Saturday, November 15, 2008

सतासीधामका पण्डितहरु दुइ वर्षदेखि भोकै

पण्डित रेवत गिरी रहरले नभएर बाध्यताले एक छाक मात्र भोजन गर्छन । कहिले त त्यही एक छाक भोजन समेत मिल्दैन् । पानीको भरमा दिन र रात विताउनु पर्छ । एक महिना अघि एकगेडो अन्न नहुदाँ उनले चार दिनसम्म भोकै बस्न परेको थियो ।
उनी जस्तै बिष्णु मातालाई पनि भोकै रात बिताउने बानी परेको छ । खानका लागि अन्न, फलफूल केही नभएपछि भोकै नबसी धरै छैन-उनले भनिन् हामीले धेरै बिहान र रात पानीको भरमा बिताएका छौं ।
गिरी झापा सतासीधाम स्थित धार्मिक क्षेत्रका पुजारी हुन् । उनी त्यहाँको मन्दिरमा मुख्य पुजारीको पदमा आसिन छन् । बिष्णु माता पनि सतासीधाम मै बस्छिन् । यो धाम हिन्दुहरुको प्रमुख तिर्थ स्थल मध्येको एक हो । तर त्यहाँ बस्ने ११ जना साधु, साधुनी र सन्तहरु भोकमरीको शिकार भएका छन् । विगत पच्चीस महिना यता उनीहरुले पेटभरसम्म खान पाएका छैनन् । पर्याप्त र पोषिलो भोजनको अभावमा उनीहरुको स्वास्थ्य दिनप्रतिदिन विँग्रदो छ ।
सतासीधाम क्षेत्रमा उनीहरुको मात्र नभएर त्यहाँका गाईहरुको समेत बिजोग छ । दिनभर जंगलमा चरेर आउने सत्तरी वटा गाईलाई रात परेपछि ओत लाग्ने सम्म ठाउँ छैन् । पुजारी गिरीले भने-दिउँसो समस्या नभएपनि गौशालाको अभावमा गाईले खुला आकासमुनि रात काट्छन् । अहिलेका पाँचवटा दुहुना र तीनका बाच्छा बाच्छी चिसोका कारण बिरामी परेको उनले बताए ।
सतासीधाम क्षेत्रलाई सरकारले धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न एमालेको नौ महिने शासन कालमै काम थालेको थियो । तर त्यो सरकार ढलेपछि काम अघि नबढ्दा त्यहाँको व्यवस्थापन लाथालिङ्ग बनेको हो । उतिबेला गठन भएको सतासीधाम मन्दिर विकास समितिका अध्यक्ष तथा पूर्व सांसद तारा समयङ्या बजेटको अभावमा काम गर्न नसकिएको बताउँछन् । उनले भने- म सांसद हुदाँ सरकार समक्ष गुरु योजना प्रस्तुत गरेको थिए । तर पछि काम गर्न सकिएन् ।
अहिले मन्दिर संचालनका लागि समितिले मासिक आठ सय रुपैयाँ दिने गरेपनि पण्डितहरुको खानपानका लागि सहयोग गर्न नसकेको अध्यक्ष योङ्याले बताए । पण्डित गिरीले त्यहाँ बालाचर्तुदशी र माघे संक्रान्तिमा मात्र भक्तजनको घुँइचो हुने तर अन्य समयमा नगण्य हुने भएकोले दुइ छाक खाने अन्न र भेटी समेत जुट्न गाह्रो हुने गरेको बताए ।
अध्यक्ष योङ्याका अनुसार सधासीधामलाई हिन्दु, किराँत र बुद्ध धर्मालम्बीको संयक्त धामको रुपमा विकास गर्ने लक्ष्य छ । त्यो स्थान महेन्द्र राजमार्गको झिलझिले खण्डबाट तीन किलोमिटर उत्तर चुरे श्रृंखलाको फेदीमा अवस्थित छ । त्यो स्थान भगवान विष्णुलाई शेषनागले शैयाँ दिएको स्थानको रुपमा समेत प्रचलित छ ।

No comments: