Wednesday, May 27, 2009

भुटान फर्कन फाराम भर्दै शरणार्थी

दमक घर फर्कन चाहने भुटानी शरणार्थीले झापा र मोरङका सातै शिविरमा फाराम भर्ने अभियान चलाएका छन् । आफ्ना मान्छेहरुको तेस्रो मुलुक पुर्नवास भए झैं आफूँहरुलाई पनि भुटान लगिनु पर्ने माग राख्दै केही गैह्रराजनीतिक संगठनले झापा र मोरङका सातै शिविरमा यस्तो अभियान चलाएका हुन् । बाईस दिन अघि यस्तो अभियान चलाईएपछि हालसम्म सातै शिविरका ९ सय १६ परिवारका करिव ८ हजार भुटानी शरणार्थीले फाराम भरेका छन् । चारवटा भुटानी संगठनहरु भुटान मानव अधिकार सगठनह्युरोब ज्येष्ठ नागरिक समाज भुटानी शरणार्थी स्वदेश फिर्ती कार्यक्रम व्यवस्थापन परिषद र भुटान गार्खा राष्ट्रिय मुक्ती मोर्चाको संयुक्त पहलमा अभियान शुरु भएको हो । यस्तो अभियान चलाईपछि घर फिर्न चाहने भुटानी शिविरमा फारम भर्न भींड लाग्न थालेको छ । बेलडाँगी शिविरमा फाराम भर्न आएका दिलमान मगरले अरुहरुलाई तेस्रो मुलुक लगिए जसरी नै स्वदेश फर्काउनु पर्ने माग राखेर फाराम भराउन शुरु गरिएकोले आफूले पनि परिवार सहित सबैको नाम लेखाएको बताए । उनले भने-यस पटक फाराम भराएरै युएनएचसआर र अरुलाई पनि दिने भनेकाले फाराम भरेको हुँ । यस पटक भुटान फर्काउँछन् भन्ने लागेको छ । अभियानको नेतृत्व गरिरहेको ज्येष्ठ नागरिक समाजका संयोजक हर्कजंग सुब्बाले भने-४० देखि ५० हजार जनाले फाराम भर्ने हाम्रो अपेक्षा छ । भरिएका फाराम शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोग नेपाल भारत भुटान सरकार अन्तराष्ट्रिय कुटनीतिक नियोग र अन्तराष्ट्रिय मानव अधिकारवादी संगठनलाई पनि दिन्छौ । उनले तेस्रो मुलुक पुर्नवासमा शरणार्थीलाई आफ्नो देशमा बस्न इजाजत दिएका कोअर ग्रुपका अमेरिका सहित सातवटा मुलुकलाई पनि शरणार्थीले भरेका फाराम बुझाईने बताए । फाराम भर्ने कार्य आउँदो दुई महिनासम्म चल्ने छ । भुटानी शरणार्थी स्वदेश फिर्ती कार्यक्रम व्यवस्थापन परिषदका उपाध्यक्ष डिल्लीराम घोरसाईले फाराममा भुटानमा रहँदाका सबै विवरण प्रस्तुत गरिएको छ । बस्दै आएको स्थान भुटानी भएको प्रमाणीक आधार स्पष्ट हुने कागजातको विवरण परिवारको अवस्था आदि उल्लेख गरिएको बताए । उनले भने-तेस्रो मुलुक पुर्नवास गरिए झै भुटान जान चाहनेलाई भुटान फर्काउन अन्तराष्ट्रि पक्षले काम थाल्न आग्रह गर्न अभियान चलाएका हौं । एक वर्ष अघि पुर्नवास शुरु भएपछि सातै शिविरबाट हालसम्म १४ हजार भन्दा बढी शरणार्थीहरु तेस्र्रो मुलुक पुनस्र्थापना भइसकेका छन् । पुर्नवासपछि मृतप्राय रहेको स्वदेश फिर्तीको मागलाई यो कार्यक्रमले थप उर्जा दिने भुटान पिपुल्स पार्टीका प्रवक्ता गोपाल गुरुङले बताए । सनव् १९९६ को अपिल मुझमेण्ट दर त्यसपछि दर्जनौ पटक चालिएका स्वदेश फिर्तीका स्वेच्छीक अभिायनमा भारतले पटक पटक मेची पुलमा गरेको अवरोधका कारण शरणार्थीको स्वदेश फिर्ती कार्यक्रम नै प्रभावित बनेको थियो । ती अभिायनमा संलग्न दर्जनौ नेता समेत पुर्नवास शुरु भएसगै तेस्रो मुलुक पुगीसकेका छन् ।

Saturday, May 23, 2009

जेठानीका सन्तान पाउन देउरानी गर्भवती

प्रमिला गर्भवती छिन् । अघिका चारजना सन्तान हुर्किसेका छन् । ३२ वर्ष उकालो लागेकी उनलाई सन्तानको इच्छापनि छैन् । तर यसपटक भने उनले आफ्नालागि नभएर जेठानीकालागि गर्भ बोक्नु परेको छ । भन्छिन-विवाह भएको धेरै वर्ष वित्यो । दिदीका सन्तान भएनन् । परिवारकै सहमतीमा नयाँ सन्तान पाएर दिदीलाई दिन यो जोखिम मोल्दै छु । परिवारको निर्णयलाई उनका श्रीमानलेपनि स्वीकार गरेका छन् । प्रमीलाले भनिन-उहाँलेपनि निर्णय मानेर सन्तान जन्माएर दिदीलाई दिन सहमत हुनु भयो । मेरै श्रीमानको सात महिनाको गर्भ मेरो पेटमा हुर्किरहेको छ । झापा गौरादहको सन्थाल वस्तीकी यी महिलाले अबको तीन महिनापछि नवजात शिशु जन्माएर सालनाल सहित आफ्नी जेठानीलाई दिनेछिन् । छोरा वा छोरी जे भएपनि त्यस्को सम्पूर्ण भरणपोषणको जिम्मा जेठानीले नै बोक्नु पर्ने छ । जन्मने सन्तानले आमा भनेर जेठानीलाई नै बोलाउने छन् । सन्तान कस्ले जन्माएको हो भनेर परिवारले ती सन्तानलाई जीवन भर सुनाउने छैनन् । यो गोप्यता भंग गर्ने टोलका जोकोहीपनि सजायको भागिदार हुने चलन सन्थाल टोलमा लगाइएको छ । सोही टोलकी अनिताले भनिन-गाउँमा यसरी देउरानीले जन्माएर जेठानीलाई दिएका सन्तान धेरै छन् । तर यो गोप्यता भंग गर्न नहुने चलन भएका कारण कसैलेपनि कस्को सन्तान हो सुनाउँदैनन् । उनका अनुसार गौरादहको सन्थाल टोलमा देउरानीले जन्माएका र जेठानीले हुर्काएका दर्जनौ सन्थाल युवायुवतीहरु छन् । यसरी जिम्मा लगाईका सन्तानको विषयमा गाउँ टोलमा कुराकानी नै गर्न हुन्न भन्ने नियम रहेकॊ उनले सुनाईन् । सन्थाल जातिमा हार्डनाता भित्र कसैका सन्तान नजन्मिए आफन्तले जन्माएर दिने चलन अहिलेपनि विद्यमान छ । विभिन्न कारणले सन्तान जन्माउन नसक्ने दाजु वा भाईलाईपनि देउरानी अथवा जेठानीले सन्तान जन्माएर दिने गरिन्छ- स्थानिय संथाल युवा क्लवका अध्यक्ष लखिराम सन्थालले भने-अरु जातिमा जस्तो हाम्रोमा देउरानी जेठानीबीचको सम्बन्ध चिसो हुदैंन । उनीहरु सधैं मिलेर नै बस्दछ्न । पूर्वी नेपालको झापा मोरङ र सुनसरीमा बसोवास गर्दै आएका सन्थालहरुको संख्या पछिल्लो जनगणनाको अभिलेख अनुसार ४६ हजार छ । सन्थाल जाति विकास केन्द्रका महासचिव लक्ष्मण सोरेन भन्छन्-बदिलंदो परिवेशमा हाम्रो समूदायका कतिपय चलन बचाउनै मुश्किल भई सक्यो । यस्ता संस्कृति बचाउन राज्यले समेत चासो दिन जरुरी छ ।