कुमार लुइँटेल
विराटनगर : एमाओवादी मोरङका अध्यक्ष गोपी अछामीले पोखरीबाट भर्खरै निकालेको माछा फटाफट तराजुमा राखे। कुनकुन प्रजातिका झिकिएका रहेछन्, ध्यान दिएर हेरे। अनि तौल घटी त भएन भन्दै सहयोगीलाई सोधे। तराजुको काँटाले उचित तौलको संकेत दियो। प्लास्टिकमा पोको पारेर ग्राहकको हातमा माछा राखिदिए। अछामीले भने, '६ महिना भयो, कृषि फर्म सुरु गरेको। एक रुपैयाँ गोटा खरिद गरी पोखरीमा छाडेका भुरा अहिले दुई सय ५० रुपैयाँका भएछन्।'

एमाओवादीका २२ जना स्थानीय नेता तथा कार्यकर्ताले ४० लाख रुपैयाँ लगानी गरी पचाममा फर्म सुरु गरिएको अछामीले बताएका छन्। फर्ममा बंगुर, भैंसी, गाई र बँदेलपालन पनि गरिएको छ। फर्मका अध्यक्ष तथा कोसी हरैंचानगरका पार्टी इन्चार्ज नवराज चापागाईं भन्छन्, 'माछाको बिक्री सुरु भइसक्यो। अब बंगुर पनि बजार लग्ने तर्खरमा छौं।' यो फर्मबाट अहिले दैनिक एक सय केजीसम्म माछा उत्पादन भइरहेको उनले बताए।
एमाओवादीका मात्र नभएर मोरङमा अन्य दलका नेता पनि राजनीतिका लागि आर्थिक रूपमा आत्मनिर्भर हुने अभियानमा सक्रिय भएका छन्। कतिले व्यावसायिक कृषि फर्म खोलेका छन्, कतिपय पशुपालनमा सक्रिय भएका छन्।
मोरङमा एमाओवादीका सभासद् शिवकुमार मण्डल, अमनलाल मोदीसहित नेताहरू नवीन पोख्रेल, प्रकाश पौडेल, खेमराज भट्टराई कुखुरा, बाख्रा, गाईपालन र अन्य कृषि कर्ममा होमिएका छन्। मण्डलले मोरङको दर्वेशा २ मा १५ बिघा जग्गा भाडामा लिएर सातवटा पोखरीमा माछापालन गरिरहेका छन्।