Friday, June 12, 2015

गरिबलाई सुई छैन अस्पतालमा सड्दै...!!

कुमार लुइँटेल
विराटनगर ः कोशी अञ्चल अस्पतालको ओपीडी शाखामा ठूलाठूला कार्टुन भण्डारण गरेर थन्काइए झैं देखिन्छन् । अस्पतालको दोस्रो तल्लामा पुग्ने जोकोहीको ध्यान एकपटक ती कार्टुनले खिच्छन् । धेरैलाई जिज्ञासा पनि हुन्छ आखिर ती कार्टुनभित्र के रहेछन् भन्ने । परबाट हेर्दा हार मिलाएर राखे झैं देखिएपनि कार्टुनका मुख खुलेका छन् । अव्यवस्थित छन् । भित्रका सामान छरपस्ट हुन थालेका छन् । तर, यसको संरक्षण र प्रयोगमा अस्पतालले चासो दिएको पाइँदैन् ।

विराटनगर उपमहानगरपालिकाको स्वामित्वमा रहेको वीरेन्द्र सभागृहमा पनि लगभग यस्तै दृश्य देखिन्छ । सभागृहको भुइँतल्लामा असरल्ल कार्टुन छरिएका छन् । काटुर्नका मुख खूल्न थालेका छन् । त्यसभित्रका वस्तु बाहिर छरिएको देखिन्छ । दैनिकजसो कार्यक्रम हुने यो सभागृहमा पुग्ने धेरैले ती कार्टुनबारे जिज्ञासा राख्ने गरेका छन् । तर, यसको संरक्षणमा उपमहानगर र सभागृहका कर्मचारीले ध्यान दिएका छैनन् । ती कार्टुनभित्रका वस्तु प्रयोग हुने नहुनेबारे अन्योल छ ।

कोसी अञ्चल अस्पतालको ओपीडी शाखामा लाखौं मूल्यका सिरिन्ज (सुई) बेवारिसे छाडिएको हो । न अस्पतालले यसको व्यवस्थापन गर्न सकेको छ नत बिरामीले नै निःशुल्क पाउनु पर्ने ती सुई पाएका छन् । बरु बिरामीले बाहिरका औषधि पशलबाट सुई खरिद गरेर चलाउनु पर्ने बाध्यता छ । बीडी सोलोमेड  कम्पनीका ती सुई सन् २०१६ अगस्त महिनासम्म प्रयोग गर्न सकिने उल्लेख गरिएको छ । दुई सय कार्टुन सुई माथिल्लो र भुइँतल्लामा राखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेसु रोशन पोख्रेल भन्छन्,‘माग नै नगरी केन्द्रीय मेडिकल स्टोर पथलैयाबाट पठाइएका सुईको प्रयोग नै हुन सकेको छैन् । हामीलाई भण्डारण गर्न ठाउँ नै नभएपछि ओपीडीको माथिल्लो तल्ला र अन्यत्र थन्काउनु परेको हो ।’ नौ महिनाअघि पठाइएका सुई प्रयोग गर्न नसकिएको र ठूलो संख्यामा भएकोेले थन्क्याउन पनि कठिन भएको पोख्रेलले बताए । ती सुई कहाँ, कसरी र कुन प्रक्रियाबाट आयो अनुदान होकी के हो भन्ने आफूलाई पनि जानकारी नभएको पोख्रेलले जानकारी दिएका छन् । प्रयोग नगरिएकोले चिकित्सकले बिरामीलाई बाहिरैबाट सुई किन्न लगाउने गरेका छन् ।
अस्पतालमा उपचार गर्न आएकी विराटनगर–६ की रत्नमाया आचार्यले असरल्ला छरिएको अवस्थामा सुई भएपनि आफूले रगत परीक्षण गर्न दिनुपर्ने नमूनाका लागि बाहिरबाटै सुई किनेर ल्याएको बताइन् । उनले भनिन्,‘अस्पतालमै हज्जारौं थान सुई सडिरहेका छन् हामीले भने बाहिरबाट खरिद गरेर ल्याउनु परेको छ ।’ सरकारी अस्पतालमा सरकारले दिने सुविधाको औषधि र अन्यवस्तु सेवाग्राहीसम्म भने नपुग्ने गरेको उनले गुनासो गरिन् ।
वीरेन्द्र सभागृहमा हात्तीपाइलेविरुद्धको औषधि भुइँतल्लमा असरल्ला फालिएको छ । सयवटा भन्

दा धेरै कार्टुनबाट औषधि निस्किएका छ तर उपमहानगरको स्वाथ्य महाशाखाले भने व्यवस्थित गरेर राखिएको दाबी गरेको छ । गत फागुनमा हात्तीपाइलेको औषधि खुवाएर राखिएका काटुर्नमा पानीको बाछिटा परेर सड्न थालेको देखिन्छ । गोली भुइँमा छरिएको छ । महाशाखाका प्रमुख दशी चौधरीले भने,‘खुवाएर बाँकी रहेको औषधि व्यवस्थित नै गरेर राखेका हौं यसलाई जनस्वास्थ्य फिर्ता पठाइने छ ।’ ती औषधि अर्को वर्ष खुवाउन पुनः प्रयोग गरिने उनले बताए ।

No comments: