Tuesday, May 19, 2015

छाक कटाएर शरणार्थीले गरे भूकम्प पीडितलाई सहयोग


कुमार लुइँटेल

हुनेले समेत सहयोग गर्न हिच्कीचाएको र मुठ्ठी कसेको बेला ‘केही नभएका र अर्काको देशमा शरण लिएर बसेका’ भनिने भुटानी शरणार्थीले छाक कटाएरै उदार मनले नेपालका भूकम्प पीडितलाई सहयोग गरेका छन् ।

छाप्रोको बास छ । आफै दाताले दिने खाद्यान्नको भरमा छन् । जीवन गरिबी र अभाव बितिरहेको छ । उनीहरुको निरासाको फेहरिस्त निकै लामो छ । तर, तमाम समस्यालाई चिर्दै शरणार्थीले छाक कटाएरै भएपनि भूकम्प पीडितको लागि सहयोग जुटाएका छन् । यो काममा शरणार्थीका अगुवा र युवाले सक्रियता देखाएका हुन् । झापा र मोरङका शिविरहरुबाट उठाइएको खाद्यान्न सिन्धुलीका भूकम्प पीडितसम्म पु¥याइएको छ । ‘आफूलाई आश्रय दिने देशमा परेको विपद्लाई आफ्नै सम्झदै सहयोग गरेका हौं’,झापा दमकस्थित बेलडाँगी शिविरका सचिव सञ्चहाङ सुब्बाले भने,‘हरेक छाप्राबाट एक छाकको चामल, तेल, नुुन, बेसार,
हरियो सब्जी आदि खाद्यान्न संकलन ग¥यौं । सक्नेले नगद पनि सहयोग गर्नुभयो ।’


शरणार्थीहरु २५ वर्षदेखि नेपालमा शरणागत छन् । नब्बे हजार जति तेस्रो देशमा पुर्नवासका लागि गइसकेका छन् । तर, यहाँ हुनेले अभावबीच सहयोग गरिरहेको शरणार्थी अगुवा टिकाराम रसाइलीले बताए । उनले भने,‘विदेशमा भएकाले पनि सहयोग गरिरहनु भएको छ ।’ 

झापाको दमकस्थित बेलडाँगी र मोरङको शनिश्चरे शिविरका शरणार्थीले एकछाक खाना बराबरको सहयोग गरेका हुन् । उनीहरुलाई विश्व खाद्य कार्यक्रमले दुई साताका लागि प्रतिव्यक्ति ५ केजी ६ सय ग्राम चामल दिन्छ । अन्य खाद्यान्न पनि उपलब्ध हुन्छ । रसाइली भन्छन्,‘सहयोग दिन कसैले सानो मन गर्नुभएन बरु हामीले सोचेभन्दा धेरै जुट्यो ।’ 

शिविरहरुमा पाँच दिन लगाएर संकलन गरेको खाद्यान्न एउटा बस र ट्रकमा लिएर शरणार्थीको २२ सदस्यीय टोली सिन्धुली पुगेको छ । जिल्ला प्रशासन कार्यालय झापाको स्वीकृति र सल्लाहबमोजिम यो टोली सिन्धुली पुगेको हो । शनिश्चरे शिविर सचिव चम्पासिंह राईले भने,‘हामी अभावै अभावमा छौं तर राष्ट्रिय विपद्को यो समयमा हामीले पनि केही गर्नुपर्छ भन्ने लागेर नै सहयोग गर्न तम्सिएका हौं ।’


शरणार्थीको टोलीले २५ केजी परिमाणमा २ सय बोरा चामल, ४ सय केजी दाल, २ सय केजी नुन , ३ सय लिटर खाने तेल र ५० थान त्रिपाल भूकम्प पीडितलाई सहयोग गरेका छन् । यी सबै सामग्री सिन्धुलीस्थित जिल्ला दैवी प्रकोप उद्धार समितिको सहकार्यमा भूकम्प पीडितसम्म पु¥याइएको छ ।

सन् १९९० को दशकमा भुटानी शासकले लखेटेपछि नेपाल आएका शरणार्थी पहिले सातवटा शिविरमा बस्दथे । संख्या घटेसँगै नेपाल सरकारले उनीहरुलाई दमक र पथरीका शिविरमा एकतृत गरेको हो । पुर्नवास शुरु भएपछि शिविरहरुमा भुटानी शरणार्थीको संख्या घट्दै गएको छ । अहिले झापा र मोरङमा २१ हजार शरणार्थीको बसोबास छ । सचिव सुब्बाका अनुसार बेलडाँगीमात्रै १७ हजार शरणार्थी बस्छन् । कतिपय शरणार्थी तेस्रो देश जाने प्रक्रियामा छन् । संख्या घटेपनि आफूहरुले नेपाल र नेपालीप्रतिको मायामा कमी नभएको उनीहरु बताउँछन् ।



No comments: