Sunday, June 28, 2009

बाढी रोक्न बाँसको किला


महाभारा झापा, नदी कटान नियन्त्रण गर्न झापाको महाभाराका स्थानियावसीले खोलामा बासँ गाड्ने नयाँ विधि अपनाएका छन् । यो विधिबाट बाढीको पानीको बहाव कम गर्ने अभियान सफल भएको छ । एक दशक देखि स्थानिय कन्काईमाई र बनियानी नदीको बाढीबाट पीडित त्यहाँका बासिन्दाले महाभारा ४ स्थित बालुबाडी टोलको कटान रोक्न नदीमा तटबन्ध गरिएको छेउमै बाँसको किला गाडी बाहाव कम गर्ने उपाय लगाएका हुन् । बनियानी नदी नियन्त्रण उपभोक्ता समितीका सचिव लिला सुब्बाले बाढीको बहाव रोक्ने यो विधि प्रभावकारी बनेको बताए । उनले भने- यस अघि यस्तो प्रयोग भएको थिएन् । तर यसपटक तटबन्ध बाँधिएको बाँध मुन्तीर खोलमा बाँसका किला गाडेका हौं । सरकारले तटबन्ध निमार्ण गर्न दिएको बजेटको केही रकम खर्चगरी २ हजार ५ सय घना बाँस किनेर किला गाडिएको बताए । खोलामा बासँका किला गाडिएपछि बाँध भत्कने खतरा समेत घटेको छ- उनले भने । तार जालिको जत्तिको काम नगरेपनि वर्खामा अस्थाई नियन्त्रणका लागि भने राम्रो काम गर्ने रहेछ । बालुवाडी टोल नजिकै बनाइएको बाँधमा ४ हजारको हाराहारीमा किला गाडिएको निमार्ण समितीले जनाएको छ । महाभारा ५ को होक्लावाडी टोल हरेक वर्ष बर्षायाममा टापुमा परिणत हुने गरेको छ । स्थानिय डिल्लीराम लिम्बुले सरकारले अहिलेसम्म गरेका नदी नियन्त्रणका प्रयासहरु अपेक्षित रुपमा सफल बन्न नसक्दा स्थानियवासीले सास्ती खेप्न परेको गुनासो गरे । उनले भने-हरेक वर्ष आउने बाढीले गाउँ टापु बनाउँछ हामी ज्यान पातमा राखेर बस्न बाध्य छौं । यसपट जिल्ला विकास समिती झापा कोरोवारी र महाभारा गाविसले बालुवाडी टोलमा एक सय मिटर क्षेत्रमा बनियानी र कन्काईको बहाव फर्काउन पाँच लाख रुपैयाँ बजेट छुट्याएको थियो । निमार्ण उपभोक्ता समितीका अध्यक्ष गोपी तामाङले भने- स्काभेटर लगाएर खोलो सोझ्याउने काम भएको छ । यस पटक बाँसको किला पनि गाडेका छौ कम क्षति हुने विश्वास छ । दक्षिणी पश्चिमी झापाको महाभारा र कोरोवारी गाविस हुन् । ती गाविसमा एक दशक यता सात सय परिवार बाढीकै कारण अन्यत्र बसाई सरेको महाभारा गाविसका पूर्वअध्यक्ष विजय अग्रवालले भने- अझै क्षति हुने क्रम नरोकिएकोले बाढी नियन्त्रणकालागि सरकारले चासो दिन आवश्यक छ । ती गाविसमा बाढीको जोखिम कम गर्न यस अघि गरिएका कतिपय प्रयास विफल बनेको उनले बताए ।

Saturday, June 27, 2009

रेडपाण्डा जोगाउन सीमामा नौलो प्रयोग

सन्दकपुर,इलाम चोरी सिकारी रोक्न प्रशासनले संरक्षित वन क्षेत्रमा सर्वसाधारणलाई िहंडडुल र प्रवेश गर्न निशेध गर्ने नियम हुन्छ । कतिपय अवस्थामा राष्ट्रिय निकुंज वा बन्यजन्तु आरक्षमा नाकाबन्दी पनि लगाईन्छ । सुरक्षाकर्मी गौंडा गौंडामा परिचालित भई अहोरात्र गस्तीपनि गर्दछन् । प्रशासनका तर्फबाट हरसंभव प्रयास हुन्छ । तर इलामको सन्दकपुरसँग सीमा जोडिएको भारतको दार्जिलिङ जिल्ला स्थित िसंहलिला राष्ट्रिय निकुन्जमा यस्ता समस्या कमै छन् । नत त्यहाँ जंगली जनावारको चोरीसिकारी हुन्छ न रुखहरु नै ढालेर तस्करी गरिन्छ । चोरी सिकारी गर्ने मानिस छैनन यो क्षेत्रमा । अधिकांशको जीवन पर्यटन व्यवसायकै भरमा चलेको छ । तर निकुंजले भने तीन महिनाकालागि संरक्षित क्षेत्रमा एक्लै दुक्लै िहंड्न वा समूहमा होहल्ला गर्न समेत प्रतिबन्ध लगाइदिएको छ । रुख ढालेको भेट्टाए गोली हान्ने सम्मको अधिकार पाएका छन् सुरक्षाकर्मीले । जंगली जनावर जिस्काउने पनि सजायको भागि हुन सक्छन् । वनक्षेत्रमा होहल्ला गरेको पाईए प्रहरीले समातेर तुरुङमा पनि िठंगुर्याउन सक्छन्-राष्ट्रिय निकुन्जको दक्षिणी कार्यालय गैरीवासका रेन्जर निमेष तामाङले भने-यी तीन महिना रेड पाण्डाको संसर्ग गर्ने समय भएकोले उनीहरुलाई डिस्टर्व नहोस भनेर यस्तो नियम लगाईएको हो । यो नियम जुन जुलाई र अगष्ट महिना भरका लागि हो । त्यसपछि खुल्ला हुन्छ । सन्दकपुर र आसपासको क्षेत्र बाह्रैकाल पर्यटकको घूइँचो भईरहने ठाउँ हो । भारतिय नेपाली र पश्चिमा पर्यटकको यहाँ सधैं जसो भींडभांड हुन्छ । तर वर्षको यी तीन महिनामा नै रेडपाण्डाले संसर्ग गरि गर्भाधान गर्ने समय भएकोले यस क्षेत्रमा पर्यटक र बाहियाहरुलाई आउन प्रतिबन्ध लगाउन परेको रेन्जर तामाङले स्पष्ट गरे । उनका अनुसार लजालु स्वभावको लोपोन्मुख विरालो प्रजातिको यो जनावर मानिसको चहलपहल देखे वा होहल्ला भए संसर्ग गर्दैन । उनले भने-अरु बेलापनि मानिसको नजिक आउन लजाउने भएकोले यो तीन महिनाको बि्रडिङ समयमा राज्य सरकारकै निर्देशन अनुसार पर्यटक आउन र घुम्न समेत प्रतिबन्ध गरिएको हो । गौरीवास रेन्जपोष्टका अनुसार िसंहलिला नेशनल पार्कमा ५२ वटा रेडपाण्डा पछिल्लो पटक गणना भएको थियो । भारत सरकारले यो संख्या बढाउन पार्क क्षेत्रमा कडाई गरेको हो । भारत तर्फ रॆडपाण्डाको संख्या बढाउन त्यहाँको सरकारले नयाँ नियम लगाएको भएपनी सीमा वारी नेपालमा भने केही अपेक्षित प्रयास हुन सकेको छैन् । जिल्ला विकास समिती इलामले रेडपाण्डाको अवस्था बुझ्नेसम्मको काम शुरु गरेको छ । योजना अधिकृत अग्नी अधिकारीले भने- हामीले रेडपाण्डा पाईने नेपाल तर्फका सामुदायिक वनका पदाधिकारीलाई रेडपाण्डा बचाउने अभियानमा सहभागि गराउन चेतना दिलाउने सम्मका काम गरिरहेका छौं । इलामका पर्यटन व्यवसायी धर्म गौतमले नेपाल तर्फको वन मािसंदा यताका रेडपाण्डापनि भारतकै जंगल तर्फ भाग्ने गरेको बताए । उनले भने-यताका रेडपाण्डा यतै रोक्ने हो भने सामुदायिक वनका पदाधिकारी र स्थानियवासी सचेत हुन आवश्यक छ ।

Thursday, June 18, 2009

म वेहोस भएपछि दिसा कोच्याएछन् ।

गाउँका दुई जना आइमाईलाई देउता चड्यो रे भन्ने खवर फैलिएपछि म पनि हेर्न गएँ । गाउँका चिने जानेका सबै तमासा हेर्दै थिए । म पनि एउटा कुनामा उभिएर उनीहरु काँपेको हेरिरहेकी थिएँ -अन्जीरा महतोले मंगलवार उनकै घर पुगेका पत्रकारहरुसँग भनिन त्यसपछि एक्कासी यहा छिए डायन ठोक भनेर पुस्ता शर्माले भनिन उनीहरु काँपेको हेरिरहेकाहरु मतिर खनिए सबैले पिट्न थाले म बेहोस भएपछि मुखमा दिसा कोचेछन् ।ू झापाको गौरीगन्जमा बोक्सीको आरोपमा यातना पाएर विक्षिप्त बनेकी ५० वर्षिया अन्जीराको ढाडमा निलडाम छन् । राम्ररी उठबस गर्न समेत अफ्ठेरो हुन्छ उनलाई । पिटाईको चोटका कारण उनी मुश्किलले उठेर मुढामा बस्छिन् । तर शरिर थेग्न भने अझै समस्या छ । ूदुखाईको कारण बाहिर फेर गर्न समेत गाह्रो भएको छ ूउनले भनिनूमैले कुनै गल्ती नगर्दापनि सारा गाउँले मिलेर मलाई चुटे । १५ दिन अघि स्थानिय राधा गिरीको मृत्युको कारण अन्जीरा भएको भन्दै गाउँले मरणासन्न हुने गरी कुटपिट गर्दै आईतवार राती दिसा खुवाएको उनले बताईन् । -तन्त्रमन्त्र गर्ने तैं होइन्स भन्दै मलाई कुटे तर मेरो केही दोष छैन् मलाई त्यस्तॊ केही आउँदैन् ।  सामान्य खेतीकिसानी गरेर जीवन धान्दै आएकी उनले संचारकर्मी समक्ष आफूँ निर्दोष भएको बताउँदै अनायसमा आफूँलाई शारिरीक र मानसिक यातना दिइएको गुनासो गरिन् । म निर्दोषलाई बोक्सी भन्नेहरुलाई कार्वाही हुनु पर्छ-अन्जीराले भनिन-कित म बोक्सी भएको प्रमाणीत गर्नु पर्छ । उनलाई रातभर डोरीले बाँधेर अपशब्द प्रयोग गर्दै लाठीले कुटपिट गरेको भन्ने जाहेरी परेको इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरिक्षक मानबहादुर राईले बताए । उनले भने-घटनाका आरोपित १२ जनालाई पक्राउ गरि अनुषन्धान गरिरहेका छौं । छोरा शत्रुधनले आफ्नी बृद्ध आमालाई गरिएको दुरव्यवहारबाट आफूँहरु विक्षिप्त भएको बताए । उनले भने-यो बुढेसकालमा आमालाई यस्तो पीडा दिए । प्रहरीले कुलबहादुर चौधरी बल्लु चौधरी रामबहादुर गिरी पार्वती शर्मा पूस्ता शर्मा पुरन चौधरी राजकुमार शर्मा पुरन चौधरी रामआशिष शर्मा संजय कोच खतिम साह छिरिकलाल राजवंशी र जितु कोचलाई पक्राउ गरेको छ ।

Thursday, June 4, 2009

छिमेकीलाई पशु उपहार

झापा शनिश्चरेकी हरिमाया चौहानका घरमा पशुचौपाय थिएनन् । उनलाई पशु पाल्ने रहर भने थियो । केही अघि छिमेकीले समूहबाट पाएको पशु चौपाया पाकाछन् रे भन्ने उनले सुनेकी थिईन् । तर गाउँमा यसपटक भएको एउटा कार्यक्रममा छिमेकीले बोलाएर उनका हातमा बख्राका पाठा हात लगाईदिए । उनले भनिन-समूहले गरेको कार्यक्रममा बोलाएर मलाई पाठा पो दिएर पठाए । सोही ठाउँकी तुलसा उप्रेती अहिले आफूँले गरेको मेहनत र जीवनमा आएको परिर्वतनको बारेमा अरुलाई सुनाउने गर्छिन । भन्छिन्- मलाई समूहले दिएको चौपाया हुर्काए र त्यसबाट जन्मेको सन्तान छिमेकीलाई दिएँ । शनिश्चरेकी यी महिलाले समूह मार्फत तीन वर्ष अघि पाएको चौपायाका सन्तान भने छिमेककी आफूँ जस्तै महिलालाई दिएकी हुन् । शनिश्चरेमा यसपटक दिदी समूहले बहिनी समूहलाई गाईका बाच्छा भैंसीका पाडा र बोका पाठा दिएका हुन् । तीन वर्ष अघि उनीहरुले माउ सहयोग स्वरुप हेफर इन्टरनेशनल नेपाल नामको एउटा अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाको सहयोगमा पाएकी थिइन् । संस्थाका प्रतिनिधिले उतिवेलै समूहका सदस्यलाई आफूँले पाएको वस्तुभाउबाट हुने आम्दानी बचाएर छिमेकका अन्य सदस्यलाई दिनुपर्ने कबोल गराएका थिए । यस्तो कार्यक्रम नेपालका विभिन्न ३८ वटा जिल्लामा संचालनमा रहेको संस्थाले जनाएको छ । महिला संसक्तिकरण र गरिवी निवारणका लागि ल्याइएको कार्यक्रम प्रभावकारी बन्दै गएको संस्थाले दाबी गरेको छ । महिलाहरुको लागि पशु उपहार कार्यक्रम ग्रामीण भेगमा सकारात्मक प्रभाव परेको बताउँदै शनिश्चरेको जलेश्वर स्वाबलम्वन समाजका अध्यक्ष प्रल्हाद सापकोटाले भने-यो कार्यक्रमले पशुपालन प्रति ग्रामीण महिलाहरुको आकर्षण बढ्नुका साथै उनीहरु निकै उत्साहित पनि देखिएका छन् । अन्य कार्यक्रम भन्दा पृथक ढंगले अढि ल्याइएकोले पनि कार्यक्रम प्रभावकारी बनेको उनको दाबी छ । हेफरको साझेदार झापा खुदुनावारी स्थित अभियान नेपाल नामक संस्थाका अध्यक्ष प्रेम गिरीले झापामा संचालित कार्यक्रमको सकारात्मक प्रभाव परेको बताउँदै भने-छरछिमेकमा सहयोग गर्नु पर्छ भन्ने भावनाको पनि विकास भएको छ । उनी भन्छन्- आयमुलक कामलाई बेवास्ता गर्ने महिलाहरु पनि पशुपालन गरेर धेरथोर आम्दानी गर्न थालेका छन् ।

Wednesday, May 27, 2009

भुटान फर्कन फाराम भर्दै शरणार्थी

दमक घर फर्कन चाहने भुटानी शरणार्थीले झापा र मोरङका सातै शिविरमा फाराम भर्ने अभियान चलाएका छन् । आफ्ना मान्छेहरुको तेस्रो मुलुक पुर्नवास भए झैं आफूँहरुलाई पनि भुटान लगिनु पर्ने माग राख्दै केही गैह्रराजनीतिक संगठनले झापा र मोरङका सातै शिविरमा यस्तो अभियान चलाएका हुन् । बाईस दिन अघि यस्तो अभियान चलाईएपछि हालसम्म सातै शिविरका ९ सय १६ परिवारका करिव ८ हजार भुटानी शरणार्थीले फाराम भरेका छन् । चारवटा भुटानी संगठनहरु भुटान मानव अधिकार सगठनह्युरोब ज्येष्ठ नागरिक समाज भुटानी शरणार्थी स्वदेश फिर्ती कार्यक्रम व्यवस्थापन परिषद र भुटान गार्खा राष्ट्रिय मुक्ती मोर्चाको संयुक्त पहलमा अभियान शुरु भएको हो । यस्तो अभियान चलाईपछि घर फिर्न चाहने भुटानी शिविरमा फारम भर्न भींड लाग्न थालेको छ । बेलडाँगी शिविरमा फाराम भर्न आएका दिलमान मगरले अरुहरुलाई तेस्रो मुलुक लगिए जसरी नै स्वदेश फर्काउनु पर्ने माग राखेर फाराम भराउन शुरु गरिएकोले आफूले पनि परिवार सहित सबैको नाम लेखाएको बताए । उनले भने-यस पटक फाराम भराएरै युएनएचसआर र अरुलाई पनि दिने भनेकाले फाराम भरेको हुँ । यस पटक भुटान फर्काउँछन् भन्ने लागेको छ । अभियानको नेतृत्व गरिरहेको ज्येष्ठ नागरिक समाजका संयोजक हर्कजंग सुब्बाले भने-४० देखि ५० हजार जनाले फाराम भर्ने हाम्रो अपेक्षा छ । भरिएका फाराम शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोग नेपाल भारत भुटान सरकार अन्तराष्ट्रिय कुटनीतिक नियोग र अन्तराष्ट्रिय मानव अधिकारवादी संगठनलाई पनि दिन्छौ । उनले तेस्रो मुलुक पुर्नवासमा शरणार्थीलाई आफ्नो देशमा बस्न इजाजत दिएका कोअर ग्रुपका अमेरिका सहित सातवटा मुलुकलाई पनि शरणार्थीले भरेका फाराम बुझाईने बताए । फाराम भर्ने कार्य आउँदो दुई महिनासम्म चल्ने छ । भुटानी शरणार्थी स्वदेश फिर्ती कार्यक्रम व्यवस्थापन परिषदका उपाध्यक्ष डिल्लीराम घोरसाईले फाराममा भुटानमा रहँदाका सबै विवरण प्रस्तुत गरिएको छ । बस्दै आएको स्थान भुटानी भएको प्रमाणीक आधार स्पष्ट हुने कागजातको विवरण परिवारको अवस्था आदि उल्लेख गरिएको बताए । उनले भने-तेस्रो मुलुक पुर्नवास गरिए झै भुटान जान चाहनेलाई भुटान फर्काउन अन्तराष्ट्रि पक्षले काम थाल्न आग्रह गर्न अभियान चलाएका हौं । एक वर्ष अघि पुर्नवास शुरु भएपछि सातै शिविरबाट हालसम्म १४ हजार भन्दा बढी शरणार्थीहरु तेस्र्रो मुलुक पुनस्र्थापना भइसकेका छन् । पुर्नवासपछि मृतप्राय रहेको स्वदेश फिर्तीको मागलाई यो कार्यक्रमले थप उर्जा दिने भुटान पिपुल्स पार्टीका प्रवक्ता गोपाल गुरुङले बताए । सनव् १९९६ को अपिल मुझमेण्ट दर त्यसपछि दर्जनौ पटक चालिएका स्वदेश फिर्तीका स्वेच्छीक अभिायनमा भारतले पटक पटक मेची पुलमा गरेको अवरोधका कारण शरणार्थीको स्वदेश फिर्ती कार्यक्रम नै प्रभावित बनेको थियो । ती अभिायनमा संलग्न दर्जनौ नेता समेत पुर्नवास शुरु भएसगै तेस्रो मुलुक पुगीसकेका छन् ।

Saturday, May 23, 2009

जेठानीका सन्तान पाउन देउरानी गर्भवती

प्रमिला गर्भवती छिन् । अघिका चारजना सन्तान हुर्किसेका छन् । ३२ वर्ष उकालो लागेकी उनलाई सन्तानको इच्छापनि छैन् । तर यसपटक भने उनले आफ्नालागि नभएर जेठानीकालागि गर्भ बोक्नु परेको छ । भन्छिन-विवाह भएको धेरै वर्ष वित्यो । दिदीका सन्तान भएनन् । परिवारकै सहमतीमा नयाँ सन्तान पाएर दिदीलाई दिन यो जोखिम मोल्दै छु । परिवारको निर्णयलाई उनका श्रीमानलेपनि स्वीकार गरेका छन् । प्रमीलाले भनिन-उहाँलेपनि निर्णय मानेर सन्तान जन्माएर दिदीलाई दिन सहमत हुनु भयो । मेरै श्रीमानको सात महिनाको गर्भ मेरो पेटमा हुर्किरहेको छ । झापा गौरादहको सन्थाल वस्तीकी यी महिलाले अबको तीन महिनापछि नवजात शिशु जन्माएर सालनाल सहित आफ्नी जेठानीलाई दिनेछिन् । छोरा वा छोरी जे भएपनि त्यस्को सम्पूर्ण भरणपोषणको जिम्मा जेठानीले नै बोक्नु पर्ने छ । जन्मने सन्तानले आमा भनेर जेठानीलाई नै बोलाउने छन् । सन्तान कस्ले जन्माएको हो भनेर परिवारले ती सन्तानलाई जीवन भर सुनाउने छैनन् । यो गोप्यता भंग गर्ने टोलका जोकोहीपनि सजायको भागिदार हुने चलन सन्थाल टोलमा लगाइएको छ । सोही टोलकी अनिताले भनिन-गाउँमा यसरी देउरानीले जन्माएर जेठानीलाई दिएका सन्तान धेरै छन् । तर यो गोप्यता भंग गर्न नहुने चलन भएका कारण कसैलेपनि कस्को सन्तान हो सुनाउँदैनन् । उनका अनुसार गौरादहको सन्थाल टोलमा देउरानीले जन्माएका र जेठानीले हुर्काएका दर्जनौ सन्थाल युवायुवतीहरु छन् । यसरी जिम्मा लगाईका सन्तानको विषयमा गाउँ टोलमा कुराकानी नै गर्न हुन्न भन्ने नियम रहेकॊ उनले सुनाईन् । सन्थाल जातिमा हार्डनाता भित्र कसैका सन्तान नजन्मिए आफन्तले जन्माएर दिने चलन अहिलेपनि विद्यमान छ । विभिन्न कारणले सन्तान जन्माउन नसक्ने दाजु वा भाईलाईपनि देउरानी अथवा जेठानीले सन्तान जन्माएर दिने गरिन्छ- स्थानिय संथाल युवा क्लवका अध्यक्ष लखिराम सन्थालले भने-अरु जातिमा जस्तो हाम्रोमा देउरानी जेठानीबीचको सम्बन्ध चिसो हुदैंन । उनीहरु सधैं मिलेर नै बस्दछ्न । पूर्वी नेपालको झापा मोरङ र सुनसरीमा बसोवास गर्दै आएका सन्थालहरुको संख्या पछिल्लो जनगणनाको अभिलेख अनुसार ४६ हजार छ । सन्थाल जाति विकास केन्द्रका महासचिव लक्ष्मण सोरेन भन्छन्-बदिलंदो परिवेशमा हाम्रो समूदायका कतिपय चलन बचाउनै मुश्किल भई सक्यो । यस्ता संस्कृति बचाउन राज्यले समेत चासो दिन जरुरी छ ।

Thursday, January 1, 2009

मौरीले ल्यायो पैसैपैसा

झापा सतासीधामकी धनमाया थापा अन्य गृहिणी जस्तै बाल वच्चालाई खाना बनाउने, खुवाउने र विद्यालय पठाउने काम गर्छिन् । वस्तु भाउको ख्याल गर्नु र घर गृहस्थी चलाउनु पनि दैनिकी भित्रै पर्छ । गाउँको बसाइँ छ मेलापात पनि नगरी धरै छैन् । बचेको समय छरछिमेक र आफन्तलाई पनि दिनै पर्यो ।
यी र यस्तै घरका खुद्रे काममा दिन बिताउने उनी आयआर्जनको काममा नलाग्दा समय बर्वाद भएर बित्दै थियो । काम गरेपनि त्यो कामको दाम भने मिल्दैन थियो । लर्याङ लुरुङ गर्यो दिन काट्यो यस्तै थियो दिनचर्या । तर यस्तो अवस्था धेरै समय रहेन । हिजो आजको उनको व्यस्तता बुझ्ने जो कोही इर्ष्याले जिव्रो टोक्छन् । उनले भनिन-चुलोको मात्र काम गर्नु पर्ने, निस्सासिए जस्तै भएको थियो । तर अहिले सबै काम गर्न भ्याइ नभ्याई हुन्छ ।
घरधन्दामा मात्रै सिमित उनी आफैं आय आर्जन गरि धेरथोर कमाउन सक्ने भएकी छन् । भन्नेले उनलाई राम्रो मात्र भन्न थालेका छन् । धनमया भन्छिन्- मेरो अहिलेको दैनिकी फेरिएको छ । चुल्हो चौकोसँगै पैसा कमाई हुने काम पनि गर्न सक्ने भएँ ।
सतासीधाम ७ दुधे की देवी दहाल पनि हिजो आज सरसापटमा भर पर्दिनन् । जे चाहिए पनि आफ्नै कमाईबाट पुगेकै छ । उनले भनिन-समूह मिलेर ५८ घर परिवारका महिलाले मौरी पालन व्यवसाय थालेका थियौं । राम्रै पो हुदैं छ ।
उनको समूहले पालेको २२ घार मौरीले यस वर्ष १ हजार ८ सय ५० केजी मह उत्पादन गरेको छ । जसमध्ये प्रति केजी ४ सयका दरले १ हजार ३ सय ५० केजी बिक्री भइसकेको छ । उत्पादन भएको महको परिमाण लागत र मेहनतका आधारमा नाफा बाँडफाँड गर्न पनि पुगेको उनीहरु बताउँछन् ।
गाउँका दश वटा समूहले १ सय २० घार मौरी पालेका र आफ्नो खर्च कटाएर मासिक १० हजार सम्म कमाई हुने गरेको देवी बताउँछिन् ।
स्थानिय सतासी महिला कृषि सहकारी संस्थाले व्यवसाय संचालनका लागि सहयोग गरेपछि नै महिलाले यस्तो उपलब्धि पाएका हुन् । संस्थाको पहलमा उनीहरुले मौरी पालनलाई व्यवस्थित र व्यवसायिक बनाउन सतासी मौरी पालन महिला समुह गठन गरेको संस्थाले जनाएको छ ।
एक्लैले भन्दा समूहले व्यवसाय गर्दा सफलता मिल्ने गरेको ती महिलाको अनुभव छ । सतासीधाममा मौरी पालन र मैनबती उत्पादनमा महिला सकृयता बढाउन नेपाल ग्रामीण पूनर्निर्माण संस्था (आरआरएन) ले पटक पटक गरी ३ लाख २० हजार आर्थिक सहयोग सहयोग गरेको संस्थाका झापा संयोजक बसन्तलक्ष्मी उदास बताउछिन् । उनले भनिन- महिलाहरु आत्मनिर्भर बनाउन सक्षम भएका छौं ।