कुमार लुइँटेल
मोतीपुर (मोरङ): गोगरीदेवी भगत ६० वर्ष पुगेपछि पहिलोपटक शौचालय पसिन्। यसअघि कहिल्यै शौचालयमा दिसापिसाब नगरेकी उनलाई पहिलोपटक प्यानमा टुक्रुक्क बस्दा निक्कै असजिलो भयो।

गाउँका अन्यझैं उनी पनि खेतबारीका कान्ला, खोलाकिनार, बाँसझ्याङ र पटुवाबारीमा दिसापिसाब गर्थिन्। 'एक वर्ष भयो घरमा शौचालय बनाएको, अब त बाहिरफेर बस्न लाज लाग्न थाल्यो', उनले भनिन्, ‘जीवनभरि बाहिरै दिसापिसाब गरेको बानी सुधार गर्न सुरुमा निकै कठिन भयो।'
बुढेसकालमा बाहिर जानुपर्ने बाध्यता घरमै चर्पी बनेपछि टरेको छ भने साबुनपानीले हात धुने तरिका पनि सिकेकी छन्।
मोतीपुर ४ सिंघिया अडवढाकी फूलनदेवी धामी ५८ वर्षकी भइन्। घरमा शौचालय बने पनि उनलाई पस्न मन लागेन।