Tuesday, November 18, 2008

दुःख न सुखमा शिकागोका भुटानी शरणार्थीहरु

हामी कारीब ३५ घर भुटानी शरणार्थीहरु यहाँ शिकागोमा छौं । प्राय सबै क्याम्पबाट नै छौं ।अहिले पनि धमाधम मान्छेहरु आउने क्रम जारी छ । यहाँ सबै कुराको सुबिधाहरु छन, सबैलाई रमाइलो छ भन्छन । मलाई पनि रमाइलो लगेको छ भन्छु किनकि जे नहुनु पर्थ्यो त्यो भयो अब न रमाइलो भन्दा अमेरिका नआउनेहरुलाई रमाइलो लाग्छ होला । यो एउटा ठुलो सिटी भएर होला धेरै मान्छे हरु छन् अनि ११० तला सम्म भएको भवनहरु पनि देख्न पाइयो । भुटानीहरुलाई अहिले रेसिडेन्सियल एरियामा राखेको छ जस्मा घरभाडा $ ४०० देखि $८०० सम्म छ यो एरिया मिचीगन पोखरीको नजिक छ । प्रायः सबैले काम समातिसकेका छन् अनि सबैसँग भेट पनि हुँदैन । म त धेरै दुःखी छु मेरो दशै तिहार कहिले आयो अनि गयो मलाई थाहा छैन अब सधैं यस्तो होला ।साथी भाइसँग भेट गरि रमाइलो गर्ने दिन गयो होला । हामीले जतिसुकै पढे पनि सर्टिफिकेटको कुनै मान्यता छैन मान्यता पौन अमेरिकामा पढ्नु पर्छ । काम कस्तो छ हामीलाई त हवाइजहाज सफा गर्ने होटेलमा रुम सफा गर्ने अनि हामी अलि ढिला मान्छे, मेशिनसँग काम गर्नु पर्ने, अलि ढिलो भयो भने भोलि काम हुँदैन अर्को काम खोज्नु पर्छ मैले अहिलेसम्म ३ ठाउँमा जागिर खाइसकें । दिगो होला जस्तो छैन ।
अमेरिका आउन चाहनेहरुका लागि मेरो सल्लाह यस्तो छ तपाईं के काम गर्न सक्नु हुन्छ ? भौतिक काम गर्नुपर्छ टेबल चेअरमा बसेर कलम चलाउने होईन । के तपाईं तोकेको समयमा काम सक्नु हुन्छ ? हुन्छ भने अनि पढ्न चाहनु हुन्छ भने तपाईंले कम्ती मा १५ घण्टा काम गर्नु पर्छ अनि काम मात्र गर्ने हो भने ८ घण्टा गरे पुग्छ यहाँ समयको मत्लब हुन्छ । अनि दुःख गर्न सक्दिन जस्तो लाग्छ भने गाह्रो हुन्छ ।
अमेरिका आएका धेरैसँग फोनमा कुरा गरें तर कसैले सन्तुष्ट छु भन्दैनन् । अमेरिकामा धेरै दुख गर्‍यो भने पछी सुख भने हुन्छ ।
दिना
शिकागो

Saturday, November 15, 2008

सतासीधामका पण्डितहरु दुइ वर्षदेखि भोकै

पण्डित रेवत गिरी रहरले नभएर बाध्यताले एक छाक मात्र भोजन गर्छन । कहिले त त्यही एक छाक भोजन समेत मिल्दैन् । पानीको भरमा दिन र रात विताउनु पर्छ । एक महिना अघि एकगेडो अन्न नहुदाँ उनले चार दिनसम्म भोकै बस्न परेको थियो ।
उनी जस्तै बिष्णु मातालाई पनि भोकै रात बिताउने बानी परेको छ । खानका लागि अन्न, फलफूल केही नभएपछि भोकै नबसी धरै छैन-उनले भनिन् हामीले धेरै बिहान र रात पानीको भरमा बिताएका छौं ।
गिरी झापा सतासीधाम स्थित धार्मिक क्षेत्रका पुजारी हुन् । उनी त्यहाँको मन्दिरमा मुख्य पुजारीको पदमा आसिन छन् । बिष्णु माता पनि सतासीधाम मै बस्छिन् । यो धाम हिन्दुहरुको प्रमुख तिर्थ स्थल मध्येको एक हो । तर त्यहाँ बस्ने ११ जना साधु, साधुनी र सन्तहरु भोकमरीको शिकार भएका छन् । विगत पच्चीस महिना यता उनीहरुले पेटभरसम्म खान पाएका छैनन् । पर्याप्त र पोषिलो भोजनको अभावमा उनीहरुको स्वास्थ्य दिनप्रतिदिन विँग्रदो छ ।
सतासीधाम क्षेत्रमा उनीहरुको मात्र नभएर त्यहाँका गाईहरुको समेत बिजोग छ । दिनभर जंगलमा चरेर आउने सत्तरी वटा गाईलाई रात परेपछि ओत लाग्ने सम्म ठाउँ छैन् । पुजारी गिरीले भने-दिउँसो समस्या नभएपनि गौशालाको अभावमा गाईले खुला आकासमुनि रात काट्छन् । अहिलेका पाँचवटा दुहुना र तीनका बाच्छा बाच्छी चिसोका कारण बिरामी परेको उनले बताए ।
सतासीधाम क्षेत्रलाई सरकारले धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न एमालेको नौ महिने शासन कालमै काम थालेको थियो । तर त्यो सरकार ढलेपछि काम अघि नबढ्दा त्यहाँको व्यवस्थापन लाथालिङ्ग बनेको हो । उतिबेला गठन भएको सतासीधाम मन्दिर विकास समितिका अध्यक्ष तथा पूर्व सांसद तारा समयङ्या बजेटको अभावमा काम गर्न नसकिएको बताउँछन् । उनले भने- म सांसद हुदाँ सरकार समक्ष गुरु योजना प्रस्तुत गरेको थिए । तर पछि काम गर्न सकिएन् ।
अहिले मन्दिर संचालनका लागि समितिले मासिक आठ सय रुपैयाँ दिने गरेपनि पण्डितहरुको खानपानका लागि सहयोग गर्न नसकेको अध्यक्ष योङ्याले बताए । पण्डित गिरीले त्यहाँ बालाचर्तुदशी र माघे संक्रान्तिमा मात्र भक्तजनको घुँइचो हुने तर अन्य समयमा नगण्य हुने भएकोले दुइ छाक खाने अन्न र भेटी समेत जुट्न गाह्रो हुने गरेको बताए ।
अध्यक्ष योङ्याका अनुसार सधासीधामलाई हिन्दु, किराँत र बुद्ध धर्मालम्बीको संयक्त धामको रुपमा विकास गर्ने लक्ष्य छ । त्यो स्थान महेन्द्र राजमार्गको झिलझिले खण्डबाट तीन किलोमिटर उत्तर चुरे श्रृंखलाको फेदीमा अवस्थित छ । त्यो स्थान भगवान विष्णुलाई शेषनागले शैयाँ दिएको स्थानको रुपमा समेत प्रचलित छ ।

Friday, November 7, 2008

मन्दीरमा सतार पण्डित....बाहुनहरुले पनि सम्मान गर्छन...

कुमार लुइँटेल
झापाको तोपगाछी ८ समयगढ स्थित देवी मन्दीरमा ब्राम्हण जातिका पण्डीत मधुसुधन घिमिरेले संस्कृत भाषामा मन्त्रोचारण गरि भगवति देवीलाई रिझाउँन् पर्छ । उनले देवी भागवतको पाठ गरिरहँदा मन्दीरमा पूजा गर्न आउने भक्तालुलाई संस्कृतमै मन्त्र पढेर टिका र प्रसाद दिने गरेका छन् । करिव ६ घण्टासम्मको पूजापछि घिमिरे पण्डीत मध्यान्न १२ बजे बाहिरीने तयारी गरिरहँदा अर्का पण्डीत मन्दीर छिर्ने तयारीमा हुन्छन् ।
हेर्दा पण्डीतहरु चिल्लो, गोरो र हष्टुष्ट देखिने भएपनी त्यसको विपरित मध्यान्नपछि समयगढको मन्दीरमा देवी पूजा गर्न छिर्ने दोस्रा पण्डीतलाई न संस्कृत आउँछ नत राम्रोसँग नेपाली बोल्न नै । कालो वर्णका उनी घिमिरे पण्डितले नित्य पूजाआजा सकाएपछि धोती, लवेदा र नेपाली टोपीमा ठाँटीएर मन्दीर प्रवेश गर्छन् । र आफ्नै भाषामा मन्त्रोचारण गरि देवीको पूजा पाठमा लाग्छन् । उनी ब्राम्हण र पहाडिया समूदायका नभएर लोपोन्मुख सन्थाल समूदायका पण्डीत हुन् ।
कथित उपल्लो जातिले पानी नचल्ने सन्थालका जातिका ढिना हास्दालाई मन्दीरको पण्डीत बनाए भनेर गाउँमा खासखुस मात्र होइन तनाव नै हुने अवस्था सृजना गरेका थिए । तर बुढापाकाहरुले नै स्थितीलाई समान्य बनाएपछि हास्दालाई सबै समूदायका मानिसले पण्डीतको रुपमा अहिले स्वीकार गरेका छन् ।
ढिना भन्छन्- मलाई देबी मन्दीरको पण्डीतको रुपमा स्वीकार गरेर हाम्रो समूदायको आत्मसम्मानको रक्षा गरिएको छ । ब्राम्हण पण्डीतकै हैसियत पाउँदा सम्मानित महशुस भएको छ । उनका अनुसार सन्थालहरुको विशेष पर्व बाहेक अन्य अवस्थामा पनि उनले मन्दीरमा पूजा गर्ने गरेका छन् । त्यस बापत मन्दीर व्यवस्थापन समितीले थोरबहुत भेटी पनि दिने गरेको छ ।
तोपगाछीमा ऐतिहसिक पृष्ठभूमि भएका सन्थालहरुको कला र संस्कृति नै लोप हुन लागेपछि त्यहाँका पहाडे समूदायको पहलमा मन्दीरका पूजारीका रुपमा स्थानिय ढिना हास्दालाई नियुक्त गरिएको मन्दीर व्यवस्थापन समितीका अध्यक्ष टिका अधिकारीले बताए । वि.स. १९७२ सालसम्म त्यहाँको देवी थानमा सन्थालका महाराजी नाम गरेका पण्डीतले पूजा गर्ने गरेका थिए । तर पछि चलन हराएर उनीहरुको संस्कृति नै लोप हुन लागेपछि हामीले मन्दीर स्थापना गरि दुबै समूदायका पण्डीतले पूजा गर्ने व्यवस्था गरेका हौ-उनले भने । त्यहाँ दशैंको कोजाग्रत पूर्णर्ीमाको दिन सन्थालको संस्कृतिक नृत्य समेत प्रदर्शन गरिने गरेको छ । यस वर्षझापा र मोरङका आठ वटा समूहले नृत्य प्रस्तुत गरेका थिए ।
दलित र आदिवासीलाई मन्दीर प्रवेश मात्र होइन छेउछाउ आउन पनि प्रतिबन्ध गर्ने चलन अहिलेपनि रहेको अवस्थामा त्यही समूदायबाट ब्राम्हण पण्डीतसँगै बसेर मन्दीरमा पूजा गर्ने व्यवस्था गर्नु संस्कृतिक परिर्वतन भएको स्थानिय केदार घिमिरेले बताए । उनी भन्छन्- नेपालका कतिपय भागमा अहिले पनि छुवाछु प्रथा कायमै छ । तर तोपगाछीमा भएको यो काम उदाहरणीय हो ।
ढिनालाई मन्दीरको पण्डीत बनाएपछि झापाका अधिकांश गाविसबाट त्यो समूदायका मानिसहरु पूजा गर्न आउने गरेका छन् । झापामा करिव २६ हजार सन्थालहरुको बसोवास रहेको छ ।