Monday, December 22, 2008

गरे के हुँदैन र !!!

दमक १ की ४३ वर्षिया निरमाया पुलामीले यस वर्षो सर्वोत्कृष्ट राष्ट्रिय घरेलु उद्यमी पुरस्कार पाईन् । उनको मेहनतको कदर गर्दै सरकारले उनलाई सम्मान गर्यो । तर यस अघि नै समाजमा अव्वल दर्जाकी महिलाको उपमा पाएकी उनले हात पारेका दर्जनौ पुरस्कार र सम्मानको फेहरिस्त भने लामो छ । निरमाया भन्छिन्- राम्रो र सफल कामको सम्मान हुने रहेछ । मैले मेहनत नगरेको भए म आजको यो अवस्थासम्म आउने थिइन् ।
विस २०५२ सालमा एउटा ढाका तान राखेर टोपी बुन्न शुरु गर्दा यत्तिनै छोटो अवधिमा सफलता हात मिल्ला भन्ने निरमायालाई पटक्कै थिएन् रे । उनले भनिन-श्रीमान, परिवार र छोराछोरीको सहयोगले गर्दा नै मैले सफलता पाएकी हुँ । दमक १ स्थित आफ्नो घरमा उत्पादन गरेको ढाकाका समान अहिले युरोपियन र अमेरिकी बजारसम्म पनि निर्यात हुन थालेपछि उनमा काम गर्ने जाँगर अझ बढेको छ ।
हाल ४५ वटा तान राखेर संचालित पुलामीको प्रवीण ढाका टोपी उद्योगले आफ्नो व्यापार नेपालका सबै प्रमुख सहरी क्षेत्रसम्म फैलाएको छ । दमक नजिकका बजारमा पाइने टोपी, साढी, मफलर, टाई, झोला जस्ता ढाकाका सामान पुलामी कै उद्योगमां उत्पादन हुन्छन् । यस बाहेक काठमाण्डौं, भैरहवा, पोखरा, बुटवल,नेपालगन्ज, विराटनगर, धरान, इटहरी, विर्तामोडपनि दमकमा उत्पादन हुने ढाकाको राम्रा बजार हुन् ।
दुई छोरी र एक छोराकी आमा निरमायाले श्रीमानबाट व्यवसाय संचालन गर्न राम्रो सहयोग भएको बताइन । बैंकका जागिरे श्रीमान, जागिरे कान्छी छोरीले मात्र अहिले उनलाई समय दिन भ्याएका छैनन् । जेठी छोरीको विवाह भइसकेकोले उनी आफ्नै घरजममा व्यस्त छिन् । छोरा प्रविणले भने आमालाई दिनरात सघाउँदै आएका छन् । प्लस टु सकेका उनी आमाले शुरु गरेको व्यवसायलाई नै निरन्तरता दिने र विस्तार गर्ने पक्षमा छन् । भन्छन्-आमाले शुरु गरेको कामबाटै जीविकोपार्जन गर्ने सोचाई छ । उनले नेपालका विभिन्न स्थानमा हुने व्यापार मेलामा आफ्नो उद्योगको प्रतिनिधित्व गर्दै आमा सँगै स्टल लिएर जाने गरेका छन् ।
निरमायाको उद्योगमा अहिले ४५ जना युवतीले रोजगारी पाएका छन् । करारमा काम गर्ने ती युवतीले मासिक तीन हजार रुपैयाँसम्म पारिश्रमीक पाउँछन् । कपडा उत्पादनको परिमाण हेरेर पारिश्रमीक दिने गरेको निरमाया बताउँ छिन् । उनी अहिले पनि आफैं उद्योगमा गई तानमा बसेर कपडा बुन्न व्यस्त हिच्कीच मान्दिनन् ।
ढाका उत्पादन गर्न चाहिने धागो भारत, काठमाण्डौ र धरानबाट ल्याउने गरिएको छ । एउटा तानबाट एक जना श्रमिकले दैनिक एक मिटर कपडा उत्पाद गर्न सक्छन् । यस्को उत्पादन लागत श्रम खर्च सहित ३ सय रुपैयाँ पर्छ । विक्री गर्दा कपडाको गुणस्तर हेरि एक पिसमा चार पाँच सयसम्म नाफा हुने गरेको छ ।
करिव २० हजारको पूँजीबाट शुरु गरेको व्यवासय अहिले ५० लाख रुपैयाँ भन्दा धेरै पुग्नु मेहनतकै प्रतिफल भएको बताउने पुलामीले ढाकाको बजार भने क्रमश खस्कदै गएको गुनासो गरिन । उनले भनिन-सरकारले साना व्यवसायीको हितका लागि पनि ध्यान दिनपर्ने भएको छ । नेपालमा उत्पादित ढाका दलाल नलगाई सोझै बाहिर पठाउने व्यवस्था हुनपर्दछ । त्यसो त दमक क्षेत्रमा ६ जना महिलाले घरमा तान राखेर ढाका टोपी बुन्ने गरेका भएपनि उनीहरुले व्यवसायका रुपमा पेशा अंगाल्न सकेका छैनन् ।

No comments: