कुमार लुइँटेल
विराटनगर : मोरङ बाँसबारीको हुलास
वायर कम्पनीबाट निस्कने कर्कस आवाजले दिनरात ध्वनि प्रदूषण बढाएको र
सुत्नबस्नै कठिन भएको भन्दै स्थानीयवासीले उद्योगको विरोधमा आन्दोलन गरे।
उद्योगबाट पुगेको असर न्यूनीकरणमा ध्यान नदिए उद्योग सञ्चालन गर्न नदिने
अडान उनीहरूले कसे।
जिल्ला विकास समिति मोरङको वातावरण उपसमितिमा उजुरी परेपछि सरकारी
कार्यालयको मध्यस्थतामा धेरैपटक छलफल भए। उद्योगले आवाज निकाल्ने उपकरण
आवाजरहित बनाएको दाबी ग:यो। जिविसलाई लिखित स्पष्टीकरण पनि दियो। तैपनि
स्थानीयवासीहरू अझै सन्तुष्ट बन्न सकेका छैनन्। उद्योग र स्थानीयबीचको
मनमुटाउ कायमै छ।
विराटनगर ११ को मधुवन टोलका बासिन्दाले स्थानीय दुर्गाभवानी जैविक मल
उद्योगबाट निस्किएको गन्धबाट दैनिक जीवनयापनमा असर परेको भन्दै जिल्ला
प्रशान कार्यालय मोरङमा उजुरी दर्ता गराए।
प्रशासनले उक्त घटना मिलाउन आग्रह गर्दै विराटनगर उपमहानगरपालिकाको
वातावरण महाशाखालाई पत्र पठायो। विवाद मिलाउन महाशाखाले दुवै पक्षसँग
पटकपटक छलफल गरायो। उद्योगसँग स्पष्टीकरण लिनेदेखि वातावरणमा पारेको
असरबारे अध्ययन गरियो। उद्योगलाई वातावरणमा असर नपर्ने गरी उत्पादन गर्न
सचेत गराइयो।
मोरङ टंकीसिनवारी गाविसस्थित हिमगिरी सोप एन्ड केमिकल्सबाट निस्किएको फोहोर पानीले असर गरेको भन्दै त्यहाँका बासिन्दाले विरोध जनाए।
उद्योगबाट निस्कने फोहोर पानी सोझै नालाबाट खेतबारीसम्म पुगेको,
दुर्गन्ध फैलिएको र पानीको स्रोतलाई समेत प्रदूषित बनाएको भन्दै स्थानीयले
जिविस मोरङको वातावरण उपशाखालाई गुहारे। उजुरीपछि स्थलगत अध्ययन भयो। विवाद
न्यूनीकरण गर्न जिविसले पहल लियो। अहिले पनि उद्योगबाट निस्कने फोहोर
पानीले असर पु:याइरहेको स्थानीयवासी गुनासो गर्न छाडेका छैनन्।
एक वर्षयता उद्योगबाट ध्वनि, वायु र जल प्रदूषण भएको र यसबाट स्थानीयमा
परेको असरका यी प्रतिनिधि घटनामात्रै हुन्। सुनसरी मोरङ औद्योगिक करिडोर र
विराटनगर उपमहानगर क्षेत्रभित्रका उद्योगबाट निस्कने औद्योगिक फोहोरले
वातावरणमा ठूलै असर परिरहेको छ।
यसले उद्योग र स्थानीयवासीबीचको तनाउ घटाउनेभन्दा पनि बढाउँदै लगेको छ।
तनाउ न्यूनीकरण प्रयास भएपनि खासै प्रभावकारी भएको छैन। जिविस मोरङको
वातावरण उपशाखाका वातावरण अधिकृत रोशनकुमार जोशी भन्छन्,‘कामै नभएकोचाहिँ
होइन। हामीले सक्नेजति गरिरहेका छौं।’
उद्योगले गरेको प्रदूषणबाट स्थानीयवासीको स्वास्थ्यमा समेत गम्भीर असर
गरेको जोशी स्वीकार गर्छन्। औद्योगिक क्षेत्रवरिपरिका बासिन्दामा
श्वासप्रश्वास, छाला, कानसम्बन्धी रोगको असर रहेको अध्ययनबाट खुलेको जोशीले
बताएका छन्।
सुनसरी मोरङ औद्योगिक करिडोरमा प्रदूषण नियन्त्रणका लागि २०६३ सालमा
सरकारी पहल सुरु भएको छ। फिनल्यान्ड सरकारको सहयोगमा स्थानीय स्तरमा
वातावरण व्यवस्थापन सुदृढीकरण परियोजना आएपछि पूर्वाञ्चलका ६ वटा जिल्लामा
वातावरण प्रदूषण नियन्त्रणका लागि काम सुरु भएको हो।
करिडोरअन्तर्गत मोरङमा पर्ने एक सय ५० उद्योगलाई जिविसको वातावरण
उपसमितिले हेर्दै आएको छ। धुवाँ, फोहोर पानी, धुलो वा ध्वनि प्रदूषण गराए
स्थानीयवासीले यही उपसमितिमा उजुरी गर्न सक्छन्।
उपसमितिले नै उद्योगले गर्ने प्रदूषणको मात्रा र परिमाण हेरेर वातावरणीय
प्रदूषण नियन्त्रण प्रमाण पत्र दिन्छ। २०६४ को २० औं जिल्ला परिषद्ले
स्वीकृत गरेर प्रदूषण रोकथाम तथा न्यूनीकरण निर्देशिका बनेपछि संस्थागत
रूपमा प्रदूषण नियन्त्रण सुरु भएको हो।
वातावरण संरक्षण ऐनमा भएका पाँचवटा अधिकार वातावरण मन्त्रालयले जिविस
मोरङलाई अधिकार प्रत्योजन गरेअनुसार काम भइरहेको अधिकारीहरूको भनाइ छ।
तर सरकारी पहल सुरु भएयता ६ वर्षको अवधिमा ५० उद्योगले मात्र अस्थायी
प्रमाणपत्र लिएका छन्। स्थायी प्रमाणपत्रका लागि अहिलेसम्म कुनै पनि
उद्योगले सरकारले तोकेको वातावरणीय मापदण्ड पूरा गरेका छैनन्। जिविसको
वातावरण उपसमितिका अनुसार स्थायी प्रमाणपत्र लिने प्रक्रियामा दुईवटा
उद्योगले मात्र मापदण्ड पूरा गरेको अवस्था छ।
यद्यपि करिडोरको मोरङतर्फको भागमा एक सय ५० ठूला उद्योग छन्। साना तथा
मझौला उद्योगको संख्या भने तीन सय ५० छ। प्रदूषणको अवस्थाको विषयमा
प्रयोगशालामा परीक्षण गर्न मोरङ व्यापार संघ विराटनगरमा सिमेन परियोजनाको
वातावरणीय प्रयोगशालासमेत सञ्चालित छ। प्रयोगशालामा पानीका विभिन्न ५३
पारामिटर परीक्षण हुन्छ। खाद्यवस्तु परीक्षण गर्नेसमेत सुविधा उपलब्ध छ।
प्रयोगशाला २०६० सालदेखि सञ्चालित छ।
मानव स्वास्थ्यमा गम्भीर असर
औद्योगिक करिडोर क्षेत्रबाट निस्किने फोहोर पानी, प्रदूषित वायु र कर्कस
आवाजका कारण नजिकै वस्तीका बासिन्दामा नकारात्मक प्रभाव पर्ने गरेको छ।
प्रदूषणबाट मानव स्वास्थ्यमा गम्भीर असर पुगे पनि त्यसलाई घटाउन खासै चासो
नदिइएको स्थानीय गुनासो गर्छन्।
टंकीसिनवारी ३ की भगवती विश्वासले भनिन्, ‘नजिकै उद्योगबाट आउने गन्धले
घरमा बसिनसक्नु हुन्छ। टाउको दुख्ने, रिस उठ्ने, छाला चिलाउने र कान
नसुन्नेजस्ता समस्या टोलका बासिन्दामा देखिन थालेको छ।’ अघिल्लो वर्ष
आँखामा समस्या आएर आफू पनि उपचारमा जाँदा चिकित्सकले फोहोर हावाको प्रभावका
कारण समस्या भएको भन्ने बताएको उनले बताइन्।
औद्योगिक करिडोर क्षेत्रमा दृष्टि कमजोर हुने, छाला सेतो भई दाग बस्ने चिलाउने, कान कम सुन्ने समस्या देखिने गरेको स्थानीयको भनाइ छ।
टंकीसिनवारी ५ का नरबहादुर बुढाथोकी भन्छन्, ‘उद्योगबाट हुने प्रदूषणका
कारण मानिसमात्र नभएर जनावरसमेत प्रभावित भएका छन्। प्रदूषित पानी पिएर
जनावर मर्ने समस्याबाट पनि हामी पीडित छौं।’
वातावरण उपशाखाले विराटनगरदेखि धरानसम्मको औद्योगिक क्षेत्र छेउछाउको
नालाको पानीको नमुना लिएर परीक्षण गरेको र त्यसले मानव स्वास्थ्यमा पारेको
असरबारे प्रतिवेदन सार्वजनिक गर्ने तयारी रहेको जिल्ला विकास समिति मोरङले
जनाएको छ।
औद्योगिक करिडोर क्षेत्रमा परेको स्वास्थ्यका असरको विषयमा भने कुनै पनि
क्षेत्रले खासै चासो नदिएको टंकीसिनवारी नमुना गाविसका अधिकृत विनोदकुमार
न्यौपानेले बताए। ‘स्वास्थ्यमा परेको असरबारे स्थानीय निकायसँग मिलेर गर्न
सकिने काम भएका छैनन्’, न्यौपानेले भने, ‘गाविस र स्थानीय स्वास्थ्य
कार्यालयको सहकार्यमा हुने सामान्य काम थप हुन सकेको छैन।’
अपूरा आश्वासन
उद्योग खोल्दा स्थानीयवासीलाई उद्योगीले दिएका आश्वासन पूरा नभएका कारण
पनि उद्योगी र स्थानीयबीचको द्वन्द्व घट्न सकेको छैन। उद्योग सञ्चालन
गर्नुपूर्व चार किल्ला तोक्न गाविस र नगरपालिकाले इजाजत दिनेसम्मका काम
गर्छन्। तर उद्योग खोलिसकेपछि बर्सेनि घरजग्गा कर तिर्ने बाहेक उद्योगीले
स्थानीय निकायसँग समन्वय गर्दैनन्। अधिकृत न्यौपानेले भने, ‘उद्योग र
स्थानीय निकायबीच त्यसपछि कुनै छलफल हुँदैन।’
विराटनगर उममहानरपालिका क्षेत्र भित्र उद्योगले गर्ने प्रदूषण
नियन्त्रणका विषयमा समेत उसले खासै केही गर्न नसक्ने बताउँदै उपमहानगरको
वातावरण महाशाखाकी नायब सुब्बा अनिता कोइरालाले भनिन्, ‘स्थानीयसँग विवाद
भए सकेसम्म मेलमिलाप गराउने प्रयास गरिन्छ नत्र कानुनी प्रक्रियामा
लगिन्छ।’
बसोवास क्षेत्रमा उद्योगधन्दा खोल्ने क्रम जारी छ। यसरी नयाँ उद्योग
खोल्नुपूर्व स्थानीयसँग उद्योगीले रोजगारी र स्थानीय विकासमा सहयोग गर्ने
आश्वासन दिए पनि त्यसको परिपूर्ति नगर्दा विवाद चर्कने गरेको पाइन्छ।
उद्योग र स्थानीयवासीबीच विवाद हुँदासमेत मेलमिलाप केन्द्रसम्म दुवै पक्ष
आउँदैनन्।
टंकीसिनवारी गाविसका अधिकृत विनोद न्यौपानेले भने, ‘स्थानीय समस्या
स्थानीयस्तरमै समाधान गर्नुपर्ने भन्ने सामान्य नियमको पालना भएको छैन।’
स्थानीय राधिका न्यौपानेले भनिन्, ‘उद्योग खोल्ने बेला रोजगारी दिने भन्छन्
तर खोलेपछि वास्तै गर्दैनन्।’
प्रदूषण न्यूनीकरण गरेको दाबी
उद्योगले प्रदूषण गरेको विषयमा आफूहरूले गर्नुपर्ने जिम्मेवारी पूरा
गरेको उद्योगी र तिनका प्रतिनिधिमूलक संगठनका अधिकारीहरू दाबी गर्छन्।
हिमगिरी सोपका सञ्चालक प्रकाश मुन्दडाले भने, ‘केही समयअघि स्थानीयसँग
भएको विवाद हामीले समाधान गरिसकेका छौं सबै कानुनी प्रक्रियामा हामी सचेत
छौं।’ आफ्नो उद्योगले वातावरणीय प्रदूषण प्रभाव मूल्यांकन गरेर विवाद साम्य
पारेको र उद्योगबाट निस्कने फोहोरलाई कम प्रदूषित बनाइएको उनले दाबी पनि
गरे।
उद्योग संगठन मोरङले उद्योगबाट हुने प्रदूषणको विषयमा हेर्ने छुट्टै सेल
बनाएर काम गर्दै आएको संगठनका उपाध्यक्ष मुकेशकुमार उपाध्यायले जानकारी
दिए।
उनले भने, ‘सकेसम्म कम प्रदूषण होस भनेर उद्योगी पनि चिन्तित छन्। मानव
स्वास्थ्यका विषयमा समेत हामी सचेत छौं। अहिले उद्योगहरूले वातावरण
प्रमाणपत्र लिने क्रम सुरु भइसकेको छ। संगठनका सदस्य उद्योगलाई पनि सचेत
गराइएको छ।’
जिविसको वातावरण उपशाखाका अनुसार औद्योगिक करिडोर क्षेत्रमा दिउँसो ६० र
राति ५५ डेसिबलको आवाज मात्र निकाल्नुपर्छ। वायु निकासका लागि प्राविधिक
विषय पूरा गरेको हुनुपर्छ।
मिति : २०७० चैत ९, आइतबार, अन्नपूर्ण पोष्ट
1 comment:
I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.
DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK
Post a Comment