Saturday, August 16, 2014

चरा धपाउन एम्बुलेन्स !




विराटनगर : शनिबार दिउँसो डेढ बजे विराटनगर विमानस्थलको रनवेमा एउटा एम्बुलेन्स साइरन बजाउँदै तीव्र गतिमा दौडियो। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न विशिष्ट कक्षबाहिर बसेका कांग्रेस कार्यकर्ताले मुखामुख गरे।
ठूलै आपत् आइपरेको हो कि भनी उनीहरू अड्कल गर्दै थिए तर एकै छिनमा थाहा भयो, त्यो एम्बुलेन्स बिरामी बोक्न वा घाइते लिन नभएर विमानस्थलमा चरा धपाउन दौडिएको पो रहेछ। कांग्रेस सभासद् तथा पार्टीका मोरङ अध्यक्ष अमृत अर्यालले भने, 'साइरन बजाउँदै एम्बुलेन्स त चरा धपाउन पो दौडिएको रहेछ।'
विराटनगर विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणको एउटा एम्बुलेन्स चरा धपाउन सधैं त्यहाँ तैनाथ हुन्छ। हवाईजहाज उड्नु र अवतरण गर्नुअघि एम्बुलेन्सलाई तीव्र गतिमा दौडाएर रनवेतर्फ लगिन्छ। त्यसलगत्तै जहाज अवतरण र उडान गर्छन्। विमानस्थलमा बारम्बार चरा ठोक्किएर क्षति हुने र दुर्घटनाको सम्भावना बढेपछि उड्डयन प्राधिकरणले चरा धपाउनकै लागि एउटा एम्बुलेन्स ढुक्‍कैसँग परिचालन गरेको हो।

उड्डयन कार्यालयका प्रमुख टेकराज पोख्रेलले भने, 'तत्कालै विमानस्थलमाथि उड्ने ठूला चरा धपाउन एम्बुलेन्स दौडाउने गरिएको छ। साइरनको आवाजले चरा परपर भाग्छन्।' केही समयपहिले मात्र नेपाल एअरलाइन्सको विमानको पंखामा चिल ठोक्किँदा विमान एक साताभन्दा लामो समय ग्राउन्डेड भएको थियो। त्यसयता प्राधिकरणले एम्बुलेन्सबाट चरा धपाउने उपाय निकालेको हो।
विराटनगर विमानस्थलको पश्चिमतर्फ रहेको चरा धपाउन प्रयोग गरिने 'बर्ड क्यानन' डिभाइस बिग्रिएको छ। उपकरण नबिग्रुन्जेल भने विमानस्थलको टावरबाटै त्यसलाई चलाएर विमानस्थलमाथि उड्ने चरा धपाउने गरिएको थियो।
उड्डयन प्रमुख पोख्रेलले भने, 'त्यसको मर्मत गर्न उपकरण ल्याउने काम भएको छ। पूर्वपट्टि पनि जडान गर्ने सबै तयारी पूरा भइसक्यो। तर विकल्प नभएकाले तत्कालका लागि एम्बुलेन्सले काम चलाउनुपरेको छ। नयाँ डिभाइस जडान र पुरानो मर्मत भएपछि विमानमा चरा ठोक्किने खतरा घट्छ।'
विमानस्थल टावरले वरिपरि चरा उडेको देखे चालकलाई 'कसन' भन्‍ने संकेत दिएर विमानलाई अवतरणको सट्टा 'गो अराउन्ड' भन्‍ने निर्देशन दिन्छ।
प्राधिकरणको एम्बुलेन्सका चालक श्रीप राजवंशी दुई महिनादेखि यसरी नै चरा भगाउन आफूले रनवेमा साइरन बजाउँदै दौडाउने गरेको बताउँछन्। उनले भने, 'विमान आउनुअगाडि साइरन बजाएर दौडाएपछि चरा अलि परसम्म भाग्छन्।' चिल, गिद्ध र अरू ठूला चराले विमान आउँदासमेत अटेर गर्ने भएकाले साइरन बजाउँदै भगाउने गरिएको उनले बताए।
विराटनगर विमानस्थलमा विमानसँग चरा ठोक्किएर चारपटक विमान ग्राउन्डेड भइसकेका छन्। नेपाल एअरलाइन्सको एमए ६० को पखेटामा चिल ठोक्किएर केही महिनाअघि विमानस्थलमै ग्राउन्डेड भएको थियो। विराटनगर विमानस्थलमा बुद्ध र यती एअरलाइन्सका विमानको इन्जिनमा चरा ठोक्‍किएर क्षति पुगेको थियो। ती एअरका विमान पनि केही दिन ग्राउन्डेड भएका थिए। अग्नि एअरलाइन्सको विमानमा पनि चरा ठोक्‍किएको थियो।
विमानस्थलवरिपरि ठूल्ठूला रूख छन्। रनवेवरिपरि मान्छेभन्दा अग्ला काँसका बोट छन्। रनवेनजिकैको झाडीबाट निस्कने स्याल पनि विमानसँग ठोक्किने जोखिम छ। विराटनगर विमानस्थलमाथि चिललगायत चरा उडिरहन्छन्।

मिति : २०७१ भदौ,१ आइतबार [अन्नपूर्ण पोस्ट]

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK