Saturday, May 23, 2015

भूकम्प पीडितका नाममा कमाउ धन्दा



कुमार लुइँटेल
विराटनगर :  भूकम्पपीडितका लागि भन्सार छुटमा ल्याइएको त्रिपालमा विराटनगरका व्यापारीले कालकोबजारी गरेका छन् ।
पीडितसम्म सस्तो र सरल मूल्यमा त्रिपाल पुर्‍याउन व्यापारीले आयात गर्दा सरकारले भन्सार छुट दिएको थियो । तर, विराटनगरका व्यापारीले नाफा कमाउने दाउमा बद्मासी गरेका छन् ।
व्यापारीले भन्सार छुटमा ल्याएको त्रिपाल ७८ प्रतिशतसम्म नाफा खाएर बेचेका छन् । २० प्रतिशतभन्दा धेरै मुनाफा राखी बिक्रीवितरण भए कालोबजारी हुन्छ ।
कालोबजारी गर्नेलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने कानुनी प्रावधान छ । सरकारलाई कर नतिरी ल्याइएको त्रिपालमा कालोबजारी भएपछि विराटनगरमा खैलाबैला भएको छ ।

भूकम्पपीडितको त्रिपालमा कालोबजारी

राहतस्वरुप पीडितसम्म पुग्नुपर्ने त्रिपालमा न्यून नाफा राखी बिक्री गर्न सरकारले सुझाएको थियो । तर, केही व्यापारीले उपभोक्तासँग १३ प्रतिशत भ्याट जोडेर बिक्री गरेका छन् । विराटनगरको अम्बिका बस्त्रालयले भन्सार छुटमा ल्याएको त्रिपाल ७८ प्रतिशतसम्म मुनाफा खाएर बिक्री गरेको छ । उसले सरकारी सुविधामा ८ हजार ४ सय ४ थान त्रिपाल ल्याएको थियो ।

तर, बिक्री भने प्रतिगोटा एक हजार १ सय ४१ रुपैयाँमा गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत रोहिणी आचार्यले भने, ‘न्यूनतम ७ सय ६७ रुपैयाँ गर्नुपर्नेमा अत्याधिक मुनाफा खाएको भेटियो ।’ प्रशासनले विराटनगरमा अनुगमन सुरु गरेसँगै कालोबाजरी भएको तथ्य बाहिर आएको हो ।

जिल्ला बजार अनुगमन समितिका संयोजक तथा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले विपद्का बेला बद्मासी गर्ने कसैलाई नछाडिने बताए । ‘संकटका बेला सरकारी सुविधा लिएर ल्याइने सामानमा कालोबजारी गर्नेलाई कडा कारबाही हुन्छ’, उनले भने ।

अम्बिकाले ५३ लाख ६ हजार २ सय ५६ रुपैयाँ बराबरको त्रिपाल आयात गरेको थियो । औसत बिक्री ६३ लाख ६९ हजार १ सय ६८ हुनुपर्दथ्यो ।             (हेर्नुस भिडियाे)



बस्त्रालयका सञ्चालक प्रदीप अग्रवाललाई पक्राउ गरी शुक्रबार म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभूप्रसाद ढकालले जानकारी दिए । ढकालले भने, ‘कालो बजारी ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरेका छौं ।’

यसैगरी प्रणाम इन्टरप्राइजेजका जीतेन्द्र सेठ्ठी पनि कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई पनि म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । प्रणामले ४५ हजार ६ सय १२ केजी त्रिपाल प्रतिकेजी २ सय ७२ रुपैयाँमा आयात गरी ३ सय ४२ प्रतिकेजीमा बिक्री गरेको पाइएको छ ।




जिल्ला बजार अनुगमन समितिका संयोजक तथा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले विपद्का बेला बद्मासी गर्ने कसैलाई नछाडिने बताए । ‘संकटका बेला सरकारी सुविधा लिएर ल्याइने सामानमा कालोबजारी गर्नेलाई कडा कारबाही हुन्छ’, उनले भने ।
भन्सार कार्यालयका विराटनगरका अनुसार यहाँका दशवटा व्यापारिक प्रतिष्ठानले त्रिपाल आयात गरेका छन् । विभिन्न सातवटा संस्थाको नाममा पनि त्रिपाल आयात भएको छ ।

यो अवधिमा ७ करोड ६९ लाख १२ हजार मूल्य बराबरको त्रिपाल, कम्बल, खाद्यान्न र औषधीलगायत सामग्री नेपालतर्फ आयात भएको छ ।

सामाजिक संस्थाको नाममा त्रिपालमात्र ११ हजार ३ सय २० थान र ब्यापारिक फर्मको नाममा ३० हजार ६०९ केजी आयात भएको छ । कालोबजारी भएसँगै प्रशासनले स्टक बुझ्ने र बिक्री परिमाण हेर्न थालेको हो । व्यापारिक प्रतिष्ठानले गरेको कारोबारको विषयमा प्रशासनले अनुगमन थालेको छ । तर, संस्थाको नाममा आएका त्रिपालको अवस्थाबारे अनुगमन हुन सकेको छैन् ।

स्थानीय चन्दा चकुरी बस्त्रालयले भन्सार छुटमा ल्याएको त्रिपाल उपभोक्ताबाट भ्याट लिएर बिक्री गरेको छ । उसले तीन सय थान त्रिपाल आयात गरेको थियो । अनुगमन गरिएकामध्ये गोबिन्द हार्डवेयरले न्यून मुनाफा करिब ३ प्रतिशतमात्रै लिएको देखिएको छ । 

See more at: http://annapurnapost.com/News.aspx/story/12136#sthash.NfHB2wVd.dpuf

No comments: