Wednesday, July 1, 2015

मेसिनले जोत्यो खेत, मेसिनले नै रोप्यो धान

कुमार लुइँटेल
विराटनगर :  गोरुले जोतेर खेत जोत्ने र मानिसले खेत रोप्ने भन्दा पनि झापा, मोरङ र सुनसरीमा मेसिनले जोत्ने र मेसिनबाटै धान रोपाई गर्न थालिएको  छ । कृषिमा आधुनिकीकरण अभियान चलाउने क्रमसँगै असार पन्ध्र र धान दिवसलाई सन्दर्भ पारेर मेसिनले रोपाई थालिएको हो ।
सुनसरीको तनमुना, भलुवा र झुम्का, मोरङको विराटनगर तथा झापाको महारानीझोडामा मेसिनबाट धान रोपिएको हो । आधुनिक र कृषि यान्त्रीकरण अभियान अन्तर्गत विभिन्न कृषि सहकारी संस्थाको पहलमा सामूहिक खेतीको अवधारणाअनुसार मेसिनले धान रोप्न सुरु गरिएको हो । कतिपय किसानले व्यक्तिगत रुपमा पनि मेसिनले धान रोप्न थालेका छन् । धेरै किसानले मेसिन प्रयोग गरेर धान रोप्ने खेत जोतेर तयार गरेका छन् ।

सुनसरीमा पहिलो चरणमा ५५ बिघा जमिनमा धान रोप्ने तयारी गरिएको छ । बीस बिघा जमिनमा धान रोपाईं भइसकेको छ । त्यहाँ नेपाल कृषि कम्पनीले कृषक सहकारी संस्थामार्फत किसानसम्म पाँचवटा मेसिन पु¥याएको छ । कम्पनीका कार्यक्रम संयोजक विवेकानन्द झाले भने,‘हामीले मेसिन सहयोग गरेका छौं बाँकी सबै काम किसान आफैंले गर्नुभएको छ ।’ सुनसरीमा मेसिनमा राख्ने धानको बिउ नर्सरीमा स्टिल प्लेटका केक बनाएर उत्पादन गरिएको छ । पहिलो पटक मेसिनले धान रोप्न पाउँदा आफूहरुलाई सन्तुष्टि मिल्नुका साथै मेसिनले मानिसले भन्दा चाँडो धान रोप्ने गरेको गरेको तनमुनाका किसान नागेश्वर चौधरीले भने,‘पहिलो पटक मेसिनले धान रोपेको हेर्न मानिसहरुको भिंड नै लाग्यो । असार पन्ध्रको अवसरमा तामाझामसाथ मेसिनले धान रोपेका छौं ।’ सम्झना कृषि सहकारीका अध्यक्षसमेत रहेका चौधरी सामूहिक रुपमा मेसिनले खेत जोताई गर्न र धान रोप्न धेरै किसानले सुरुवात गरेको बताए । मजदुर लगाउनभन्दा कम खर्च हुने भएकोले पनि किसान मेसिन प्रति आर्कषित बनेका छन् । मेसिनले एक घन्टामा एक बिघा जमिन रोप्न सक्छ ।
मोरङको विराटनगर १५ मा पनि मेसिनले धान रोपाई गर्न सुरु गरिएको छ । स्थानीय किसान नागेश कोइरालाको खेतमा मेसिनले धान रोपिरहेको छ । मेसिनले धान रोपेको हेर्न मानिसहरुको घुइँचो नै लागेको थियो । झापामा भने एमाले सभासद दीपक कार्कीले मेसिनले धान रोप्ने अभियानको असार पन्ध्र धान दिवसकै अवसर पारेर उद्घाटन गरेका छन् । त्यहाँ साना किसान सहकारी संस्थाले मेसिनबाट धान रोप्ने व्यवस्थापन गरेको हो । यसबाट किसानलाई निक्कै सहज भएको छ । महारानीझोडामा मेसिनबाट धान रोपाई गर्न सुरु गरिएपछि त्यसले किसानलाई निक्कै राहत मिल्ने बताउँदै सभासद कार्कीले भने,‘अब परम्परागत होइन आधुनिक तरिकाले खेती गर्न जरुरी छ । कामदारसमेत पाइन छाडेको अवस्थामा मेसिन यहाँका किसानका लागि बरदान सावित भएको छ ।’
धान दिवसको अवसर पारेर मोरङमा विविध कार्यक्रम भएका छन् । बेलबारी र झोराहाटमा नौमति बाजा बजाएर धान दिवस मनाइएको छ । झोराहाटमा मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले धान रोपेर कार्यक्रम उद्घाटन गरे । उनले भने,‘अब कृषि प्रणाललाई आधुनिक बनाउनु पर्छ । परम्परागत शैली त्याग्न जरुरी छ ।’ जिल्ला कृषि विकास कार्यालय प्रमुख राजेन्द्र उप्रेतीलले मोरङमा पनि मेसिन लगाएर धान रोपाईं गर्ने क्रम सुरु भएको बताए । खेत जोत्न र धान रोप्न मेसिन नै खेतमा दौडन थालेका छन् ।




No comments: