Friday, November 7, 2008

मन्दीरमा सतार पण्डित....बाहुनहरुले पनि सम्मान गर्छन...

कुमार लुइँटेल
झापाको तोपगाछी ८ समयगढ स्थित देवी मन्दीरमा ब्राम्हण जातिका पण्डीत मधुसुधन घिमिरेले संस्कृत भाषामा मन्त्रोचारण गरि भगवति देवीलाई रिझाउँन् पर्छ । उनले देवी भागवतको पाठ गरिरहँदा मन्दीरमा पूजा गर्न आउने भक्तालुलाई संस्कृतमै मन्त्र पढेर टिका र प्रसाद दिने गरेका छन् । करिव ६ घण्टासम्मको पूजापछि घिमिरे पण्डीत मध्यान्न १२ बजे बाहिरीने तयारी गरिरहँदा अर्का पण्डीत मन्दीर छिर्ने तयारीमा हुन्छन् ।
हेर्दा पण्डीतहरु चिल्लो, गोरो र हष्टुष्ट देखिने भएपनी त्यसको विपरित मध्यान्नपछि समयगढको मन्दीरमा देवी पूजा गर्न छिर्ने दोस्रा पण्डीतलाई न संस्कृत आउँछ नत राम्रोसँग नेपाली बोल्न नै । कालो वर्णका उनी घिमिरे पण्डितले नित्य पूजाआजा सकाएपछि धोती, लवेदा र नेपाली टोपीमा ठाँटीएर मन्दीर प्रवेश गर्छन् । र आफ्नै भाषामा मन्त्रोचारण गरि देवीको पूजा पाठमा लाग्छन् । उनी ब्राम्हण र पहाडिया समूदायका नभएर लोपोन्मुख सन्थाल समूदायका पण्डीत हुन् ।
कथित उपल्लो जातिले पानी नचल्ने सन्थालका जातिका ढिना हास्दालाई मन्दीरको पण्डीत बनाए भनेर गाउँमा खासखुस मात्र होइन तनाव नै हुने अवस्था सृजना गरेका थिए । तर बुढापाकाहरुले नै स्थितीलाई समान्य बनाएपछि हास्दालाई सबै समूदायका मानिसले पण्डीतको रुपमा अहिले स्वीकार गरेका छन् ।
ढिना भन्छन्- मलाई देबी मन्दीरको पण्डीतको रुपमा स्वीकार गरेर हाम्रो समूदायको आत्मसम्मानको रक्षा गरिएको छ । ब्राम्हण पण्डीतकै हैसियत पाउँदा सम्मानित महशुस भएको छ । उनका अनुसार सन्थालहरुको विशेष पर्व बाहेक अन्य अवस्थामा पनि उनले मन्दीरमा पूजा गर्ने गरेका छन् । त्यस बापत मन्दीर व्यवस्थापन समितीले थोरबहुत भेटी पनि दिने गरेको छ ।
तोपगाछीमा ऐतिहसिक पृष्ठभूमि भएका सन्थालहरुको कला र संस्कृति नै लोप हुन लागेपछि त्यहाँका पहाडे समूदायको पहलमा मन्दीरका पूजारीका रुपमा स्थानिय ढिना हास्दालाई नियुक्त गरिएको मन्दीर व्यवस्थापन समितीका अध्यक्ष टिका अधिकारीले बताए । वि.स. १९७२ सालसम्म त्यहाँको देवी थानमा सन्थालका महाराजी नाम गरेका पण्डीतले पूजा गर्ने गरेका थिए । तर पछि चलन हराएर उनीहरुको संस्कृति नै लोप हुन लागेपछि हामीले मन्दीर स्थापना गरि दुबै समूदायका पण्डीतले पूजा गर्ने व्यवस्था गरेका हौ-उनले भने । त्यहाँ दशैंको कोजाग्रत पूर्णर्ीमाको दिन सन्थालको संस्कृतिक नृत्य समेत प्रदर्शन गरिने गरेको छ । यस वर्षझापा र मोरङका आठ वटा समूहले नृत्य प्रस्तुत गरेका थिए ।
दलित र आदिवासीलाई मन्दीर प्रवेश मात्र होइन छेउछाउ आउन पनि प्रतिबन्ध गर्ने चलन अहिलेपनि रहेको अवस्थामा त्यही समूदायबाट ब्राम्हण पण्डीतसँगै बसेर मन्दीरमा पूजा गर्ने व्यवस्था गर्नु संस्कृतिक परिर्वतन भएको स्थानिय केदार घिमिरेले बताए । उनी भन्छन्- नेपालका कतिपय भागमा अहिले पनि छुवाछु प्रथा कायमै छ । तर तोपगाछीमा भएको यो काम उदाहरणीय हो ।
ढिनालाई मन्दीरको पण्डीत बनाएपछि झापाका अधिकांश गाविसबाट त्यो समूदायका मानिसहरु पूजा गर्न आउने गरेका छन् । झापामा करिव २६ हजार सन्थालहरुको बसोवास रहेको छ ।



2 comments:

कुरा ........ तिता, मिठा, पिरा said...

कुमार जी धेरै राम्रो तर पोस्टिङ्ग अलि ढिलो दिलो भयो । मलाइ यो लेख मन परेर मैले चोरें है। www.titopiromitho.com हाल्देको :D

Bhim Prasad Ghimire said...

good news