Sunday, December 7, 2008

खाँटी भुटानीपनि अमेरिका तिर

भीम भण्डारी दुई, तीन वा चार नम्वरका नभई खाँटी भुटानी हुन् । उनी र उनको परिवारलाई नेपाल र भुटानले यस्तो दर्जामा राखेको हो । एक नम्वरमा परेकाहरु भुटानले घर फर्काउन सहमति जनाएका शरणार्थीहरु हुन् । तर दिन वित्यो, हप्ता वित्यो, महिना वित्यो, अनि वर्ष पनि । उनलाई न नेपालले अब घर फर्क भन्यो नत भुटानले नै बोलायो । अन्तत आजित भएका भण्डारीले परिवारै लिएर अमेरिका पो जानुपर्यो ।
नेपाल र भुटानका अधिकारीहरु सम्मिलित संयुक्त टोलीको प्रमाणीकरणमा भण्डारीको परिवार एक नम्वर अर्थात खाँटी भुटानीको सूचिमा परेको हो । तर स्वदेश फर्कने संभावना शुन्यप्राय देखेपछि खुदुनावारी शिविरका उनी ७ जनाको परिवार लिएर अमेरिकाको भर्जिनियामा बसाँइ सरेका छन् । उनका माइला भाइ भक्ती ४ जना परिवार सदस्य सहित उनीसँगै छन् । दुई दाजुभाइ र परिवार एक महिना अघि मात्र अमेरिका गएका हुन् ।
साईला भाई मोहन भण्डारी पनि छोरा छोरी सहित अमेरिका उड्न अन्तिम प्रकृयामा छन् । उनले पुनर्वासको लागि गर्नुपर्ने सबै काम पूरा गरिसकेको बताए । खुदुनावारी वर्गीकरणका खाँटी भुटानीहरु वर्षौं बित्दा पनि स्वदेश फर्कने संभावना नै नदेखेपछि अमेरिका जान शुरु गरेका छन् । भण्डारीहरुको दुई परिवार नै शिविरबाट तेस्रो मुलुक जाने पहिलो परिवार हो । एक नम्वर सोही शिविरका भक्तराज गुरुङका छोराहरुले पनि अमेरिका जान आइओएम समक्ष निवेदन दिइसकेका छन् ।
झापा र मोरङका सातवटा शिविर मध्ये खुदुनावारीमा २६ मार्च २००१ मा प्रमाणीकरण थालिएको थियो । त्यो प्रमाणीकरण १४ डिसेम्वरमा सकिएको थियो । प्रमाणीकरणको नतिजा अनुसार भुटानी शरणार्थीलाई चार वर्गमा विभाजन गरिएको छ । जसमध्ये २ सय ९३ जना खाँटी भुटानी, ८ हजार ५ सय ९५ जना बसाँइ सरी गएका, २ हजार ९ सय ४८ जना गैर भुटानी र ३ सय ४७ जना आर्तककारी गतिविधिमा संलग्नको सूचिमा परेका थिए ।
भ्ाण्डारी परिवारमात्रै नभएर सन् २००१ मा नेपाल र भुटानका अधिकारीहरुको संयुक्त टोलीले प्रमाणीकरण गरेका खाँटी भुटानीहरु पनि नैराश्यताका कारण अमेरिका पुर्नवासमा जान शुरु गरेका छन् । खुदुनावारी शिविर सचिव प्रवीणा गुरुङले छोरा छोरीको भविष्य प्रति चिन्तित बावुआमाले पुनर्वासमा जान रुचाएको बताईन् । उनले भनिन-खाँटी भनेर शिविरमा कोचिएर बसी के गर्ने देश फर्कने कहिले हो कहिले टुंगो छैन् । उनका अनुसार त्यो शिविरबाट २ सय ३३ जना शरणार्थी तेस्रो मुलुक गई सकेका छन् ।
भक्तराज गुरुङले घर फर्कने सूचिमा परेकोले फर्कन पाइएला भनेर धेरै समयसम्म मौन बसेको बताए । सात वर्ष कुरे तर त्यो दिन आएन्-उनको दुखेसो छ । अमेरिका पुग्नले जीवन राम्रै गरि चलिरहेको भन्ने खवर गरेपछि छोराहरुलाई जान इजाजत दिएको बताउने उनले चार मध्ये माइलो र साइलो छोरालाई पुनर्वासमा जान निवेदन गर्न इजाजत दिएको बताए ।
पुनर्वासमा कार्यरत आप्रवास सम्बन्धि अन्तराष्ट्रिय संगठन (आइओएम) ले गत वर्ष मार्च महिनाबाट पुनर्वास शुरु गरेको हो । हालसम्म ७ हजार २ सय ९७ जना भुटानी शरणार्थी अमेरिका सहित सात मुलुकमा पुनर्स्थापित भईसकेका छन् ।

No comments: