कुमार लुइँटेल
विराटनगर :
विराटनगरका विनोद राय बिहान ६ बजे उठ्छन्, चियाखाजा खान्छन् अनि लाग्छन्
श्रमिक चोकतर्फ। काम पाइए दिउँसोको छुट्टीमा खाना खान घर आइपुग्छन्, काम
नपाइए घर फर्कन्छन्। साथीभाइसँग चेसलुँडो खेल्छन्। विराटनगर सिमानामा पर्ने
बुधनगर गाविसका रूपेशकुमार साहको दिनचर्या पनि रायकै जस्तो छ। बिहान
उठ्यो। खाजा खायो। साइकल टिप्यो अनि लाग्यो श्रमिक चोकतर्फ। साह भन्छन्,
'न्याय नपाए गोर्खा जानु काम नपाए श्रमिक चोक। यस्तै छ यहाँको चलन' साहसँगै
उनको गाउँका दर्जनौ युवा ताँत लागेर साइकल गुडाउँदै हरेक बिहान ७ बजेभित्र
विराटनगरस्थित श्रमिक चोकमा भेला भइसकेका हुन्छन्।
यो चोकलाई केही अघिसम्म भूमिप्रशासन चोक
भनिन्थ्यो। तर, विराटनगर र छिमेकी गाउँका श्रमिकसमेत भेला हुन थालेपछि नाउँ
फेरिएर श्रमिक चोक भयो। यहाँ पहिलोपटक पुग्नेहरूलाई जुलुस नै निकाल्ने
तयारी गरिएको हो अथवा केही घटना भएको भन्ने भान हुन्छ। तर, यहाँ निकै
सौहार्द्रपूर्ण रूपमा भलाकुसारी भइरहेको हुन्छ। श्रमिक आआफ्नै तालमा
कुराकानी र छलफल गरिरहेका हुन्छन्।
काम खोज्ने मात्र हैन लगाउनेहरू पनि हरेक
बिहान श्रमिक चोकमा आउँछन। घर निर्माणमा खटिने मजदुर, मिस्त्री,
राजमिस्त्री, रङरोगन गर्ने पेन्टर, खेत जोत्ने हली, आली बाँध्ने कामदार,
गिटी बालुवा बोक्ने सहयोगी सबै बिहान ९ बजेसम्म यही चोकमा भेटिन्छन्।