विराटनगर: शरीर ख्याउटो भएको छ। लामो यात्राका कारण तौल घटेर शरीरको आयतन पनि खुम्चिएको छ। तर उनी थकित मुद्रामा भएझैं लाग्दैनन्। हरदम साधु, साध्वी र अनुयायीबाट घेरिइरहने जैन धर्मगुरु आचार्य महा श्रमणको अनुहारको कान्तिमा कुनै फरकपन छैन।
सात महिना लामो पैदल यात्रापछि पनि हँसिला र उज्याला देखिन्छन् उनी। जैन आचार्यहरू गाडी चढ्दैनन्। यात्रामा निस्कँदा पैदलै हिँड्छन्।


भारतबाहिर पहिलोपटक आयोजना हुने अन्तर्राष्ट्रिय चतुर्मासमा चार लाख जैन धर्मावलम्बी विराटनगर आउने आयोजकले जनाएका छन्। यो अवधिभर गुरु प्रवचन सुन्नुका साथै अनुयायीहरू उपवासमा बस्ने गर्छन्। नयाँदिल्लीबाट सुरु भएको यो यात्रा नेपाल, भुटान, पश्चिमबंगाल, आसाम हुँदै भारतका विभिन्न १२ राज्यसम्म चल्नेछ।
यो अवधिमा आचार्यले १० हजार किलोमिटर पैदल यात्रा गर्ने तयारी छ। नेपालको चतुर्मास पूर्ण गरी जैन धर्मगुरु आचार्य सन् २०१५ मा आसामको गुहाटी, सन्् २०१६ मा बिहार र सन्् २०१७ मा उडिसामा हुने चतुर्मासका लागि उतैबाट पैदल यात्रामा निस्कने छन्।
आचार्य महा श्रमणका प्रवक्ता मुनीकुमार श्रमणले नेपालको यात्रा अत्यन्तै फलदायी भएको बताए। उनले भने, ‘नेपालमा आएको महाभूकम्प, पहिरो र बर्खापानीसँग साक्षात्कार गर्दै हामी निरन्तर यात्रा गरिरहेका छौं।'
गत नोभेम्बरमा सुरु भएको यात्रा नयाँदिल्ली, हरियाणा, उत्तरप्रदेश, राजस्थान, मध्यप्रदेश हुँदै वीरगञ्जबाट नेपालतर्फ आएको हो। धर्मगुरुको यात्रा उद्घाटन कार्यक्रममा नेपालका उपराष्ट्रपति परमानन्द झा पनि सहभागी थिए।
नेपाल आएपछि काठमाडौं पुगेका महा श्रमण त्यहाँबाट दामन-पालुङ हुँदै सिन्धुलीको बाटो भएर जनकपुर, वीरपुर, इनरुवा हुँदै दुहबी आइपुगेका हुन्।
मुनीकुमार भन्छन्, ‘नेपालीहरू निकै मिलनसार र सरल व्यवहारका रहेछन्। गुरु पनि निकै प्रभावित हुनुभएको छ।' यो यात्रामा जैन धर्मगुरुले अहिंसा र नशामुक्त समाज निर्माणको सन्देश दिइरहेका छन्।
कार्यक्रम आयोजक समितिका जनसम्बन्ध अधिकारी राकेश सुराना भन्छन्', ‘ठूलो संख्यामा जैन धर्मावलम्बी विराटनगर आउने भएकाले यहाँको धार्मिक पर्यटन र अर्थव्यवस्थामा पनि सकारात्मक प्रभाव पर्ने निश्चित छ।'
श्वेताम्बर तेरापन्थ सभा विराटनगरका अध्यक्ष दिनेश गोल्छाले महा श्रमण शान्तिको दूतका रूपमा नेपाल आएको बताए।
उनले भने, ‘यो अवसरले भारतका जैनहरूलाई नेपालबारे बुझ्न पनि अवसर मिल्नेछ।'
No comments:
Post a Comment