Wednesday, August 27, 2008

गरिव सन्थालका करेसामा कहिले बन्ने पाईखाना................

झापा कोरोवारी १ तुलाचनका होप्ना मर्डी परिवार पक्की पाईखानामा दिशा पिसाव विर्सजन गर्छन् । उनको परिवारले दुइ वर्ष यता पाईखानामा दिशा पिसाव गर्न थालेका हुन् । तर उनी बाहेक सिंगो कोरोवारी गाविसमा पाइखानामा दिशा पिसाव गर्ने सन्थाल एकजना पनि छैनन् ।
तुलाचनको सन्थाल वस्तीमा रहेका ३५ घर सन्थाल मध्ये होप्ना र उनको परिवार मात्रै पाइखाना प्रयोग गर्छन । छिमेकी सुक्रु बेस्राले भने-पैसा नभएकोले कसैलेपनि पाईखाना राख्न सकेका छैनन् । साँझ विहान छाक टार्नै धौ धौ छ कसरी राख्ने । उनका तीन जना परिवारका सदस्य खुला चौर र खेतका कान्लामा साँझ विहान दिशा पिसाव गर्न जान्छन् । होप्नाले चाँही विदेशमा गई कमाई ल्याएको पैसाले पाईखाना बनाएका हुन् ।
भारत सिमावर्ती कारोवारीमा सबैभन्दा धेरै चार हजार सन्थालको बसोवास छ । तर कसैले पनि चर्पिमा दिशा पिसाव नगर्ने गरेको स्थानिय शिक्षक भोला खतिवडाले बताए । अरु ठाउँमा गरिवका नाममा सरकारी, गैह्रसरकारी र त्यस्तै संस्थाले सरसफाईका लागि कार्यक्रम चलाएका भएपनि कोरोवारीका सन्थाललाई लक्षित गरेर कसैलेपनि काम नगरेको उनले गुनासो गरे ।
कोरोवारी गाविसमा तुलाचन बाहेक सन्थालको बाहुल्यता रहेको लालमाटी र दासचौरीमा पनि पाईखानामा दिशापिसाव गर्ने चलन छैन् । त्यो टोलका बासिन्दापनि खेतकै कान्लामा दिशा गर्न दर्गुछन् । स्थानिय सरिता मुर्मुले भनिन-बनिवुतो गरेर जीवन चलाउनेले कसरी पाइखाना बनाउनु र र ? उनले धेरै सन्थालहरु ऐलानी जग्गामा बस्दै आएकोले पनि समस्या रहेको बताइन् । यो जातिमा अहिलेपनि आफ्ना परिवारका जेठा सदस्यले दिशा पिसाव गरेको एउटै स्थानमा सानाले गर्न हुन्न भन्ने मान्यता रहेको उनको कथन छ ।
सन्थाल समूदायमा खुला स्थानमा दिशा पिसाव गर्नाले उब्जन सक्ने रोगका विषयमा पनि चेतना छैन् । झापामा २६ हजार सन्थालको बसोवास रहेको सन्थालका लागि कार्यरत संस्थाको दाबी छ ।

No comments: