Monday, May 11, 2015

बिहारका विधायक छुटे, जोगबनीका मेयरलाई दश वर्ष जेल



कुमार लुइँटेल
विराटनगर : विराटनगरका व्यापारी तुलसीराम अग्रवाल अपहरण काण्डका आरोपित भारतको बिहार राज्य विधान सभाका विधायक जाकिर हुसेन खानलाई मोरङ जिल्ला अदालतले सफाइ दिएको छ।

जीउ मास्ने बेच्ने मुद्दामा कसुरदार नरहेको र निर्दोष भएको ठहर गर्दै सफाई दिएको हो। खान बिहारको अररिया जिल्लाबाट बिहार विधान सभामा जनता दल युनाईटेडका निर्वाचित विधायक हुन् । मोरङ जिल्ला अदालतका मुख्य न्यायधीश शेखर पौडेलको इजलासले हुसेनलाई सफाई दिएको हो।

अर्का आरोपित भोलाशंकर तिवारीलाई भने दश वर्ष जेल सजायको फैसला भएको छ । तिवारी भारतको जोगबनी नगरपालिकाका पूर्व मेयर हुन् । उनी सिन्धुली कारागारमा पुर्पक्षका लागि अढाई वर्षदेखि थुनामा छन्। घटनामा संलग्न भारत सहर्षाका पप्पु देव भूमिहार सर्वोच्च अदालतले २०७१ पुस २८ गते गरेको फैसलाबाट दश वर्षका लागि जेल भुक्तान गरिरहेका छन्।


हुसेन विगत अढाई वर्षदेखि तारेखमा रही अदालतमा हाजीर भइरहेका थिए । अदालतले निर्दोष रहेको फैसला गरेपछि हुसेनले भने,‘म अदालतको न्यायको सम्मान गर्दछु । अपहरण कान्डमा मेरो कुनै संलग्नता नरहेको सम्मानित अदालतबाट फैसला भएको छ। यो अत्यन्तै स्वागतयोग्य छ।'

व्यापारी तुलसीराम अग्रवाल अपहरण काण्ड

 यो अवधिमा आफूले हप्तामा एक पटकसम्म बिहारको राजधानीबाट विराटनगर अदालतको तारेखमा आएको, सदनमा सपथग्रहणका बेला तारेख पर्दा त्यो अवसरसमेत छाडेको र श्रीमती बिरामी पर्दा पनि अदालतको मान राख्दै उपस्थित भएको बताए ।‘विधि र कानुन मिच्दै मैले कसैको अपहरण गर्ने कुरै थिएन,’ उनले भने,‘मेरो कुनै संलग्नता नरहेको भन्ने फैसलाबाट पुष्टि भएको छ । म सन्तुष्ट छु । अब राजनीतिक जीवनमा म माथि कुनै दाग छैन् ।'

हुसनेका तर्फबाट वकिलहरु सुरेशलाल श्रेष्ठ, देवीबहादुर घिमिरे, शान्तिराम भण्डारी, हेमराज पन्त र राजकुमार राजवंशीले बहस गरेका थिए । वकिल सुरेशलाल श्रेष्ठले हुसेन सबै तारेखमा हाजिर भएको बताए । हुसेन सन् २००० मा बिहारमै भएको एउटा घटनामा जेलमा रहँदा चुनावमा लड्दा विजयी भएका थिए । हुसेन र तिवारीलाई उद्योगी अग्रवालको अपहरण काण्डका प्रमुख नाइके भएको आरोपमा काकडभिट्टामा प्रहरीले २०६९ कात्तिक २४ गते स्थानीय एक होटलबाट पक्राउ गरेको थियो।

दुबै नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए । १३ माघ २०५८ मा विराटनगरको रोडशेष चोक नजिकैबाट उद्योगी अग्रवालको अपहरण भएको थियो । मर्निङ वाक गर्न गएका बेला अपहरणमा परेका उनी ४१ दिनपछि ३ करोड २० लाख भारु फिरौती बुझाएर अपहरणमुक्त भएको त्यसबेला चर्चा चलेको थियो ।

उद्योगी अग्रवाल अपहरणमा नौ भारतीय र नेपाली उमेश गिरी सहित १० जनाको संलग्नता रहेको आरोप थियो । गिरीले अदालतबाट सफाइ पाइसकेका छन् । ६ जना अझै फरार छन् । अपहरणका मुख्य नाइके पप्पुदेव विरुद्ध लागूऔषध ओसार पसार, नक्कली नागरिकता, नक्कली राहादानी, हत्या अपहरण, लुटपाट लगायतका एक दर्जनभन्दा बढी मुद्दा भारतमा पनि छन् । उनले २०५४ साल कात्तिकमा भारतकै अर्का कुख्यात अपराधी भगवान यादवसहित उनका सहयोगी अशोक मिश्र र महेश यादवको जोगवनी बजारमा हत्या गरेका थिए।

२०७२ बैशाख २७ आईतवार

See more at: http://annapurnapost.com/News.aspx/story/11585#sthash.FSYbqWqy.dpuf

No comments: