
कुमार लुइँटेल
विराटनगर : विराटनगरका व्यापारी तुलसीराम अग्रवाल अपहरण काण्डका आरोपित भारतको बिहार राज्य विधान सभाका विधायक जाकिर हुसेन खानलाई मोरङ जिल्ला अदालतले सफाइ दिएको छ।
जीउ मास्ने बेच्ने मुद्दामा कसुरदार नरहेको र निर्दोष भएको ठहर गर्दै सफाई दिएको हो। खान बिहारको अररिया जिल्लाबाट बिहार विधान सभामा जनता दल युनाईटेडका निर्वाचित विधायक हुन् । मोरङ जिल्ला अदालतका मुख्य न्यायधीश शेखर पौडेलको इजलासले हुसेनलाई सफाई दिएको हो।
अर्का आरोपित भोलाशंकर तिवारीलाई भने दश वर्ष जेल सजायको फैसला भएको छ । तिवारी भारतको जोगबनी नगरपालिकाका पूर्व मेयर हुन् । उनी सिन्धुली कारागारमा पुर्पक्षका लागि अढाई वर्षदेखि थुनामा छन्। घटनामा संलग्न भारत सहर्षाका पप्पु देव भूमिहार सर्वोच्च अदालतले २०७१ पुस २८ गते गरेको फैसलाबाट दश वर्षका लागि जेल भुक्तान गरिरहेका छन्।
हुसेन विगत अढाई वर्षदेखि तारेखमा रही अदालतमा हाजीर भइरहेका थिए । अदालतले निर्दोष रहेको फैसला गरेपछि हुसेनले भने,‘म अदालतको न्यायको सम्मान गर्दछु । अपहरण कान्डमा मेरो कुनै संलग्नता नरहेको सम्मानित अदालतबाट फैसला भएको छ। यो अत्यन्तै स्वागतयोग्य छ।'
व्यापारी तुलसीराम अग्रवाल अपहरण काण्ड
यो अवधिमा आफूले हप्तामा एक पटकसम्म बिहारको राजधानीबाट विराटनगर अदालतको तारेखमा आएको, सदनमा सपथग्रहणका बेला तारेख पर्दा त्यो अवसरसमेत छाडेको र श्रीमती बिरामी पर्दा पनि अदालतको मान राख्दै उपस्थित भएको बताए ।‘विधि र कानुन मिच्दै मैले कसैको अपहरण गर्ने कुरै थिएन,’ उनले भने,‘मेरो कुनै संलग्नता नरहेको भन्ने फैसलाबाट पुष्टि भएको छ । म सन्तुष्ट छु । अब राजनीतिक जीवनमा म माथि कुनै दाग छैन् ।'


