Thursday, April 10, 2014

बहुदल र विराटनगर

कुमार लुइँटेल

बहुदलसँग विराटनगरको आफ्नै साइनो छ। २००७ सालको क्रान्तिदेखि २०४६ को आन्दोलनमा पनि विराटनगरको आफ्नै भूमिका छ। प्रजातान्त्रिक आन्दोलनको इतिहास हेर्ने हो भने विराटनगर सधैं निरंकुशताविरुद्धको एउटा बलका रूपमा जागिरहेको पाइन्छ। राणाशासन फ्याँक्नेदेखि, पञ्चायत ढाल्ने र गणतन्त्रको शंखघोष गर्ने सहर विराटनगर नै हो।
यहाँको आन्दोलनले सधैं नै केन्द्रीय प्रभाव पारेको छ। यस्तै पेरिफेरीमा विराटनगरले २०४६ सालको आन्दोलनको पनि अगुवाइ गरेको थियो। त्यो आन्दोलनले पञ्चायत ढाल्न र बहुदलीय प्रजातन्त्र स्थापना गर्ने नेतृत्वदायी भूमिका खेलेको थियो।
२०४६ सालमा बहुदल प्राप्त गर्ने आन्दोलनको अग्रपंक्तिमा रहेका दलसम्बद्ध विद्यार्थीको संघर्षको अगुवाइ विराटनगरबाटै भएको थियो। विराटनगरमा बहुदल पक्षधर विद्यार्थी संगठनको केन्द्रीय संयुक्त भेलाले जनआन्दोलन थालनी गर्ने उद्घोष गर्‍यो। यो उद्घोषसँगै २०४६ को आन्दोलनले विराटगरमा गति लिन पुग्यो। यद्यपि, तत्कालीन पञ्चायती शासनव्यवस्था बहिष्कार गर्ने दर्बिलो तयारी राजनीतिक दलहरूले पनि गरेका थिए।
आन्दोलनको क्षेत्रीय प्रभाव राख्ने विराटनगरका नागरिक, उद्योगी, व्यवसायी, प्राध्यापक, कानुन व्यवसायी र समाजका अन्य पक्षले पनि बहुदल पक्षमा आफूलाई उभ्याएकाले त्यो आन्दोलन सशक्त बनेको थियो। केन्द्रीय राजनीतिक आन्दोलनमा सदैव प्रभावशाली रहेकाले उबेला आन्दोलनको अग्रपंक्तिमा रहेका नेतृत्वकर्ताहरू विराटनगरको त्यो आन्दोलनले केन्द्रीय छाप छाडेको प्रतिक्रिया दिन्छन्।
विद्यार्थीको केन्द्रीय भेला विराटनगरमा सम्पन्न भएपछि पञ्चायत बहिष्कार गर्ने निर्णय भएको बताउँदै महेन्द्रमोरङ क्याम्पसका तत्कालीन स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष महेश रेग्मी भन्छन्, 'विद्यार्थीले त्यो बेला गरेको निर्णयबाटै विराटनगरमा जनआन्दोलनको उभार प्रारम्भ भएको थियो। मदन भण्डारी यहीँ भूमिगत भए। उनले जनआन्दोलनलाई बल दिने काम गरे।' खासगरी विद्यार्थीको त्यो भेलामा प्रशासनले आँखा गाडेर प्रभावशाली नेतालाई पक्राउ गर्ने रणनीतिमा रहेको रेग्मी स्मरण गर्छन्।

फागुन ७ बाट दलहरूले आफ्ना झन्डा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए। मधुमाराबाट झन्डा प्रदर्शन गरिएपछि आन्दोलनको अग्र मोर्चामा रहेका मालेका कमल कोइराला र कांग्रेसका अशोक कोइराला पक्राउ परे।
नेपाल प्रगतिशील विद्यार्थी युनियनका उपाध्यक्ष उपेन्द्र यादव पनि समातिए। कम्युनिस्ट-कांग्रेसका कार्यकर्ता र प्रहरीबीच भिडन्त भयो। यो घटनापछि धेरै आन्दोलनकारी समातिए। महिलाको जुलुस पनि निस्कियो।
रमा रिजाल, नोना कोइराला, सुशीला कार्की आदि पनि जेल परेका थिए। मदन भण्डारीले भूमिगत भएर आन्दोलन गरेका थिए। सुबोध प्याकुरेल र सुमन प्याकुरेल बाहिर आए पनि उनीहरू भण्डारीको निर्देशनअनुसार चलेका थिए। लभ प्रधान पनि भित्रै थिए।
भण्डारी भूमिगत भए पनि चियापसलमा आन्दोलनकारीसँगै रहन्थे। 'पछि पो उहाँसँग परिचय हुँदा म पनि छक्क परेँ', यादवले भने, 'हामीसँग छेउमै बसेर चिया पिउने मानिस त मदन भण्डारी पो रहेछन्।'
शीर्ष दलका नेतृत्वकर्ता नै पक्राउ परेपछि विराटनगरको आन्दोलन धरमराउने हो कि भन्ने चिन्ता बढेको बताउँदै त्यति बेला विराटनगरबाट पत्रकारिता गर्ने पत्रकार रामरिझन यादवले भने, 'तर, आन्दोलनको तयारी सबल भएकाले त्यसले थप गति लियो। अझ सशक्त बन्यो।'
यादव पनि विराटनगरको आन्दोलन सक्रिय थिए। प्राध्यापन र पत्रकारितामा संलग्न उनको नेतृत्वमै 'पूर्व टाइम्स' नामक पत्रिका प्रकाशित भएको थियो। त्यसले बहुदलको पक्षमा काम गरेको थियो। यादवले भने,'पत्रिकाको समाचारको विषयमा प्रशासनले कडाइ गरेको थियो। हामीलाई पनि निगरानी हुन्थ्यो।'
त्यो बेला राजाबाहेक कांग्रेस र कम्युनिस्टको नामसमेत लिनसक्ने अवस्था थिएन। आन्दोलनकारीको समाचारलाई प्राथमिकता दिने विराटनगरका पत्रपत्रिकाले पनि ०४६ लाई सघाएको यादव बताउँछन्। पोखरामा लक्ष्मी कार्कीलाई दुव्र्यवहर भएपछि त्यसको ठूलो प्रभाव विराटनगरमा पनि परेको यादवले बताए।
गिरिजाप्रसाद कोइरालाका सहपाठी तोरेन्द्रमानसिंह प्रधान भन्छन्, 'विराटनगरको आन्दोलन सधैं केन्द्रमा रह्यो। ठूलाठूला राजनीतिक परिवर्तनका लागि विराटनगरले आन्दोलनको अगुवाइ गरेको छ।' ०४६ सालको दृष्टान्त सम्झँदा हिजोको त्यो आन्दोलनकै बलमा प्रजातन्त्र प्राप्त भएको प्रधानले बताए।
पत्रकार यादवका अनुसार त्यति बेलाका प्राध्यापक र पत्रकारहरूको टोली भारतको फारविसगन्ज पुगेर नेपाल मानवअधिकार संगठन गठन गरेपछि त्यसले विराटनगरमा प्रशासनबाट भएका दमनको निगरानी गर्ने काम सुरु गरेको थियो।
रामरिझन यादव, दुर्गा सुवेदी, विश्वनाथ साहसहित पाँचजना नेपाली प्रतिनिधि भारततर्फ गएका थिए। त्यसको रिपोर्टिङ प्रशासनलाई भएपछि केही सदस्य पक्राउ पनि परे। अन्यलाई पनि निगरानीमा राखियो।
विराटनगर छेउका गाउँहरूमा पनि आन्दोलनको उभार उठिसकेको थियो। खासगरी त्यो बेला ग्रामीण क्षेत्रबाट आन्दोलनकारी विराटनगर नपसून् भनेर प्रशासनले नाकाहरूमा कडाइ गरेको सम्झँदै प्रधान भन्छन्, 'तर, त्यस्ता छेकवारले आन्दोलन के दबिन्थ्यो र, झन् उठेर गयो। जति नेता पक्राउ पर्थे उति नै धेरै मशाल जुलुस निस्कन्थे, ब्ल्याक आउट हुन्थ्यो। सिट्ठी जुलुस निकालिन्थ्यो।' प्रधानका अनुसार विराटनगर त्यो बेला आन्दोलनमय भएको थियो।
पार्टीसँग सम्बद्ध कार्यकर्ताले गाउँगाउँमा चलाएको आन्दोलन दबाउने नाममा दमन भए पनि तिनले भूमिगत शैलीमा आन्दोलन चलाएका थिए। झोराहाटका पुराना कांग्रेस कार्यकर्ता खिलप्रसाद घिमिरे भन्छन्, 'हामीले रातिराति मशाल जुसुल निकाल्ने र पञ्चायतको जरो हल्लाउने काम गरेका थियौं। त्यही उपलब्धिले त हो नि आन्दोलन चम्किएको।'
कांग्रेसका अग्र मोर्चाका नेतृत्वकर्ता नै पक्राउ परेपछि कांग्रेसबाट आन्दोलनको अगुवाइ महिला नेत्रीहरूले गरेका थिए। त्यो सबल नेतृत्वले आन्दोलनमा महिला सहभागिता बढाउन मद्दत गरेको थियो।
व्यावसायिक पक्षबाट पनि आन्दोलनमा भएको सहभागिता उदाहरणीय बनेको आन्दोलनमा सक्रिय वकिल हेमराज पन्त बताउँछन्। उनले भने, '२०६२/०६३ को जस्तो खुलेर पेसाकर्मी लाग्ने अवस्था नभए पनि हामीले आन्दोलनको अग्रभागमा रहेरै सहयोग गरेका थियौं।' पेसाकर्मीको त्यो साहसकै कारण विराटनगरले आन्दोलनलाई थप सशक्त बनायो।
त्यो बेला विराटनगरका पत्रकारले पनि आन्दोलनलाई सकारात्मक रूपमा सहयोग गरेका थिए। पत्रकार मोहन भण्डारीका अनुसार ०४६ मा राज्यनियन्त्रित मिडियाकै बोलवाला रहे पनि निजी क्षेत्रका अखबारको प्रभाव पनि उच्च थियो।
तिनले आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने गरी समाचार प्रकाशन गर्ने काम गरेको बताउँदै भण्डारीले भने, 'पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा पत्रकार आन्दोलनको अघिल्लो भागमा छन्। उनीहरूको योगदानको अवमूल्यन हुन सक्दैन।' प्रतिबन्धको अवस्थामा रहेका पार्टी शक्तिकै रूपमा पत्रकार थिए।



मिति : २०७० चैत २७, बिहीबार,अन्नपूर्ण पोष्ट

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK