प्रश्नको जवाफ दिदां दिंदा हैरानी भएको छ - उनले भने सबैले कहिले जग्गा हाम्रो नाम गरिदिन्छन् भनेर सोध्छन् म के भनेर जवाफ दिनु । यद्धपि टुडुपनि सुकुम्वासी हुन उनको नाममा एक चप्परी जग्गा पनि छैन ।
दलहरुले सीमान्तकृत सन्थाल समूदायका मानिसलाई गौरीगन्ज ४ मा रहेका ऐलानी जग्गा नामसारी गरिदिने आश्वासन दिएको समूहका अर्का सदस्य बुद्धिलाल म’र्मुले बताए । अहिले पनि त्यही ठाउँमा बसेका छौं, एउटाको कार्यक्रममा गएर नाचियो अर्कोले रिस नगरोस भनेर अर्काकोमा पनि नाचियो तर खै गर्न चै कसैले केही गरेनन् । बोलाए जति सबैकहा पुग्दा पनि जग्गा भने दिएनन् - मुर्मुले भने ।
गौरीगन्जबाट मात्र नभएर बैगुन्धुरा, लखनपुर, कोरोवारी र महाभारबाट पनि दलका सभामा नाच्न सन्थालहरु आउने गरेका थिए । कोरोवारी ४ आमगाछीका लखिराम मुर्मुले बोलाएजति सबैको कार्यक्रममा गएको बताए । हामी गरिव छौं, मालिकहरुले भनेको मान्नै पर्यो यसपटक जग्गा पाए बालवच्चाको भविष्य सुध्रने थियो भन्ने आशाले काम छाडेर नाच्ने हिडेका थियौं - लखिरामले गुनासो गरे ।

झापाका दक्षिणी भेगमा रहेका धेरै सन्थालसँग आफ्नो जग्गा छैन् । अधिकांश ऐलानी जग्गाम बस्दै आएका छन् । गरिवीको कारण पिछडिएका यो समूदायक कतिपय राम्रोसँग नेपाली बोल्न र बुझ्न समेत सक्दैनन् । झापामा रहेका २६ हजारमध्ये धेरै यसअघि भारततर्फ पलायन भएका थिए ।



Tuesday, December 23, 2008

शरणार्थी शिविरमै प्रजातन्त्रको अभ्यास, भुटानमा कसरी भयो थाहा छैन

सायद प्रजातन्त्रमा यसरी नै भोट हालिन्छ होला, यसरी नै आफूँले रुचाएका प्रतिनिधि पनि चुनिन्छन् होला - झापा दमक स्थित बेलडाँगी शिविरका भुटानी शरणार्थी वृद्ध नरबहादुर कार्कीले मत खसाल्दै भने - तर हामीले आफ्नै मुलुकमा स्वतन्त्रताको अनुभव गर्न पाएनौं मत हाल्नु त परको कुरा हो । मंगलवार शिविर व्यवस्थापन समितिको निर्वाचनमा मताधिकार प्रयोग गर्न स्थानिय ग्रीनभ्याली विद्यालय पुगेका उनले आफ्नो धोको भुटान फर्केर मताधिकार प्रयोग गर्नु हो भने ।
प्रजातन्त्र र स्वतन्त्रताको संग्राममा लाग्दा सर्वस्व गुमाएका उनी ज्यान बचाउनैका खातिर सत्र वर्षअघि भुटानी शरणार्थीको रुपमा नेपाल आएका हुन् । पुनर्वासको रन्कोले शिविर तातेपनि उनलाई यो प्रस्तावले छोएको सम्म छैन् । तर आफ्नो देशमा निर्वाचन भएको सुनेका उनले निर्वाचन कसरी कुन प्रकृयाबाट गरिन्छ भन्ने चाहिं नेपाल आएर शिविरमै जानेका हुन् ।
उनी जस्तै सोही शिविर बस्ने मुना अधिकारीले मताधिकार प्रयोग गरेको पाँचपटक भई सक्यो । सानैमा नेपाल अएकी उनी यतै पढिन् बढिन् । जान्ने बुझ्ने भएपछि हरेक बर्ष शिविरमा हुने व्यवस्थापन समितिको चुनावमा उनले भाग लिदैं आएकी छन् । उनी भन्छिन्- भुटानमा नपाएपनि प्रजातन्त्रको अभ्यास र स्वतन्त्रताको अनुभव गर्न पनि यहाँ हुने चुनावमा भाग लिने गरेकी छु । तर भुटानमा यसअघि भएको चुनाव कसरी भयो भन्ने आफूँलाई थाहा नभएको उनले बताइन् ।
झापाका चारवटा भुटानी शरणार्थी शिविरमा शिविर व्यवस्थापन समितिको चुनावमा भाग लिन मंगलवार हज्जारौं शरणार्थीको घुइँचो मतदान केन्द्रहरुमा देखियो । बेलडाँगी १, २ , ३ र गोलधाप शिविरमा चुनावको चहलपहले शिविरको वातावरण नै भिन्न बनेको थियो । कतिपय गृहिणीहरु सबेरै खाना बनाएर मत खसाल्नका लागि मतदान केन्द्रसम्म पुगेका थिए । सुरक्षा प्रबन्ध पनि उचित तवरले मिलाइएको थियो । दाता निकायका पर्यवेक्षक खटिएका थिए । संचारकर्मी पनि चुनावको अनुगमनमा शिविर पुगे ।
बेलडाँगी १ मा मतदान अधिकृतको रुपमा खटिएकी शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोगकी स्थानिय प्रतिनिधि रोशना अधिकारीले भनिन-सबै प्रकृया पूरा गरेका छौं । व्यवस्थापन पनि उचित तवरले भएको छ । मंगलवार ती चारै शिविरहरुबाट व्यवस्थापन समिति चयन गर्नका लागि बेलडाँगीबाट ३ सय ३६ र गोलधापबाट ६४ प्रतिनिधि छानिएका छन् । उनीहरु बीचबाटै शिविर सचिव र अन्य पदाधिकारीको चयन हुने छ ।
मत खसाल्न आएका श्रवण भट्टर्राईले शिविरमा हुने चुनावले महत्व राख्ने बताउँदै भने-हामीलाई आफूँहरु प्रजातन्त्रका हिमायती हौं भन्ने झक्झकाउन यो चुनावले भूमिका खेल्ने गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र दहालले बाँकी तीनवटा शिविरमा भने भोलि चुनाव हुने र त्यसको सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।
दाता निकायको काममा सघाउन शरणार्थी शिविरहरुमा एक एक वर्षमा शिविर व्यवस्थापन समितिको चुनाव हुने गरेको छ । यस्तो चुनावले शरणार्थी समूदायमा आत्मसम्मानको बोध हुने गरेको उनीहरु बताउँछन् ।






Monday, December 22, 2008

गरे के हुँदैन र !!!

दमक १ की ४३ वर्षिया निरमाया पुलामीले यस वर्षो सर्वोत्कृष्ट राष्ट्रिय घरेलु उद्यमी पुरस्कार पाईन् । उनको मेहनतको कदर गर्दै सरकारले उनलाई सम्मान गर्यो । तर यस अघि नै समाजमा अव्वल दर्जाकी महिलाको उपमा पाएकी उनले हात पारेका दर्जनौ पुरस्कार र सम्मानको फेहरिस्त भने लामो छ । निरमाया भन्छिन्- राम्रो र सफल कामको सम्मान हुने रहेछ । मैले मेहनत नगरेको भए म आजको यो अवस्थासम्म आउने थिइन् ।
विस २०५२ सालमा एउटा ढाका तान राखेर टोपी बुन्न शुरु गर्दा यत्तिनै छोटो अवधिमा सफलता हात मिल्ला भन्ने निरमायालाई पटक्कै थिएन् रे । उनले भनिन-श्रीमान, परिवार र छोराछोरीको सहयोगले गर्दा नै मैले सफलता पाएकी हुँ । दमक १ स्थित आफ्नो घरमा उत्पादन गरेको ढाकाका समान अहिले युरोपियन र अमेरिकी बजारसम्म पनि निर्यात हुन थालेपछि उनमा काम गर्ने जाँगर अझ बढेको छ ।
हाल ४५ वटा तान राखेर संचालित पुलामीको प्रवीण ढाका टोपी उद्योगले आफ्नो व्यापार नेपालका सबै प्रमुख सहरी क्षेत्रसम्म फैलाएको छ । दमक नजिकका बजारमा पाइने टोपी, साढी, मफलर, टाई, झोला जस्ता ढाकाका सामान पुलामी कै उद्योगमां उत्पादन हुन्छन् । यस बाहेक काठमाण्डौं, भैरहवा, पोखरा, बुटवल,नेपालगन्ज, विराटनगर, धरान, इटहरी, विर्तामोडपनि दमकमा उत्पादन हुने ढाकाको राम्रा बजार हुन् ।
दुई छोरी र एक छोराकी आमा निरमायाले श्रीमानबाट व्यवसाय संचालन गर्न राम्रो सहयोग भएको बताइन । बैंकका जागिरे श्रीमान, जागिरे कान्छी छोरीले मात्र अहिले उनलाई समय दिन भ्याएका छैनन् । जेठी छोरीको विवाह भइसकेकोले उनी आफ्नै घरजममा व्यस्त छिन् । छोरा प्रविणले भने आमालाई दिनरात सघाउँदै आएका छन् । प्लस टु सकेका उनी आमाले शुरु गरेको व्यवसायलाई नै निरन्तरता दिने र विस्तार गर्ने पक्षमा छन् । भन्छन्-आमाले शुरु गरेको कामबाटै जीविकोपार्जन गर्ने सोचाई छ । उनले नेपालका विभिन्न स्थानमा हुने व्यापार मेलामा आफ्नो उद्योगको प्रतिनिधित्व गर्दै आमा सँगै स्टल लिएर जाने गरेका छन् ।
निरमायाको उद्योगमा अहिले ४५ जना युवतीले रोजगारी पाएका छन् । करारमा काम गर्ने ती युवतीले मासिक तीन हजार रुपैयाँसम्म पारिश्रमीक पाउँछन् । कपडा उत्पादनको परिमाण हेरेर पारिश्रमीक दिने गरेको निरमाया बताउँ छिन् । उनी अहिले पनि आफैं उद्योगमा गई तानमा बसेर कपडा बुन्न व्यस्त हिच्कीच मान्दिनन् ।
ढाका उत्पादन गर्न चाहिने धागो भारत, काठमाण्डौ र धरानबाट ल्याउने गरिएको छ । एउटा तानबाट एक जना श्रमिकले दैनिक एक मिटर कपडा उत्पाद गर्न सक्छन् । यस्को उत्पादन लागत श्रम खर्च सहित ३ सय रुपैयाँ पर्छ । विक्री गर्दा कपडाको गुणस्तर हेरि एक पिसमा चार पाँच सयसम्म नाफा हुने गरेको छ ।
करिव २० हजारको पूँजीबाट शुरु गरेको व्यवासय अहिले ५० लाख रुपैयाँ भन्दा धेरै पुग्नु मेहनतकै प्रतिफल भएको बताउने पुलामीले ढाकाको बजार भने क्रमश खस्कदै गएको गुनासो गरिन । उनले भनिन-सरकारले साना व्यवसायीको हितका लागि पनि ध्यान दिनपर्ने भएको छ । नेपालमा उत्पादित ढाका दलाल नलगाई सोझै बाहिर पठाउने व्यवस्था हुनपर्दछ । त्यसो त दमक क्षेत्रमा ६ जना महिलाले घरमा तान राखेर ढाका टोपी बुन्ने गरेका भएपनि उनीहरुले व्यवसायका रुपमा पेशा अंगाल्न सकेका छैनन् ।

Friday, December 12, 2008

भुटानी सँग विवाह गर्ने नेपाली ले अमेरिका जान नपाउने

सुनिता भुजेलका परिवार पुनर्वासमा जान ठिक्क परेका छन् । उनले जान पाउने नपाउने ठेगान छैन् । जाने इच्छा छ तर मेरो प्रकृया अघि बढेको छैन् । दिएनन् भने नानी लिएर यतै बस्छु श्रीमानलाई भने पठाउन पर्ला-उनले भनिन् ।भुटानी पुरुषसँग विवाह गरेकी शिविर बाहिर पाखाकी यी युवती जस्तै भुटानी चिकित्सक खेम अधिकारी पनि रनभुल्लमा छन् । पाखाकी केटीसँग विवाह गरेका उनकी श्रीमतीले पनि पुनर्वासमा जान नपाउने भएकी छन् । आफूँसँगै श्रीमती जान नपाउने भएपछि परिवार नै विखण्डन होला भन्ने पिरमा छन् उनी ।झापा र मोरङस्थित विभिन्न सात शिविरमा बस्दै आएका तर शिविर बाहिरका गैह्र भुटानी युवती सँग विवाह गरेकालाई पुनर्वासको कार्यक्रम कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तो भएको छ । यही विवाह पुनर्वासमा जान तगारो बन्ने हो की भन्नेमा उनीहरु चिन्तीत बनेका छन् ।
अधिकारी भन्छन्- अमेरिका जान भनेर विवाह गरेको होइन । यो कार्यक्रम शुरु हुनुभन्दा पहिल्यै हाम्रो विवाह भएको हो । उनले एक दशकअघि शिविर बाहिरकी युवतीसँग विवाह गरेको बताए ।अठार वर्षसँगै बसेका भुटानी र नेपालीहरु एकआपसमा घुलमिल भएका छन् । कतिपयले त जीवन नै सँगै विताउने वाचा कसम खाँदै विवाहबारी समेत गरेका छन् । शिविरहरुमा यो संख्या उल्लेख्य रहेको छ । भाषा र संस्कृति मिलेपनि पुनर्वासमा गैह्र भुटानीलाई लग्ने नलग्ने भन्ने अन्योलका कारण समस्या भएको छ ।गोलधाप शिविरका धरणीधर नेपाल द्धिविधाका कारण कसो होला भन्ने अन्योल रहेको बताउँछन् । उनले भने- अब आफूँ मात्रै गएर श्रीमती छाड्ने कुरा पनि भएन् ।शिविर बाहिरका युवतीलाइ शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोगले शरणार्थी मान्यता दिदैंन । उनीहरुले शिविरमा रहँदा पनि खाधान्न लगायत राहत पाउँदैनन् । बाहिरका केटासँग विवाह गर्ने भुटानी युवतीको अवस्था पनि उस्तै रहेको नेपाल बताउँछन् ।बेलडाँगी १ शिविर सचिव टिआर गुरुङ नेपाली युवतीसँग विवाह गरेका युवालाई यतै पुनर्स्थापित गर्ने धुनमा दाता निकायहरु रहेको दाबी गर्छन । उनले भने-यहि कारण बाहिरका युवतीलाई के गर्ने भनेर स्पष्ट पार्ने काम भएको छैन् । शरणार्थी आयोगले पुनर्वास गैह्रभुटानीलाई गराउने कार्यक्रम नभएको स्पष्ट पार्दै आएको गुरुङ बताउँछन् ।शरणार्थी जीवनबाट थाकेकाकाहरुका लागि अवसरको रुपमा पुनर्वास कार्यक्रम आएको भएपनि ग्रैह्र भुटानी विवाह गर्नेका लागि भने समस्या भएको छ ।नेपाल सरकार गृह मन्त्रालयबाट शरणार्थी परिचय पत्र वितरण गर्न खटिएको टोलीका सम्पर्क अधिकृत बसन्तराज पुरी यस्ता केसहरुको अभिलेख राख्ने क्याम्प राख्ने क्रम शुरु भईसकेको बताउँछन् । उनले भने-यस्ता जोडीलाई तत्काललाई पुनर्वासमा जान गाह्रो पर्ला तर नोट अफ कर्न्सनको सूचिमा रहेका उनीहरुको पनि प्रकृया अघि बढाईने भन्ने जानकारी आएको छ । नेपाल सरकारले तिनको प्रोसेस सुरु गर्न अनुमति समेत दिईसकेको पुरीले जानकारी दिए ।उनले भने-प्रोसेस शुरु भयो भने उनीहरुले पनि श्रीमानसँगै जान पाउँछन् । यसका लागि नेपाल सरकारले बहिर्गमन अनुमति दिन्छ । अहिले युएनएचसीआरको प्राथमिकतामा नपरेकालाई पुनर्वासमा जान रोकिएको पनि उनले खुलासा गरे । भारतिय विहा गर्नेले चाहिं पासपोर्ट बनाउन पर्ने छ । तर उनीहरुको पुनर्वास कहिले हुने भन्ने ठेगान नभएको उनले बताए ।यसैबीच शरणार्थीको पुनर्वास शुरु भएको पछिल्लो दश महिनाको अवधिमा सातहजार ६ सय ६१ जना भुटानी शरणार्थी तेस्रो मुलुक पुगेका छन् ।पुनर्वासमा जान तीन हजार दुइ सय जना बहिर्गमन अनुमति लिएर प्रतिक्षामा सूचिमा छन् । गएका मध्ये सबैभन्दा धेरै सात हजार ९० जना अमेरिका पुगेका छन् ।तेस्रो मुलकुमा पुनर्स्थापित हुन शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोगमा निवेदन दिने शरणार्थीको संख्या ६३ हजार नाघि सकेका छ ।

द्धन्द पीडितको चित्कार : छोरा पर्ढाई देउ

झापा दमक ५ दुम्सेका गजेन्द्र राईलाई २०६२ साल अलच्छिना सावित भयो । चैत ३१ गते घरमा आगो लाग्यो । जायजेथा डढेर खरानी भयो । भएका सामान केही झिक्न पाएनन् । आङका लुगा मात्र बाँकी थियो । काखको छोरो च्यापेर घर डढेर बाँकी रहेको खरानी हेर्नु सिवाय उनीसँग अर्को विकल्प थिएन् ।
गजेन्द्रले घर डढेको पिर भुल्न पाएकै थिएनन् । चार दिन पछि माओवादी र सुरक्षाकर्मीको क्रस फायरमा परि श्रीमती रेनुका घाईते भईन् । अपरान्ह स्थानिय पीपीरे चौकमा दुई पक्षबीच गोली हानाहान भएको थियो । त्यो घटनामा रेनुकाको दायाँ कोखामा लागेको गोली बाँयाबाट निस्कियो । घाइते उनी १४ महिना ओछ्यान परिन् । शरीरको तल्लो भाग चल्न छाडेपछि त्यत्तिका महिना थलिएर उनको मृत्यु भयो । क्रसफायरमा एक जना सुरक्षाकर्मीको घटना भएकै ठाउँमा ज्यान गएको थियो । माओवादीले शसस्त्र प्रहरी बल पाथिभरा गणबाट खटिएको प्रहरीको टोलीलाई गोली हाने दोहोरो झडप भएको थियो ।
गोली लागेकी आफ्नी श्रीमतीको उपचारमा सबै सम्पत्ती गुमाएका गजेन्द्र अहिले घरको न घाटको भएका छन् । श्रीमतीको उपचारमा माओवादी र राज्यपक्ष कसैले उतिबेला त चासो दिएनन् नै तर अहिले पनि कसैले सान्त्वना सम्म नदिएको उनको गुनासो छ । गजेन्द्र भन्छन-द्धन्दको समयमा मैले सबै चिज गुमाए तर मलाई राज्य र माओवादी कुनै पक्षले सहयोग गरेनन् । श्रीमतीको उपचार गर्न भएको घडेरी बिक्री गरे । अहिले भएको एउटा छोरो लाई पढाउन र भरणपोषण गर्न पनि समस्या छ ।
उपचार गर्न लागे मध्ये एक लाख पचास हजार ऋण अहिले पनि तिर्न नसकेको उनले बताए ।उनी भन्छन्- माओवादी नै अहिले सरकारमा भएको अवस्थामा मेरो छोरासम्मलाई पढाईदिने व्यवस्था गरिदिए हुने थियो । माओवादीका नेताले भेट्न आएर आश्वासन दिएपनि थप केही नगरेको उनले गुनासो गरेका छन् । केही दिन पहिले पनि झापा ७ का माओवादी सभासदले भेटेर आर्थिक सहयोग गर्ने आश्वासन दिएको उनले बताएका छन् ।
राई आफूँ समस्यामा परेकोले छोराको पढाई खर्च र ऋण तिर्ने रकम राज्यबाट पाउने आशामा रहेको बताउँछन् ।

Sunday, December 7, 2008

खाँटी भुटानीपनि अमेरिका तिर

भीम भण्डारी दुई, तीन वा चार नम्वरका नभई खाँटी भुटानी हुन् । उनी र उनको परिवारलाई नेपाल र भुटानले यस्तो दर्जामा राखेको हो । एक नम्वरमा परेकाहरु भुटानले घर फर्काउन सहमति जनाएका शरणार्थीहरु हुन् । तर दिन वित्यो, हप्ता वित्यो, महिना वित्यो, अनि वर्ष पनि । उनलाई न नेपालले अब घर फर्क भन्यो नत भुटानले नै बोलायो । अन्तत आजित भएका भण्डारीले परिवारै लिएर अमेरिका पो जानुपर्यो ।
नेपाल र भुटानका अधिकारीहरु सम्मिलित संयुक्त टोलीको प्रमाणीकरणमा भण्डारीको परिवार एक नम्वर अर्थात खाँटी भुटानीको सूचिमा परेको हो । तर स्वदेश फर्कने संभावना शुन्यप्राय देखेपछि खुदुनावारी शिविरका उनी ७ जनाको परिवार लिएर अमेरिकाको भर्जिनियामा बसाँइ सरेका छन् । उनका माइला भाइ भक्ती ४ जना परिवार सदस्य सहित उनीसँगै छन् । दुई दाजुभाइ र परिवार एक महिना अघि मात्र अमेरिका गएका हुन् ।
साईला भाई मोहन भण्डारी पनि छोरा छोरी सहित अमेरिका उड्न अन्तिम प्रकृयामा छन् । उनले पुनर्वासको लागि गर्नुपर्ने सबै काम पूरा गरिसकेको बताए । खुदुनावारी वर्गीकरणका खाँटी भुटानीहरु वर्षौं बित्दा पनि स्वदेश फर्कने संभावना नै नदेखेपछि अमेरिका जान शुरु गरेका छन् । भण्डारीहरुको दुई परिवार नै शिविरबाट तेस्रो मुलुक जाने पहिलो परिवार हो । एक नम्वर सोही शिविरका भक्तराज गुरुङका छोराहरुले पनि अमेरिका जान आइओएम समक्ष निवेदन दिइसकेका छन् ।
झापा र मोरङका सातवटा शिविर मध्ये खुदुनावारीमा २६ मार्च २००१ मा प्रमाणीकरण थालिएको थियो । त्यो प्रमाणीकरण १४ डिसेम्वरमा सकिएको थियो । प्रमाणीकरणको नतिजा अनुसार भुटानी शरणार्थीलाई चार वर्गमा विभाजन गरिएको छ । जसमध्ये २ सय ९३ जना खाँटी भुटानी, ८ हजार ५ सय ९५ जना बसाँइ सरी गएका, २ हजार ९ सय ४८ जना गैर भुटानी र ३ सय ४७ जना आर्तककारी गतिविधिमा संलग्नको सूचिमा परेका थिए ।
भ्ाण्डारी परिवारमात्रै नभएर सन् २००१ मा नेपाल र भुटानका अधिकारीहरुको संयुक्त टोलीले प्रमाणीकरण गरेका खाँटी भुटानीहरु पनि नैराश्यताका कारण अमेरिका पुर्नवासमा जान शुरु गरेका छन् । खुदुनावारी शिविर सचिव प्रवीणा गुरुङले छोरा छोरीको भविष्य प्रति चिन्तित बावुआमाले पुनर्वासमा जान रुचाएको बताईन् । उनले भनिन-खाँटी भनेर शिविरमा कोचिएर बसी के गर्ने देश फर्कने कहिले हो कहिले टुंगो छैन् । उनका अनुसार त्यो शिविरबाट २ सय ३३ जना शरणार्थी तेस्रो मुलुक गई सकेका छन् ।
भक्तराज गुरुङले घर फर्कने सूचिमा परेकोले फर्कन पाइएला भनेर धेरै समयसम्म मौन बसेको बताए । सात वर्ष कुरे तर त्यो दिन आएन्-उनको दुखेसो छ । अमेरिका पुग्नले जीवन राम्रै गरि चलिरहेको भन्ने खवर गरेपछि छोराहरुलाई जान इजाजत दिएको बताउने उनले चार मध्ये माइलो र साइलो छोरालाई पुनर्वासमा जान निवेदन गर्न इजाजत दिएको बताए ।
पुनर्वासमा कार्यरत आप्रवास सम्बन्धि अन्तराष्ट्रिय संगठन (आइओएम) ले गत वर्ष मार्च महिनाबाट पुनर्वास शुरु गरेको हो । हालसम्म ७ हजार २ सय ९७ जना भुटानी शरणार्थी अमेरिका सहित सात मुलुकमा पुनर्स्थापित भईसकेका छन् ।