Saturday, May 23, 2009

जेठानीका सन्तान पाउन देउरानी गर्भवती

प्रमिला गर्भवती छिन् । अघिका चारजना सन्तान हुर्किसेका छन् । ३२ वर्ष उकालो लागेकी उनलाई सन्तानको इच्छापनि छैन् । तर यसपटक भने उनले आफ्नालागि नभएर जेठानीकालागि गर्भ बोक्नु परेको छ । भन्छिन-विवाह भएको धेरै वर्ष वित्यो । दिदीका सन्तान भएनन् । परिवारकै सहमतीमा नयाँ सन्तान पाएर दिदीलाई दिन यो जोखिम मोल्दै छु । परिवारको निर्णयलाई उनका श्रीमानलेपनि स्वीकार गरेका छन् । प्रमीलाले भनिन-उहाँलेपनि निर्णय मानेर सन्तान जन्माएर दिदीलाई दिन सहमत हुनु भयो । मेरै श्रीमानको सात महिनाको गर्भ मेरो पेटमा हुर्किरहेको छ । झापा गौरादहको सन्थाल वस्तीकी यी महिलाले अबको तीन महिनापछि नवजात शिशु जन्माएर सालनाल सहित आफ्नी जेठानीलाई दिनेछिन् । छोरा वा छोरी जे भएपनि त्यस्को सम्पूर्ण भरणपोषणको जिम्मा जेठानीले नै बोक्नु पर्ने छ । जन्मने सन्तानले आमा भनेर जेठानीलाई नै बोलाउने छन् । सन्तान कस्ले जन्माएको हो भनेर परिवारले ती सन्तानलाई जीवन भर सुनाउने छैनन् । यो गोप्यता भंग गर्ने टोलका जोकोहीपनि सजायको भागिदार हुने चलन सन्थाल टोलमा लगाइएको छ । सोही टोलकी अनिताले भनिन-गाउँमा यसरी देउरानीले जन्माएर जेठानीलाई दिएका सन्तान धेरै छन् । तर यो गोप्यता भंग गर्न नहुने चलन भएका कारण कसैलेपनि कस्को सन्तान हो सुनाउँदैनन् । उनका अनुसार गौरादहको सन्थाल टोलमा देउरानीले जन्माएका र जेठानीले हुर्काएका दर्जनौ सन्थाल युवायुवतीहरु छन् । यसरी जिम्मा लगाईका सन्तानको विषयमा गाउँ टोलमा कुराकानी नै गर्न हुन्न भन्ने नियम रहेकॊ उनले सुनाईन् । सन्थाल जातिमा हार्डनाता भित्र कसैका सन्तान नजन्मिए आफन्तले जन्माएर दिने चलन अहिलेपनि विद्यमान छ । विभिन्न कारणले सन्तान जन्माउन नसक्ने दाजु वा भाईलाईपनि देउरानी अथवा जेठानीले सन्तान जन्माएर दिने गरिन्छ- स्थानिय संथाल युवा क्लवका अध्यक्ष लखिराम सन्थालले भने-अरु जातिमा जस्तो हाम्रोमा देउरानी जेठानीबीचको सम्बन्ध चिसो हुदैंन । उनीहरु सधैं मिलेर नै बस्दछ्न । पूर्वी नेपालको झापा मोरङ र सुनसरीमा बसोवास गर्दै आएका सन्थालहरुको संख्या पछिल्लो जनगणनाको अभिलेख अनुसार ४६ हजार छ । सन्थाल जाति विकास केन्द्रका महासचिव लक्ष्मण सोरेन भन्छन्-बदिलंदो परिवेशमा हाम्रो समूदायका कतिपय चलन बचाउनै मुश्किल भई सक्यो । यस्ता संस्कृति बचाउन राज्यले समेत चासो दिन जरुरी छ ।

No comments: