Thursday, June 4, 2009

छिमेकीलाई पशु उपहार

झापा शनिश्चरेकी हरिमाया चौहानका घरमा पशुचौपाय थिएनन् । उनलाई पशु पाल्ने रहर भने थियो । केही अघि छिमेकीले समूहबाट पाएको पशु चौपाया पाकाछन् रे भन्ने उनले सुनेकी थिईन् । तर गाउँमा यसपटक भएको एउटा कार्यक्रममा छिमेकीले बोलाएर उनका हातमा बख्राका पाठा हात लगाईदिए । उनले भनिन-समूहले गरेको कार्यक्रममा बोलाएर मलाई पाठा पो दिएर पठाए । सोही ठाउँकी तुलसा उप्रेती अहिले आफूँले गरेको मेहनत र जीवनमा आएको परिर्वतनको बारेमा अरुलाई सुनाउने गर्छिन । भन्छिन्- मलाई समूहले दिएको चौपाया हुर्काए र त्यसबाट जन्मेको सन्तान छिमेकीलाई दिएँ । शनिश्चरेकी यी महिलाले समूह मार्फत तीन वर्ष अघि पाएको चौपायाका सन्तान भने छिमेककी आफूँ जस्तै महिलालाई दिएकी हुन् । शनिश्चरेमा यसपटक दिदी समूहले बहिनी समूहलाई गाईका बाच्छा भैंसीका पाडा र बोका पाठा दिएका हुन् । तीन वर्ष अघि उनीहरुले माउ सहयोग स्वरुप हेफर इन्टरनेशनल नेपाल नामको एउटा अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाको सहयोगमा पाएकी थिइन् । संस्थाका प्रतिनिधिले उतिवेलै समूहका सदस्यलाई आफूँले पाएको वस्तुभाउबाट हुने आम्दानी बचाएर छिमेकका अन्य सदस्यलाई दिनुपर्ने कबोल गराएका थिए । यस्तो कार्यक्रम नेपालका विभिन्न ३८ वटा जिल्लामा संचालनमा रहेको संस्थाले जनाएको छ । महिला संसक्तिकरण र गरिवी निवारणका लागि ल्याइएको कार्यक्रम प्रभावकारी बन्दै गएको संस्थाले दाबी गरेको छ । महिलाहरुको लागि पशु उपहार कार्यक्रम ग्रामीण भेगमा सकारात्मक प्रभाव परेको बताउँदै शनिश्चरेको जलेश्वर स्वाबलम्वन समाजका अध्यक्ष प्रल्हाद सापकोटाले भने-यो कार्यक्रमले पशुपालन प्रति ग्रामीण महिलाहरुको आकर्षण बढ्नुका साथै उनीहरु निकै उत्साहित पनि देखिएका छन् । अन्य कार्यक्रम भन्दा पृथक ढंगले अढि ल्याइएकोले पनि कार्यक्रम प्रभावकारी बनेको उनको दाबी छ । हेफरको साझेदार झापा खुदुनावारी स्थित अभियान नेपाल नामक संस्थाका अध्यक्ष प्रेम गिरीले झापामा संचालित कार्यक्रमको सकारात्मक प्रभाव परेको बताउँदै भने-छरछिमेकमा सहयोग गर्नु पर्छ भन्ने भावनाको पनि विकास भएको छ । उनी भन्छन्- आयमुलक कामलाई बेवास्ता गर्ने महिलाहरु पनि पशुपालन गरेर धेरथोर आम्दानी गर्न थालेका छन् ।

No comments: