Monday, March 10, 2014

विराट गोल्डकपमा भ्रष्टाचार

विराटनगर : २०६९ सालमा सम्पन्न विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले भ्रष्टाचार गरेको प्रारम्भिक तथ्य सार्वजनिक भएको छ।
समितिका पदाधिकारीलाई भ्रष्टाचारको आरोप लागेपछि उनीहरूले सामूहिक राजीनामा दिएका छन्। विराट गोल्डकप फुटबल ट्रस्ट तथा गोल्डकप आयोजक समितिका अध्यक्ष भीम कुँवर, उपाध्याक्ष सन्तोष बानियाँ, सचिव श्याम पौडेल र कोषाध्यक्ष वसन्त अर्यालसहितका पदाधिकारीले सामूहिक राजीनामा दिएका हुन्।
उनीहरूको राजीनामापछि सोमबार हुने विशेष साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै छ। नयाँ समितिले भ्रष्टाचारको विषयमा थप छानबिन गर्ने बताइएको छ।
विराट गोल्डकप फुटबल ट्रस्टका अनुसार प्रतियोगिताको खर्च बिलमा अध्यक्ष कुवँर तथा कोषाध्यक्ष अर्यालले हस्ताक्षर गरेका छन्। ती बिल सादा कागजको बनाएर हस्ताक्षर गरिएको छ।
प्रतियोगितामा ३१ लाख ४६ हजार १ सय ७० रुपैयाँ आम्दानी भएको र ३७ लाख २७ हजार ८ सय ७० रुपैयाँ खर्च गरेको देखाइएको अनुसन्धानबाट खुलेको छ। यसैगरी अन्य पदाधिकारीले पनि लाखौं रकम खर्चको बिल फस्र्योट गरेका छैनन्। टिकट बिक्री गरेको अर्धकट्टी समेत पेस गरिएको छैन।

अनियमितताबारे छानबिन गर्न शिवभक्त जोशीको संयोजकत्वमा गठन भएको दोस्रो समितिले आफ्नो अध्ययन प्रतिवेदन ट्रस्टलाई बुझाएको छ। यसअघि गोविन्द उपाध्याय संयोजक रहेको समितिले पनि छानबिन गरेको थियो, तर, त्यो अध्ययन प्रतिवेदनलाई फुटबल आयोजक समितिका पदाधिकारीले नमान्ने अड्डी कसेपछि जोशी नेतृत्वमा समिति गठन भएको थियो।
अघिल्लो वर्ष भएको प्रतियोगितामा व्यापक अनियमितता भएपछि त्यसबारे छानबिन गर्न गठित समितिको अध्ययनबाट भ्रष्टाचार भएको ठहर भएको पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ।
समितिका कार्यालय प्रमुख लवभक्त श्रेष्ठले भने, 'अनियमितता भएको भन्ने छानबिन समितिको अध्ययनबाटै खुलेको छ। पहिलेको समिति भंग भई नयाँ कार्यसमिति चयन गर्ने काम सुरु गरिसकेका छौं।' आउँदो सोमबार विशेष साधारण सभा गरेर ट्रस्टको नयाँ पदाधिकारी चयन गर्ने र थप छानबिन अघि बढाइने उनले जानकारी दिए।
प्रतियोगिता आयोजक समितिले नक्कली बिल भौचर पेस गरेर लाखौं रुपैयाँ भ्रष्टाचार गरेको देखिएको प्रतिवेदन छानबिन समितिले पेस गरेको प्रतिवेदनमा उल्लेख भएको र सोबारे सूक्ष्म अनुसन्धान पनि सुरु गरिएको जानकारी दिँदै श्रेष्ठले भने, 'थप अनियमितता बाँकी अनुसन्धानबाटै खुल्दै जानेछन्।'
नैतिकताको आधारमा आफूहरूले राजीनामा दिएको बताउँदै प्रतियोगिता आयोजक समितिका उपाध्यक्ष सन्तोष बानियाँले भने, 'छानबिन गर्न सहज गर्ने बाटो खुला गर्न र प्रतियोगिता नरोकियोस् भनेर हामीले राजीनामा गरी सहयोग गरेका हौं।'
विराट गोल्डकप वि.सं २०१८ सालदेखि विराटनगरमा आयोजना भइरहेको महेन्द्र गोल्ड प्रतियोगिताकै निरन्तरता हो। २०५९ सालमा संस्थागत रूपमा महेन्द्र गोल्डकप फुटबल ट्रस्ट गठन गरी प्रतियोगितालाई निरन्तरता दिइएको थियो।
गणतन्त्र आएपछि सो ट्रस्टको नामकरण विराट गोल्डकप फुटबल ट्रस्ट बनाइएको हो। त्यसयता ५० जना सदस्य रहेको ट्रस्टले नै प्रतियोगिता गराउँदै आएको छ। गतवर्ष भएको प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको थियो।


1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK