Saturday, August 16, 2014

चरा धपाउन एम्बुलेन्स !




विराटनगर : शनिबार दिउँसो डेढ बजे विराटनगर विमानस्थलको रनवेमा एउटा एम्बुलेन्स साइरन बजाउँदै तीव्र गतिमा दौडियो। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न विशिष्ट कक्षबाहिर बसेका कांग्रेस कार्यकर्ताले मुखामुख गरे।
ठूलै आपत् आइपरेको हो कि भनी उनीहरू अड्कल गर्दै थिए तर एकै छिनमा थाहा भयो, त्यो एम्बुलेन्स बिरामी बोक्न वा घाइते लिन नभएर विमानस्थलमा चरा धपाउन दौडिएको पो रहेछ। कांग्रेस सभासद् तथा पार्टीका मोरङ अध्यक्ष अमृत अर्यालले भने, 'साइरन बजाउँदै एम्बुलेन्स त चरा धपाउन पो दौडिएको रहेछ।'
विराटनगर विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणको एउटा एम्बुलेन्स चरा धपाउन सधैं त्यहाँ तैनाथ हुन्छ। हवाईजहाज उड्नु र अवतरण गर्नुअघि एम्बुलेन्सलाई तीव्र गतिमा दौडाएर रनवेतर्फ लगिन्छ। त्यसलगत्तै जहाज अवतरण र उडान गर्छन्। विमानस्थलमा बारम्बार चरा ठोक्किएर क्षति हुने र दुर्घटनाको सम्भावना बढेपछि उड्डयन प्राधिकरणले चरा धपाउनकै लागि एउटा एम्बुलेन्स ढुक्‍कैसँग परिचालन गरेको हो।

Monday, August 11, 2014

चार पदका लागि सत्र संगठनको माग



कुमार लुइँटेल

विराटनगर : चार पदमा शिक्षकका १७ वटा पेसागत संघसंगठनले भाग मागेपछि मोरङमा जिल्ला शिक्षा समिति नै गठन हुनसकेको छैन। पेसागत संगठनहरूबाट को प्रतिनिधि हुने भन्‍नेमा अन्योल भएकाले पनि समिति गठन हुन विलम्ब भइरहेको छ।

समिति गठन गर्न जिल्ला शिक्षा कार्यालय मोरङले असार महिनायता मात्रै आठवटा बैठक गरिसकेको छ। तर समितिमा रहने शिक्षकतर्फका चारजना सदस्यमा सबै संगठनले भाग मागेको जिल्ला शिक्षा अधिकारी राजकुमार थापाले बताए। उनले भने, 'असारमा म आएदेखि आठवटा बैठक गरिसकें तर सबैले पद मागेपछि समिति गठन नै भएको छैन।'

कार्यालयले मंसिर महिनायता समिति गठन गर्न प्रयास गरिरहेको छ। समितिका एकजना सदस्य नेपाल शिक्षक युनियनका अध्यक्ष पितकुमार श्रेष्‍ठले उमेर हदबन्दीका कारण अवकाश पाएका छन्। मोरङमा युनियन अधिवेशनसमेत भएको छैन। त्यो संगठनबाट नयाँ नेतृत्व चयन नहुँदा शिक्षा समितिमा जाने सदस्यबारे अन्योल छ। दुई महिलासहित बाँकी चारवटा पदमा शिक्षकका संघसंगठनले आआफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।

Saturday, August 2, 2014

भेडेटारमा पनि लामखुट्टेकाे सकस


कुमार लुइँटेल
विराटनगर : विराटनगरबाट भेडेटार घुम्न गएका सञ्चारकर्मी उद्धव घिमिरे त्यहाँ लामखुट्टे देख्दा छक्क परे। मधेसको उखर्माउलो गर्मी र लामखुट्टेको सकसबाट एक दिन भए पनि मुक्त हुने लालसा लिएर उनी पहाड उक्लिएका थिए। तर त्यहाँ पनि लामखुट्टे लागेपछि घिमिरेले भने, 'होटेलमा सुतेको थिएँ। तराईमा जस्तै भुनुनुनु गरेको आवाज सुनियो। कोठामा त लामखुट्टेको गोलो रहेछ। टोक्न थालेपछि होटेल सञ्चालकसँग गुनासो गर्दै औषधि छर्किदिन आग्रह गरें।'