Monday, April 14, 2014

अस्ट्रेलियाको पीआर त्यागेर कृषितिर



कुमार लुइँटेल
मोरङ : ठूलो संख्यामा युवा रोजगारीका लागि विदेश पलायन भइरहेका बेला विराटनगरका एक युवा भने अस्ट्रेलियाको स्थायी बसाइ अनुमति (पीआर) त्यागेर कृषि फार्म सञ्चालनमा रमाएका छन्। ६ वर्षसम्म अस्ट्रेलिया बसेका विराटनगर १५ निवासी सृजन प्याकुरेलले मोरङको टंकीसिनवारीमा कृषि फार्म सञ्चालन गरिरहेका छन्। सोह्र बिघा जग्गा भाडामा लिएर सुरु गरेको फार्ममा माछापोखरी, हाँस, कुखुरा, बाख्रा र गाई पालिएका छन्।
आफूले सञ्चालन गरेको कृषि फार्ममा रहेको माछापोखरी देखाउँदै सृजन प्याकुरेल
उनले यो कार्य गत साउनमा सुरु गरेका हुन्। उनको पोखरीबाट उत्पादन भएका माछाको बिक्रीसमेत सुरु भइसकेको छ। प्याकुरेलले भने, 'आफ्नै देशमा केही गरौं भनेर फर्किएको हुँ। फेरि कृषि क्षेत्र भन्नासाथ नपढेकाहरूले मात्र गर्ने भन्ने मानसिकता भएकोले पनि त्यसलाई चुनौती दिन कृषि रोजेको हुँ।'
प्याकुरेल सन् २००६ मा स्टुडेन्ट भिसामा अस्ट्रेलिया गएका थिए। उनले सन् २००८ मा त्यहाँको युनिभर्सिटी अफ साउथर्न क्विन्सल्यान्ड सिड्नी सेन्टरबाट प्रोफेसनल एकाउन्टिङमा स्नातकोत्तर पूरा गरे। विवाह पनि उतै गरे।

Thursday, April 10, 2014

बहुदल र विराटनगर

कुमार लुइँटेल

बहुदलसँग विराटनगरको आफ्नै साइनो छ। २००७ सालको क्रान्तिदेखि २०४६ को आन्दोलनमा पनि विराटनगरको आफ्नै भूमिका छ। प्रजातान्त्रिक आन्दोलनको इतिहास हेर्ने हो भने विराटनगर सधैं निरंकुशताविरुद्धको एउटा बलका रूपमा जागिरहेको पाइन्छ। राणाशासन फ्याँक्नेदेखि, पञ्चायत ढाल्ने र गणतन्त्रको शंखघोष गर्ने सहर विराटनगर नै हो।
यहाँको आन्दोलनले सधैं नै केन्द्रीय प्रभाव पारेको छ। यस्तै पेरिफेरीमा विराटनगरले २०४६ सालको आन्दोलनको पनि अगुवाइ गरेको थियो। त्यो आन्दोलनले पञ्चायत ढाल्न र बहुदलीय प्रजातन्त्र स्थापना गर्ने नेतृत्वदायी भूमिका खेलेको थियो।
२०४६ सालमा बहुदल प्राप्त गर्ने आन्दोलनको अग्रपंक्तिमा रहेका दलसम्बद्ध विद्यार्थीको संघर्षको अगुवाइ विराटनगरबाटै भएको थियो। विराटनगरमा बहुदल पक्षधर विद्यार्थी संगठनको केन्द्रीय संयुक्त भेलाले जनआन्दोलन थालनी गर्ने उद्घोष गर्‍यो। यो उद्घोषसँगै २०४६ को आन्दोलनले विराटगरमा गति लिन पुग्यो। यद्यपि, तत्कालीन पञ्चायती शासनव्यवस्था बहिष्कार गर्ने दर्बिलो तयारी राजनीतिक दलहरूले पनि गरेका थिए।

Sunday, April 6, 2014

सय वर्षको सहर

कुमार लुइँटेल 

शताब्दी सहर विराटनगर विकास र सम्भावनाको उत्तरआधुनिक पथमा लम्कने तर्खर गर्दै छ। 'समृद्ध, समुन्नत र व्यावसायिक सहर, सुसंस्कृत बालमैत्री हाम्रो नयाँ विराटनगर' नयाँ विराटनगरको पछिल्लो नारा हो यो।
महाभारतकालीन विराट राजाको कर्मभूमि, मुलुक हाँक्ने दिग्गज राजनीतिज्ञ जन्मेको ठाउँ, राणा बहिष्कार आन्दोलनको सुरुवात, पहिलो उद्योग स्थापना र औद्योगिक क्रान्तिको थालनी आदि यस्ता धेरै विषयमा विराटनगरको अगुवाइ रह्यो। २००३ सालको मजदुर आन्दोलन विराटनगरबाटै उठ्यो।
ऊ बेलाको त्यो आन्दोलनको अगुवाइ गर्ने बीपी, तारिणी, गिरिजाप्रसाद कोइराला थिए। पिताजी कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई 'फाटेको घेरो नभएको टोपी' पठाएर गरेको सांकेतिक विरोध देखेका कोइरालाहरू तिनै पिताजीले दिएको सुसंस्कारमा हुर्किएका थिए। पछि पिताजीका तीनभाइ छोरा मुलुकको प्रधानमन्त्री बने। संगतका मनमोहन अधिकारी पनि नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बने।
'हिङ नभए नि हिङ बाँधेको टालो' भने झैं अंशबन्डा हुँदा 'एेतिहासिक कोइराला निवास' अहिले शेखर कोइरालाको भागमा परेको छ।
गिरिजाप्रसाद कोइरालाका समकालीन तोरेन्द्रमानसिंह प्रधान विराटनगरको राजनीतिक वैभव अहिले पनि कम नभएको बताउँछन्। 'खासगरी कोइराला परिवारको योगदानले अहिले पनि विराटनगर पुलकित छ', उनले भने।
मनमोहन अधिकारीका उत्तराधिकारीका रूपमा एमालेका मोरङे नेताहरूले पनि मन्त्री पद पाएकै छन्। 'राजनीतिको यो निरन्तरता र नयाँ पुस्ताको पार्टीभित्र र सत्तामा भएको पकडलाई राजनीतिको पुस्ता हस्तान्तरण मान्न सकिन्छ', प्रधान भन्छन्, 'कोइराला परिवारबाट सुरु भएको विराटनगरको नयाँ राजनीतिमा नयाँ विरासत बन्दै छ।'