Wednesday, May 27, 2015

कालोबाजारी आरोपित व्यापारी रातारात रिहा

कुमार लुइँटेल
विराटनगर : भूकम्प पीडितको नाममा त्रिपालमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका विराटनगरका दुई व्यापारी रातारात छुटेका छन् । सोमबार अबेरसम्म जिल्ला प्रशासन कार्यालय मोरङमा भएको इजलासबाट उनीहरु धरौटीमा छुटेका हुन् ।
भन्सार छुटको त्रिपाल आयात गरी अत्याधिक मुनाफा खाई कालोबजारी गरेको आरोपमा गत बिहीबार अम्बिका बस्त्रालयका प्रदीप अग्रवाल र परनामी इन्टरप्राइजेजका जितेन्द्र सेठिया पक्राउ परेका थिए । अग्रवाल १५ लाख र सेठिया ११ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । प्रहरीले कालो बजारी तथा सामाजिक अपराध ऐन २०६३ बमोजिम उनीहरुलाई मुद्दा चलाएको थियो । दुबैले बैंक ग्यारेन्टीको कागजात पेश गरेर राति छुटेका हुन् । उनीहरुलाई बयान गराउन प्रहरीले साढे ४ बजे जिल्ला प्रशासन कार्यालय लगेको थियो । मोरङ प्रहरीका डिएसपी प्रभुप्रसाद ढकालले भने,‘उताबाट ल्याउनु भन्ने खबर आएपछि हामीले साढे ४ बजे दुबै व्यापारीलाई प्रशासनको इजलासतर्फ लगेका हौं ।’
कानुन व्यवसायीले यो मुद्दामा ५ घन्टा बहस गरेका थिए । तर, मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भने दुबै व्यापारीलाई प्रहरीले अबेर गरी हाजिर गराएकोले बहस अबेरसम्म चलेको बताए । उनले भने,‘बिगोअनुसार हामीले अत्याधिक धरौटी माग गरेका छौं । ‘रुल अफ ल’लाई हेर्ने हो भने धरौटीको यो रकम बढी नै हो ।’ प्रजिअ कार्कीका अनुसार यो मुद्दामा बिगोअनुसार जरिवाना, पाँच वर्ष कैद वा दुबै सजाय हुने प्रावधान छ ।

कार्यालय समय सकिएपछि मुद्दाको सुनुवाई नहुने भएपनि लगातार बहस भने हुनसक्ने कानुन व्यवसायीले बताएका छन् । अधिवक्ता सुरेशलाल श्रेष्ठले भने,‘राति इजलास चल्ने प्रावधान छैन् । तर, कतिपय मुद्दामा इजलास सुरु भए लगातार बहस भई त्यही दिन किनारा लाग्न सक्छ । तर यसका लागि दिउँसै बहस सुरु गर्नुपर्छ ।’ प्रजिअ कार्कीले पनि यो मुद्दामा लगातार बहस भएको दाबी गरेका छन् । कालोबजारी आरोपित देवीदत्त अग्रवाल र देवेन्द्र सेठिया भने फरार छन् । उनीहरुलाई प्रहरीले खोजी गरिरहेको छ ।
अम्बिकाल बस्त्रालयले भन्सार छुटमा ल्याएको त्रिपाल अठहत्तर प्रतिशतसम्म मुनाफा खाएर बिक्री गरेको बजार अनुगमनका क्रममा खुलेको थियो । बीस प्रतिशतभन्दा धेरै मुनाफा राखी बिक्रीवितरण भए त्यो कालोबजारी हुन्छ । यसरी बिक्रीवितरण गर्नेलाई कालोबजारी ऐन अन्तर्गत कार्वाही हुने कानुनी प्रावधान छ । सरकारलाई एक पैसा कर नतिरी ल्याइएको त्रिपालमा कालोबजारी भएपछि विराटनगरमा खैलाबैला भएको थियो । राहतस्वरुप पीडितसम्म पुग्नुपर्ने त्रिपालमा न्यून नाफा राखी बिक्री गर्न सरकारले समेत सुझाएको थियो ।

No comments: