Saturday, August 16, 2014

चरा धपाउन एम्बुलेन्स !




विराटनगर : शनिबार दिउँसो डेढ बजे विराटनगर विमानस्थलको रनवेमा एउटा एम्बुलेन्स साइरन बजाउँदै तीव्र गतिमा दौडियो। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न विशिष्ट कक्षबाहिर बसेका कांग्रेस कार्यकर्ताले मुखामुख गरे।
ठूलै आपत् आइपरेको हो कि भनी उनीहरू अड्कल गर्दै थिए तर एकै छिनमा थाहा भयो, त्यो एम्बुलेन्स बिरामी बोक्न वा घाइते लिन नभएर विमानस्थलमा चरा धपाउन दौडिएको पो रहेछ। कांग्रेस सभासद् तथा पार्टीका मोरङ अध्यक्ष अमृत अर्यालले भने, 'साइरन बजाउँदै एम्बुलेन्स त चरा धपाउन पो दौडिएको रहेछ।'
विराटनगर विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणको एउटा एम्बुलेन्स चरा धपाउन सधैं त्यहाँ तैनाथ हुन्छ। हवाईजहाज उड्नु र अवतरण गर्नुअघि एम्बुलेन्सलाई तीव्र गतिमा दौडाएर रनवेतर्फ लगिन्छ। त्यसलगत्तै जहाज अवतरण र उडान गर्छन्। विमानस्थलमा बारम्बार चरा ठोक्किएर क्षति हुने र दुर्घटनाको सम्भावना बढेपछि उड्डयन प्राधिकरणले चरा धपाउनकै लागि एउटा एम्बुलेन्स ढुक्‍कैसँग परिचालन गरेको हो।

Monday, August 11, 2014

चार पदका लागि सत्र संगठनको माग



कुमार लुइँटेल

विराटनगर : चार पदमा शिक्षकका १७ वटा पेसागत संघसंगठनले भाग मागेपछि मोरङमा जिल्ला शिक्षा समिति नै गठन हुनसकेको छैन। पेसागत संगठनहरूबाट को प्रतिनिधि हुने भन्‍नेमा अन्योल भएकाले पनि समिति गठन हुन विलम्ब भइरहेको छ।

समिति गठन गर्न जिल्ला शिक्षा कार्यालय मोरङले असार महिनायता मात्रै आठवटा बैठक गरिसकेको छ। तर समितिमा रहने शिक्षकतर्फका चारजना सदस्यमा सबै संगठनले भाग मागेको जिल्ला शिक्षा अधिकारी राजकुमार थापाले बताए। उनले भने, 'असारमा म आएदेखि आठवटा बैठक गरिसकें तर सबैले पद मागेपछि समिति गठन नै भएको छैन।'

कार्यालयले मंसिर महिनायता समिति गठन गर्न प्रयास गरिरहेको छ। समितिका एकजना सदस्य नेपाल शिक्षक युनियनका अध्यक्ष पितकुमार श्रेष्‍ठले उमेर हदबन्दीका कारण अवकाश पाएका छन्। मोरङमा युनियन अधिवेशनसमेत भएको छैन। त्यो संगठनबाट नयाँ नेतृत्व चयन नहुँदा शिक्षा समितिमा जाने सदस्यबारे अन्योल छ। दुई महिलासहित बाँकी चारवटा पदमा शिक्षकका संघसंगठनले आआफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।

Saturday, August 2, 2014

भेडेटारमा पनि लामखुट्टेकाे सकस


कुमार लुइँटेल
विराटनगर : विराटनगरबाट भेडेटार घुम्न गएका सञ्चारकर्मी उद्धव घिमिरे त्यहाँ लामखुट्टे देख्दा छक्क परे। मधेसको उखर्माउलो गर्मी र लामखुट्टेको सकसबाट एक दिन भए पनि मुक्त हुने लालसा लिएर उनी पहाड उक्लिएका थिए। तर त्यहाँ पनि लामखुट्टे लागेपछि घिमिरेले भने, 'होटेलमा सुतेको थिएँ। तराईमा जस्तै भुनुनुनु गरेको आवाज सुनियो। कोठामा त लामखुट्टेको गोलो रहेछ। टोक्न थालेपछि होटेल सञ्चालकसँग गुनासो गर्दै औषधि छर्किदिन आग्रह गरें।'

Thursday, July 24, 2014

'माछाका भुराले दिलायो नाम र दाम'

माेहन राइ
म माछाका भुरा उत्पादन गर्छु। यो पेसामा लागेको १७ वर्ष भइसक्यो। २०५४ सालतिरको कुरा हो, माछा पाल्ने किसानले मोरङमै भुरा पाउँदैनथे। खरिद गर्न निकै टाढासम्म जानुपर्दथ्यो। माछाको भुराको दाम भन्दा यातायात र अन्य खर्च बढी हुन आउँथ्यो। किसानका समस्या पनि निकै थियो। यतै सहज रूपमा भुरा पाए कस्तो हुने थियो भन्ने मलाई लाग्थ्यो।

Thursday, July 17, 2014

इच्छाशक्ति भए स्वदेशमै छन् अवसर


कुमार लुइँटेल

विराटनगर ः मोरङमा दुई करोड रुपैयाँ भन्दा माथिको लगानीमा माछा पालन सुरु गरिएको छ ।

व्यवसायिक रुपमा सञ्चालित फार्मबाट उत्पादित माछाले भारतीय आयात प्रतिस्थापनमा बल पुग्ने अपेक्षा किसानको छ । ठूला लगानीका माछापालनमा युवाको लगानी अधिक छ ।

मोरङको शनिश्चरे ९ मा दुई करोड रुपैयाँको लगानीमा साढे तीन बिघा क्षेत्रफलको पोखरीसहित बहुउद्देश्यीय माछा फार्म सुरु भएको छ । यहाँ काठमाण्डौंका तीनजना युवाले लगानी गरेका हुन् । मासिक चालिस हजार केजी मासु उत्पादन गर्ने उद्देश्यसहित माछा फार्म सुरु गरिएको लगानीकर्तामध्येका एक बिष्णु चौलागाईंले जानकारी दिएका छन् । उनले भने,‘बंगुर र कुखुरापालन पनि सँगसँगै गरिरहेका छौं ।’ माछा फार्ममा काठमाण्डौकै नवराज लामिछाने र सुरेश गिरीले पनि लगानी गरेका छन् ।

Monday, June 23, 2014

श्रमिक चोक, जहाँ काम र दामको मात्र कुरा हुन्छ







कुमार  लुइँटेल  

विराटनगर : विराटनगरका विनोद राय बिहान ६ बजे उठ्छन्, चियाखाजा खान्छन् अनि लाग्छन् श्रमिक चोकतर्फ। काम पाइए दिउँसोको छुट्टीमा खाना खान घर आइपुग्छन्, काम नपाइए घर फर्कन्छन्। साथीभाइसँग चेसलुँडो खेल्छन्। विराटनगर सिमानामा पर्ने बुधनगर गाविसका रूपेशकुमार साहको दिनचर्या पनि रायकै जस्तो छ। बिहान उठ्यो। खाजा खायो। साइकल टिप्यो अनि लाग्यो श्रमिक चोकतर्फ। साह भन्छन्, 'न्याय नपाए गोर्खा जानु काम नपाए श्रमिक चोक। यस्तै छ यहाँको चलन' साहसँगै उनको गाउँका दर्जनौ युवा ताँत लागेर साइकल गुडाउँदै हरेक बिहान ७ बजेभित्र विराटनगरस्थित श्रमिक चोकमा भेला भइसकेका हुन्छन्।
यो चोकलाई केही अघिसम्म भूमिप्रशासन चोक भनिन्थ्यो। तर, विराटनगर र छिमेकी गाउँका श्रमिकसमेत भेला हुन थालेपछि नाउँ फेरिएर श्रमिक चोक भयो। यहाँ पहिलोपटक पुग्नेहरूलाई जुलुस नै निकाल्ने तयारी गरिएको हो अथवा केही घटना भएको भन्ने भान हुन्छ। तर, यहाँ निकै सौहार्द्रपूर्ण रूपमा भलाकुसारी भइरहेको हुन्छ। श्रमिक आआफ्नै तालमा कुराकानी र छलफल गरिरहेका हुन्छन्।
काम खोज्ने मात्र हैन लगाउनेहरू पनि हरेक बिहान श्रमिक चोकमा आउँछन। घर निर्माणमा खटिने मजदुर, मिस्त्री, राजमिस्त्री, रङरोगन गर्ने पेन्टर, खेत जोत्ने हली, आली बाँध्ने कामदार, गिटी बालुवा बोक्ने सहयोगी सबै बिहान ९ बजेसम्म यही चोकमा भेटिन्छन्।

Thursday, June 19, 2014

ब्लफ कलको पछि लाग्दा कोठीमा बेचिनुपर्‍यो

कुमार लुइँटेल
विराटनगर : अहिलेको हाइटेक दुँनियामा युवापुस्ता जतिबेला पनि मोबाइलमा झुम्छिन्। मोबाइलले सम्बन्ध र नाता जोडिदिने र टुटाइदिने मात्र होइन, कहिलेकाँही यही मोबाइलले कल्पनै नगरेको जोखिममा जीवनलाई धकेलिदिन्छ।
विराटनगरकी एक युवतीको जीवनमा मोबाइल अभिशाप सावित भएको छ। मोबाइलबाटै संवाद र सम्बन्ध बढाउँदा उनी भारतको वेश्यालयमा बेचिन् पुगिन्। मोबाइलमा आएको ब्लफ कल उठाउँदा उनले सोच्दै नसोचेको दुर्घटनामा जीवनमा बेहोर्नुपरेको छ। भारत नयाँ दिल्लीको चाँदनी चौकस्थित वेश्यालयमा बेचिएकी उनी दिल्लीमै काम गर्ने एकजना नेपाली युवकले उद्धार गरिदिएपछि विक्षिप्त अवस्थामा असार १ गते घर फिरेकी छिन्।
मोबाइलमा आएको 'ब्लफ कल' रिसिभ गरेर सम्बन्ध बढाउँदा ती युवती वेश्यालयमा बेचिन पुगिन्। संखुवासभा स्थायी घरभई विराटनगर १६ बस्ने २१ वर्षीया सविना भण्डारी (नाम परिवर्तित) वेश्यालयमा बेचिएपछि पाँच महिनासम्म 'यौनकर्मी' बन्नु पर्यो। नेपाल प्रहरीले सीमासम्म पुगेर ती युवतीलाई उद्धार गरी विराटनगर ल्याएको हो।