Tuesday, December 23, 2008

शरणार्थी शिविरमै प्रजातन्त्रको अभ्यास, भुटानमा कसरी भयो थाहा छैन

सायद प्रजातन्त्रमा यसरी नै भोट हालिन्छ होला, यसरी नै आफूँले रुचाएका प्रतिनिधि पनि चुनिन्छन् होला - झापा दमक स्थित बेलडाँगी शिविरका भुटानी शरणार्थी वृद्ध नरबहादुर कार्कीले मत खसाल्दै भने - तर हामीले आफ्नै मुलुकमा स्वतन्त्रताको अनुभव गर्न पाएनौं मत हाल्नु त परको कुरा हो । मंगलवार शिविर व्यवस्थापन समितिको निर्वाचनमा मताधिकार प्रयोग गर्न स्थानिय ग्रीनभ्याली विद्यालय पुगेका उनले आफ्नो धोको भुटान फर्केर मताधिकार प्रयोग गर्नु हो भने ।
प्रजातन्त्र र स्वतन्त्रताको संग्राममा लाग्दा सर्वस्व गुमाएका उनी ज्यान बचाउनैका खातिर सत्र वर्षअघि भुटानी शरणार्थीको रुपमा नेपाल आएका हुन् । पुनर्वासको रन्कोले शिविर तातेपनि उनलाई यो प्रस्तावले छोएको सम्म छैन् । तर आफ्नो देशमा निर्वाचन भएको सुनेका उनले निर्वाचन कसरी कुन प्रकृयाबाट गरिन्छ भन्ने चाहिं नेपाल आएर शिविरमै जानेका हुन् ।
उनी जस्तै सोही शिविर बस्ने मुना अधिकारीले मताधिकार प्रयोग गरेको पाँचपटक भई सक्यो । सानैमा नेपाल अएकी उनी यतै पढिन् बढिन् । जान्ने बुझ्ने भएपछि हरेक बर्ष शिविरमा हुने व्यवस्थापन समितिको चुनावमा उनले भाग लिदैं आएकी छन् । उनी भन्छिन्- भुटानमा नपाएपनि प्रजातन्त्रको अभ्यास र स्वतन्त्रताको अनुभव गर्न पनि यहाँ हुने चुनावमा भाग लिने गरेकी छु । तर भुटानमा यसअघि भएको चुनाव कसरी भयो भन्ने आफूँलाई थाहा नभएको उनले बताइन् ।
झापाका चारवटा भुटानी शरणार्थी शिविरमा शिविर व्यवस्थापन समितिको चुनावमा भाग लिन मंगलवार हज्जारौं शरणार्थीको घुइँचो मतदान केन्द्रहरुमा देखियो । बेलडाँगी १, २ , ३ र गोलधाप शिविरमा चुनावको चहलपहले शिविरको वातावरण नै भिन्न बनेको थियो । कतिपय गृहिणीहरु सबेरै खाना बनाएर मत खसाल्नका लागि मतदान केन्द्रसम्म पुगेका थिए । सुरक्षा प्रबन्ध पनि उचित तवरले मिलाइएको थियो । दाता निकायका पर्यवेक्षक खटिएका थिए । संचारकर्मी पनि चुनावको अनुगमनमा शिविर पुगे ।
बेलडाँगी १ मा मतदान अधिकृतको रुपमा खटिएकी शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोगकी स्थानिय प्रतिनिधि रोशना अधिकारीले भनिन-सबै प्रकृया पूरा गरेका छौं । व्यवस्थापन पनि उचित तवरले भएको छ । मंगलवार ती चारै शिविरहरुबाट व्यवस्थापन समिति चयन गर्नका लागि बेलडाँगीबाट ३ सय ३६ र गोलधापबाट ६४ प्रतिनिधि छानिएका छन् । उनीहरु बीचबाटै शिविर सचिव र अन्य पदाधिकारीको चयन हुने छ ।
मत खसाल्न आएका श्रवण भट्टर्राईले शिविरमा हुने चुनावले महत्व राख्ने बताउँदै भने-हामीलाई आफूँहरु प्रजातन्त्रका हिमायती हौं भन्ने झक्झकाउन यो चुनावले भूमिका खेल्ने गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र दहालले बाँकी तीनवटा शिविरमा भने भोलि चुनाव हुने र त्यसको सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।
दाता निकायको काममा सघाउन शरणार्थी शिविरहरुमा एक एक वर्षमा शिविर व्यवस्थापन समितिको चुनाव हुने गरेको छ । यस्तो चुनावले शरणार्थी समूदायमा आत्मसम्मानको बोध हुने गरेको उनीहरु बताउँछन् ।






No comments: