Friday, December 5, 2008

गाउँ नै साकाहारी, कोहि पनि मद्यपान ध्रुमपान गर्दैनन्

कुमार लुइँटेल
इन्दीरा आउजुङ साकाहारी हुन् । माछामासु मात्र होइन उनी पंक्षीको फुल समेत खान्नन् । अन्यत्र बस्ने उनको समूदायमा माछामासु नखाने धेरै कम भेटिन्छन् । रक्सी त हरेक विधि र कर्ममा अनिवार्य नै मानिन्छ ।
जयकुमार नेम्वाङले मासु छाडेको दश वर्ष पुग्न लाग्यो । पहिले पहिले मासुको स्वाद लिदैं जाँडरक्सी खाइ मात्तिएर हिंड्ने उनी अहिले साकाहारी छन् । त्यस्को स्वाद नै विर्सिसके । तलतल पनि लाग्दैन् -उनले भने ।
इन्दीरा र जयकुमार प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु बस्ने दक्षिणी इलामको बाँझो गाविसमा दुई हजार एक सय परिवारका दश हजार बासिन्दा साकाहारी छन् । नयाँ जन्मेका पुस्तालाई त मासुको स्वाद कस्तो हुन्छ कल्पनासम्म छैन् । सिंगो गाउँ नै साकाहारी बनेपछि अहिले बाँझो गाविस पूर्वमै उदाहारण बनेको छ । गाविसमा माछामासु मात्र नभएर खैनी, चुरोट,जाँडरक्सी, पानमसला र गुट्का खानेहरु पनि भेटिन्नन् ।
बाँझो ९ का हरिकुमार आम्बुहाङले पहिले पहिले हुक्काको सर्को तानेको सम्झदैं भने-उतिवेला मज्जाले हुक्का तानिन्थ्यो तर समाजले नै धुम्रपान गर्नु राम्रो होइन सबैले छाड्न पर्छ भनेपछि छाडिदिंएँ । सुरु सुरुमा त समस्या भयो तर अहिले छैन् । माछामासु पनि खान्न । गाउँका बासिन्दा साकाहारी बनेको र धुम्रपान मद्यपान गर्न छाडेकोमा सन्तुष्टी जनाउँदै उनले भने-हामी लिम्बुलाई मात्तिएर हिंड्ने मतवाली भन्थे हाम्रो अभियान बारे बुझ्न मानिसहरु आउन थालेका छन् । गाउँमा माछामासु , धुम्रपान र मद्यपान गर्ने एक्लो बृहस्पति जस्तो बन्ने उनले सुनाए ।
बाँझो गाविसको रतुवा खोला पूर्व, मावा खोला पश्चिम, वालिङ भन्ज्याङ उत्तर र मझुवा दोभान दक्षिणको टोलका बासिन्दा साकाहारी बनेको किराँत धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डेकेन्द्रसिंह थेगिमले बताए । उनका अनुसार लारुम्वा क्षेत्र किराँत धर्मालम्बीको पवित्र तिर्थ स्थल र गुरु आत्मनन्द लिङ्देनको कर्मथलोपनि भएकोले त्यहाँ सामाजले सहमतीमा बाहिरबाट जाने आगन्तुकलाईपनि नियम बनाइएको छ । उनले भने-हामीले ढिलो अभियान चलाएपनि हाम्रा छोराछोरीलाई भने नयाँ संस्कार दिन पाएकोमा खुसी लागेको छ ।
लारुम्वा क्षेत्रमा बाहिरबाट जानेले पनि माछामासु खान पाउँदेनन् । बेचविखन त पूर्ण प्रतिबन्धित छ । जाँडरक्सीको उत्पादन र बिक्री गर्नु बर्जित कार्य हो । चुरोट खैनी, हुक्का पनि प्रयोगपनि गर्न हुन्न् ।
किराँत चोलुङ आङसी माङ्गेना सेवा समितीका अध्यक्ष केहेरसिंह योङयाले सबैको सहमतीमा गाउँ साकाहारी र मद्यपान, धुम्रपान निशेधित क्षेत्र बनेको बताए । उनले भने-परिर्वतन आफैंबाट गरे जे पनि संभव रहेछ ।



No comments: