Friday, August 29, 2008

झापा जलमग्न

अवीरल वर्षापछि झापाको कन्काई, रतुवा, बनियानी र कमल खोलामा आएको बाढीले दक्षिण पश्चिमी झापाका दर्जनौ गाउँ जलमग्न भएका छन् ।
दक्षिणी झापाको शिवगंज, पाँचगाछी, कोरोवारी, महाभारा, महेशपुर, तोपगाछी, धरमपुर र दमक नगरपालिकका धेरै भागमा बाढीको पानी पसेको छ ।
कन्काई र कमलखोमा आएको बाढीका कारण बनेको भंगालोले महाभारा गाविसको वडा नं ५ को बाहिरी संर्म्पर्क विच्छेद भएको छ । पूर्व गाविस अध्यक्ष विजय अग्रवालका अनुसार महाभराको ४ नम्वर वडाको बालुवाडीमा बाढीको पानी पसेको छ । त्यो वडाबाट एक साता अघि बीस परिवार विस्थापित भएका थिए ।
शिवगंजको वडा नं ६ र ८ मा सातासीखोलाले कटान शुरु गरेको छ । त्याँ वडा नं ६ का तीस परिवार विस्थापनको खतरामा रहेको शिवगंज प्रहरीले जनाएको छ । धरमपुर र तोपगाछीमा कमल खोलको पानी पसेको स्थानियवासीले बताएका छन् ।
दमक नगरपालिकको वडा न १० मा रहेको दीपिनी खोलाको पानी सुकुम्वासी वस्तीमा पसेपछि दर्जनौ परिवार सुरक्षित स्थानमा सरेका छन् । खोलको पानीले वडानं १३ को सुकुम्वासी वस्तीपनि डुवाएको छ । रतुवा खोलाको पानी पस्दा वडा नं १९ को जहदा लगायत भाग जलमग्न बनेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले कतिपय बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको जानकारी दिएको छ ।

No comments: