Friday, December 12, 2008

द्धन्द पीडितको चित्कार : छोरा पर्ढाई देउ

झापा दमक ५ दुम्सेका गजेन्द्र राईलाई २०६२ साल अलच्छिना सावित भयो । चैत ३१ गते घरमा आगो लाग्यो । जायजेथा डढेर खरानी भयो । भएका सामान केही झिक्न पाएनन् । आङका लुगा मात्र बाँकी थियो । काखको छोरो च्यापेर घर डढेर बाँकी रहेको खरानी हेर्नु सिवाय उनीसँग अर्को विकल्प थिएन् ।
गजेन्द्रले घर डढेको पिर भुल्न पाएकै थिएनन् । चार दिन पछि माओवादी र सुरक्षाकर्मीको क्रस फायरमा परि श्रीमती रेनुका घाईते भईन् । अपरान्ह स्थानिय पीपीरे चौकमा दुई पक्षबीच गोली हानाहान भएको थियो । त्यो घटनामा रेनुकाको दायाँ कोखामा लागेको गोली बाँयाबाट निस्कियो । घाइते उनी १४ महिना ओछ्यान परिन् । शरीरको तल्लो भाग चल्न छाडेपछि त्यत्तिका महिना थलिएर उनको मृत्यु भयो । क्रसफायरमा एक जना सुरक्षाकर्मीको घटना भएकै ठाउँमा ज्यान गएको थियो । माओवादीले शसस्त्र प्रहरी बल पाथिभरा गणबाट खटिएको प्रहरीको टोलीलाई गोली हाने दोहोरो झडप भएको थियो ।
गोली लागेकी आफ्नी श्रीमतीको उपचारमा सबै सम्पत्ती गुमाएका गजेन्द्र अहिले घरको न घाटको भएका छन् । श्रीमतीको उपचारमा माओवादी र राज्यपक्ष कसैले उतिबेला त चासो दिएनन् नै तर अहिले पनि कसैले सान्त्वना सम्म नदिएको उनको गुनासो छ । गजेन्द्र भन्छन-द्धन्दको समयमा मैले सबै चिज गुमाए तर मलाई राज्य र माओवादी कुनै पक्षले सहयोग गरेनन् । श्रीमतीको उपचार गर्न भएको घडेरी बिक्री गरे । अहिले भएको एउटा छोरो लाई पढाउन र भरणपोषण गर्न पनि समस्या छ ।
उपचार गर्न लागे मध्ये एक लाख पचास हजार ऋण अहिले पनि तिर्न नसकेको उनले बताए ।उनी भन्छन्- माओवादी नै अहिले सरकारमा भएको अवस्थामा मेरो छोरासम्मलाई पढाईदिने व्यवस्था गरिदिए हुने थियो । माओवादीका नेताले भेट्न आएर आश्वासन दिएपनि थप केही नगरेको उनले गुनासो गरेका छन् । केही दिन पहिले पनि झापा ७ का माओवादी सभासदले भेटेर आर्थिक सहयोग गर्ने आश्वासन दिएको उनले बताएका छन् ।
राई आफूँ समस्यामा परेकोले छोराको पढाई खर्च र ऋण तिर्ने रकम राज्यबाट पाउने आशामा रहेको बताउँछन् ।

No comments: