कुमार लुइँटेल
विराटनगर : भूकम्पपीडितका लागि भन्सार छुटमा ल्याइएको त्रिपालमा विराटनगरका व्यापारीले कालकोबजारी गरेका छन् ।
पीडितसम्म सस्तो र सरल मूल्यमा त्रिपाल पुर्याउन व्यापारीले आयात गर्दा सरकारले भन्सार छुट दिएको थियो । तर, विराटनगरका व्यापारीले नाफा कमाउने दाउमा बद्मासी गरेका छन् ।
व्यापारीले भन्सार छुटमा ल्याएको त्रिपाल ७८ प्रतिशतसम्म नाफा खाएर बेचेका छन् । २० प्रतिशतभन्दा धेरै मुनाफा राखी बिक्रीवितरण भए कालोबजारी हुन्छ ।
कालोबजारी गर्नेलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने कानुनी प्रावधान छ । सरकारलाई कर नतिरी ल्याइएको त्रिपालमा कालोबजारी भएपछि विराटनगरमा खैलाबैला भएको छ ।
भूकम्पपीडितको त्रिपालमा कालोबजारी
राहतस्वरुप पीडितसम्म पुग्नुपर्ने त्रिपालमा न्यून नाफा राखी बिक्री गर्न सरकारले सुझाएको थियो । तर, केही व्यापारीले उपभोक्तासँग १३ प्रतिशत भ्याट जोडेर बिक्री गरेका छन् । विराटनगरको अम्बिका बस्त्रालयले भन्सार छुटमा ल्याएको त्रिपाल ७८ प्रतिशतसम्म मुनाफा खाएर बिक्री गरेको छ । उसले सरकारी सुविधामा ८ हजार ४ सय ४ थान त्रिपाल ल्याएको थियो ।
तर, बिक्री भने प्रतिगोटा एक हजार १ सय ४१ रुपैयाँमा गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत रोहिणी आचार्यले भने, ‘न्यूनतम ७ सय ६७ रुपैयाँ गर्नुपर्नेमा अत्याधिक मुनाफा खाएको भेटियो ।’ प्रशासनले विराटनगरमा अनुगमन सुरु गरेसँगै कालोबाजरी भएको तथ्य बाहिर आएको हो ।
जिल्ला बजार अनुगमन समितिका संयोजक तथा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले विपद्का बेला बद्मासी गर्ने कसैलाई नछाडिने बताए । ‘संकटका बेला सरकारी सुविधा लिएर ल्याइने सामानमा कालोबजारी गर्नेलाई कडा कारबाही हुन्छ’, उनले भने ।
अम्बिकाले ५३ लाख ६ हजार २ सय ५६ रुपैयाँ बराबरको त्रिपाल आयात गरेको थियो । औसत बिक्री ६३ लाख ६९ हजार १ सय ६८ हुनुपर्दथ्यो । (हेर्नुस भिडियाे)
बस्त्रालयका सञ्चालक प्रदीप अग्रवाललाई पक्राउ गरी शुक्रबार म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभूप्रसाद ढकालले जानकारी दिए । ढकालले भने, ‘कालो बजारी ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरेका छौं ।’
यसैगरी प्रणाम इन्टरप्राइजेजका जीतेन्द्र सेठ्ठी पनि कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई पनि म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । प्रणामले ४५ हजार ६ सय १२ केजी त्रिपाल प्रतिकेजी २ सय ७२ रुपैयाँमा आयात गरी ३ सय ४२ प्रतिकेजीमा बिक्री गरेको पाइएको छ ।