Tuesday, December 30, 2008

आसको बास

आईते टुडुको गत वर्ष चैतभरि घरमा गासबास थिएन । झापा गौरीगन्ज ४ भवानीपुरका साथीसंगी बटुल्यो, ढोल बोक्यो हिड्यो सन्थाल नाच देखाउन । खानपान हुने गाउँ पनि घुमिने । यस्तै दिनचर्या थियो उनी र उनका छर छिमेकको पनि । त्यतिका समय नाच नाच्दा उनीहरुले बदलामा न पारिश्रमिक लिए नत ज्याला नै ।
एक टुक्रो जग्गा पाउने आशमा राजनीतिक दलका चुनावी कार्यक्रममा हिंडेका उनी र उनी जस्तै सीमान्तकृत सन्थालहरु आफ्नै जग्गामा बस्न पाइनेमा ढुक्क थिए । तर उनीहरुले जग्गा त पाएनन् नै दिलाई दिन्छु भन्ने नेताको पनि चालचुल हरायो । नेतै हराएपछि उनीहरुले जग्गा पाउने असामा बसेका उनीहरुलाई हिस्स बुढी हरिया दाँत झै भएको छ । यहि कारण सीमान्कृत यी सन्थालले नराम्रोसँग चित्त पनि दुखाएका छन् ।

संविधान सभाको निर्वाचनमा काँग्रेस, माओवादी र एमाले सबैका कार्यक्रममा उनीहरुले नाच देखाएका थिए । झापा क्षेत्र नं ६ र ७ का सबै चुनावी कार्यक्रममा हिंडेका उनीहरुलाई सबैले जोतभोग गरेकै ऐलानी जग्गा नामसारी गरिदिने आश्वासन दिएका थिए ।
नेताले जग्गा दिने भनेकोले नै हामी ठाउँ ठाउँमा नाच देखाउन गएका थियौं ,तर खै हाम्रो पिर कसैले बुझिदिएन् - टुडुले भने उतिवेला दैनिक घरमा आएर नाच्न हिंड भन्नेहरु पनि गाउ“मा देखिएका छैनन् ।
पश्चिम दक्षिण झापाको क्षेत्र नं ६ र ७ मा त्यसवेला दलहरुले चुनावी प्रचारका लागि विभिन्न सभाहरु गरेका थिए । ती सभामा टुडुको नेतृत्वमा सन्थालहरुको एउटा समूह परम्परागत सन्थाल नाच नाच्दै हिडेंको थियो । हुन त टुडु आफ्नो टोलको मन्जीहडाम (मुखिया) भएकोले पनि सबैलाई जग्गा दिलाई दिन आफ्नै नेतृत्वमा टोली लिएर हिड्न परेका बताउ“छन् । अहिले मलाई गाउँलेले सोध्ने प्रश्नको जवाफ दिदां दिंदा हैरानी भएको छ - उनले भने सबैले कहिले जग्गा हाम्रो नाम गरिदिन्छन् भनेर सोध्छन् म के भनेर जवाफ दिनु । यद्धपि टुडुपनि सुकुम्वासी हुन उनको नाममा एक चप्परी जग्गा पनि छैन ।
दलहरुले सीमान्तकृत सन्थाल समूदायका मानिसलाई गौरीगन्ज ४ मा रहेका ऐलानी जग्गा नामसारी गरिदिने आश्वासन दिएको समूहका अर्का सदस्य बुद्धिलाल म’र्मुले बताए । अहिले पनि त्यही ठाउँमा बसेका छौं, एउटाको कार्यक्रममा गएर नाचियो अर्कोले रिस नगरोस भनेर अर्काकोमा पनि नाचियो तर खै गर्न चै कसैले केही गरेनन् । बोलाए जति सबैकहा पुग्दा पनि जग्गा भने दिएनन् - मुर्मुले भने ।
गौरीगन्जबाट मात्र नभएर बैगुन्धुरा, लखनपुर, कोरोवारी र महाभारबाट पनि दलका सभामा नाच्न सन्थालहरु आउने गरेका थिए । कोरोवारी ४ आमगाछीका लखिराम मुर्मुले बोलाएजति सबैको कार्यक्रममा गएको बताए । हामी गरिव छौं, मालिकहरुले भनेको मान्नै पर्यो यसपटक जग्गा पाए बालवच्चाको भविष्य सुध्रने थियो भन्ने आशाले काम छाडेर नाच्ने हिडेका थियौं - लखिरामले गुनासो गरे ।

झापाका दक्षिणी भेगमा रहेका धेरै सन्थालसँग आफ्नो जग्गा छैन् । अधिकांश ऐलानी जग्गाम बस्दै आएका छन् । गरिवीको कारण पिछडिएका यो समूदायक कतिपय राम्रोसँग नेपाली बोल्न र बुझ्न समेत सक्दैनन् । झापामा रहेका २६ हजारमध्ये धेरै यसअघि भारततर्फ पलायन भएका थिए ।



No comments: